जेष्ठ १५ बाट पनि सुरू नहुने भो रानीपोखरी पुनर्निर्माण रानीपोखरी पुनर्निर्माणको नालीबेलीः कहिले बन्छ ? कसरी बन्दैछ ?

                                                                                                       तस्वीरहरु : अमिष रेग्मी

रानीपोखरीको पुनर्निर्माण यतिवेला निकै चर्चामा छ। कसरी वनाउने, कस्तो सामग्रीको प्रयोग गर्नेमा बहस र छलफल भइरहेका छन्। पोखरीको पुनर्निर्माणका सम्बन्धमा उत्पन्न भएको विवाद सर्वाेच्च अदालतसम्म पुग्यो।

सामान्य नागरिकदेखि राष्ट्रपतिसम्म पोखरी पुनर्निर्माण कसरी होला भन्ने चासो र कौतुहलता छ। आगामी जेठ १५ बाट पुनर्निर्माण थाल्ने निर्णय भइसकेको छ तर प्रक्रियालाई नजिकबाट नियाल्ने हो भने जेठ १५ बाट पुनर्निर्माण शुरु हुन निकै कठिन देखिन्छ। अन्य धेरै जटिलताहरु छन्।

निर्माण शुरु भएपछि पनि कहिलेसम्म हुन्छ केही यकिन छैन्। रानीपोखरी पुनर्निर्माणको विगतदेखि आगामी चुनौतीलाई समेटेर हाकाहाकीकर्मी यमबहादुर बमले तयार पारेको रिपोर्टः

ऐतिहासिक सम्पदा रानीपोखरी पुनर्निर्माणको थालनी तोकिएको मितिभन्दा ढिलो शुरु हुने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहितको उपस्थितिमा २२ चैतमा बसेको बैठकले १५ जेठबाट पुनर्निर्माणको काम थाल्ने निर्णय गरेपनि हालसम्म कंक्रिटको पर्खाल भत्काउन लाग्ने लागत अनुमानको काम मात्र सम्पन्न भएको छ।

महानगरपालिका अहिले पुरात्तव विभागले उपलब्ध गराएको रानीपोखरीको डिजाइनका आधारमा पुनर्निर्माणको लागत अनुमानको गृहकार्य गरिरहेको छ। पुरातत्वले सिफारिस गरे अनुरुप आवश्यक पर्ने कालीमाटी, बालुवा, पुरानो शैलीको इँटा, चुन, सुर्कीको आवश्यकता र उपलब्धताका विषय पनि महानगरले टुंगो लगाउन सकेको छैन्।

काठमाडौं महानगरपालिका पूर्वाधार विभागका विभागीय प्रमुख इन्जिनियर रामबहादुर थापाका अनुसार रानीपोखरी पुनर्निर्माणको क्रममा बनाइएको कंक्रिटकोे पर्खाल भत्काउन मात्र १६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

पर्यटनमन्त्रीसहितको उपस्थितिमा भएको निर्णयको भोलिपल्ट महानगर कार्यपालिकाले निर्णय अनुमोदन गरे अनुसार वैशाखभित्र संरचना हटाएर जेठ १५ देखि पुनर्निर्माणको काम सुरु हुनुपर्ने हो। महानगरका अधिकारीहरू पनि वैशाखभित्र सरंचना हटाइसक्ने मिडियालाई बताउँदै आएका थिए तर, हालसम्म टेण्डरसम्म आह्वान भएको छैन।

‘निर्माण भएको संरचना त्यसै भत्काउन मिल्दैन, प्रक्रिया हुन्छ,’ विभागीय प्रमुख थापाले भने, ‘अबको एक हप्ताभित्र टेण्डर आह्वान गरेर कम्पनी छनोट गरिने छ।’ खरिद ऐनअनुसार अगाडि बढेमा टेण्डर आह्वान र स्वीकृतका लागि ४५ दिन लाग्ने भएकाले छोटो प्रक्रियामार्फत् ७ दिने टेण्डर आह्वान गरिने र १० दिनमै कम्पनी छनोट गरी भत्काउन सुरु गरिने उनले दाबी गरे।

महानगरले रानीपोखरीको मल्लकालीन शैलीमा पुननिर्माण र परिसर सौन्दर्यका लागि लागत अनुमान गरेर मात्र टेण्डर आह्वान गर्नेछ। जुन प्रक्रिया सुरु गर्न जेठ १५ कट्ने महानगरपालिका स्रोत बताउँछ।

महानगरपालिकाको कार्यपालिकाले वल्र्डवाइड कँडेल केजी केभीसँगको ६ करोड २९ लाखको ठेक्का वैशाख पहिलो साता रद्द गरेपछि २ करोड ३० लाख खेर गएको थियो । महानगरले यसअघि १० लाखको लागत अनुमान गरेर ६ करोड २९ लाखमा ठेक्का दिएकोमा अब परम्परागत सामग्रीको प्रयोगबाट पुनर्निर्माण हुने भएपछि लागत अझ बढने थापाले बताए ।

थापाका अनुसार यसअघि सिमेन्ट प्रयोग भएको सिमेन्ट, बालुवाको सट्टा चुना र सुर्की, गिट्टी, ढुंगाको ठाउँमा परम्परागत इँटाको प्रयोग हुनेछ ।

रानीपोखरीमा पानी कसरी संचित गर्ने ?

१० वैशाख २०७३ बाट पुनर्निर्माण सुरु भएको रानीपोखरीको विवादको मुख्य मुद्दा– कंक्रिटको पर्खाल आधुनिक निर्माण सामग्रीको प्रयोग र सौन्दर्यका नाममा परम्परा मास्ने काम हो ।

१३ पुस २०७४ मा गठन भइ २६ पुसमा प्रतिवेदन बुझाएको विज्ञ सम्मिलित अध्ययन समितिले भनेको छ, ‘पोखरीको पानी जम्ने सतहभन्दा मुनी विभिन्न तहमा २– ४ इन्चसम्म मोटाइको कालीमाटीको सतह र पोखरीको गाह्रोको बाह्यतर्फ २ फिट मोटाइसम्मको कालीमाटी सतह निर्माण गरिएको उत्खननबाट प्राप्त भएको छ । सोही अनुसार पानी संचित गर्न परम्परागत शैली अपनाउनू ।’

कालीमाटी आफैंमा चिसो रहने र उछाल क्षमता पानी जम्न, पोखरी चर्कनबाट रोक्न, पानी चुहिनबाट छेक्ने क्षमता र आफैंमा न्यून क्षयीकरणीय गुण विद्यमान हुने हुनाले पुर्खाले पोखरी निर्माण गर्दा कालीमाटीको महत्वलाई पहिचान गरी प्रयोग गर्दै आएको पुरात्वविद् सुदर्शनराज तिवारी बताउँछन् ।

प्रतिवेदनलाई मध्यनजर गर्दै पुरातत्व विभागले पनि रानीपोखरीमा पानी संचितका लागि कालीमाटी र बालुवाको प्रयाग गर्न भनेको छ । तर, पोखरीमा कालीमाटी र बालुवा के–कति परिमाणमा आवश्यक पर्छ र कहाँबाट आपूर्ति गर्ने भन्नेबारे महानगरले केही समय अगाडीमात्र अध्ययन थालेको छ ।

विभागीय प्रमुख थापाका अनुसार अब रानीपोखरीमा पानी जम्ने सतहभन्दा मूनी १ फिट कालीमाटी र त्यसमाथि ९ इन्च बालुवा रहनेछ । सिफारिस प्रतिवेदनले भनेको छ, ‘रानीपोखरीमा जम्ने पानीलाई स्थायित्व दिन पोखरीका चारै कुनामा ढुंगेधाराको निर्माण गर्नु र ती धाराहरुबाट निस्किएका पानी र वर्षाद्को पानी पोखरीमा प्रवेश गराउन अपनाइएका प्रविधि एवं पोखरीको पानीको निकास व्यवस्थापन अतिनै महत्वपूर्ण विषय हुन् ।’ तर, रानीपोखरीमा पानी संचितका लागि खनिएका भनिएको कुवा अनि चारै कुनामा रहेका ढुंगेधाराका विषयमा नत पुरात्वको डिजाइनले बोलेको छ, न महानगरले नै चासो देखाएको छ ।

विभागीय प्रमुख थापा भन्छन्, ‘ग्राउन्डवाटर (जमीनमुनीको पानी) अझ तल गइसक्यो, पहिलेझै जमिनको सतहमै पानी पाइँदैन । अब रानीपोखरीमा कालीमाटी र बालुवामाथि पानी कत्तिको अड्छ् चुनौती बनेको छ ।’

थापाका अनुसार पोखरीमा कालीमाटी र बालुवा राखेर डिप पम्पबाट पानी पु¥याइने छ । बर्खा अघि नै कालीमाटी र बालुवा राख्न सकेमा बर्खाको पानी संचित गर्न सहज हुने भएपनि पुनर्निर्माणमा ढिलाइ हुने सम्भावना छ ।

१२ वैशाख २०७२ को बालगोपालेश्वर मन्दिर क्षतिग्रतस्त बनेपछि महानगरपालिकाले पोखरी पुनर्निर्माणका लागि कालीमाटी झिकेर पानी सुकाएको थियो । पोखरी परिसरमा रहेको कालीमाटी र बालुवा कहाँ पुग्यो ? स्वयम् महानगरपालिकाका अधिकारी नै नै जानकार छैनन् ।

पुरातत्व विभागका पूर्वमहाननिर्देशक एवं महानगरले गठन गरेको विज्ञ सम्मिलित समितिका संयोजक विष्णुराज काकी रानीपोखरीमा मल्लकालीन प्रविधिमै रहेर कालीमाटी प्रयोगबाट पानी संञ्चित गर्न पोखरीको १ हजार मिटर वरपर डिपटूववेलबाट पानी निकाल्ने प्रविधिलाई प्रयोगमा निषेध लगाउनुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘त्यसका लागि काठमाडौं महनगरपालिकाले नीति नै बनाउनुपर्छ । पोखरीको पानीको प्राकृतिक शुद्धता कायम राख्न माछापालन तथा राजाहांस पाल्न, पोखरीको पानी तथा वरपरीको बगैंचाको सुन्दरता कायम राख्न दैनिक सरसफाई व्यवस्थापन गर्नुपर्छ ।’

रानीपोखरीमा फेरि फाउण्टेन !

आधुनिकताका नाममा रानीपोखरीको ऐतिहासिक पक्ष नास्ने काम भएको भन्दै आलोचना भएपछि पछाडि हटेको महानगरपालिकाले फेरि फाउण्टेन (बत्तीयुक्त पानीको फोहरा) जडान गरेर पुनर्निर्माण गर्ने भएको छ ।

‘पुरातत्वले उपलब्ध गराएको डिजाइनमा सौन्दर्यकरण नगर्न भनिएको छैन । फाउण्डेसन र सौन्दर्यकरणको विरोध भएको पनि होइन,’ विभागीय प्रमुख थापा भन्छन्, ‘अब पुनर्निर्माण हुने रानीपोखरीमा १६ वटा फाउण्टेन हुन्छन ।’

पर्यटकलाई केन्द्रित गरेर सौन्दर्यकरणमा पोखरीको सफाइ, हरियाली बगैचा र उज्यालोको व्यवस्था हुने महानगरले जनाएको छ । सन् २०१४ मा भएको सार्क सम्मेलनताका महानगरपालिकाले पुरातत्व विभागको स्वीकृति विना नै १६ वटा फाउण्टेन जडान गरेको थियो जुन पछि हटाइएयो ।

महानगरले रानीपोखरीको ‘पोखरी’ पुनर्निर्माण परम्परागत शैलीमा बनाउन थालेपनि सौन्दर्यको योजनालाई भने यथावत राख्ने तयारी गरेको छ । ‘रानीपोखरी र शान्तिबाटीकालाई एउटै पार्क बनाउने हाम्रो योजना हो,’ थापाले भने, ‘सोही अनुसार सौन्दर्यकरण हुनेछ । उनका अनुसार पोखरी वरपर घुम्न टायल विछ्याउनेछ, भने बगैचा बनाइनेछ । शान्तिबाटिकामा संरचना निर्माण हुनेछन् ।

पुरातत्वले अझै स्वीकार गरेन प्रतिवेदन

‘प्राप्त अनुसन्धानका आधारमा प्रताप मल्लकालिन ग्रन्थकुट शैलीको प्रमाणित रूपमा चारैतर्फका ढोकाका ठेलो समेत प्राप्त भएको हुँदा र पुरानो कोरिएको चित्र समेतका आधारमा बालगोपालेश्वर मन्दिरको विस्तृत विवरण तयार गरी ग्रन्थकुट शैलीमा मन्दिर निर्माणको कार्य आराम्भ गर्ने,’ विज्ञ सम्मिलित अध्ययन समितिको प्रतिवेदनमा भनिएको छ ।

तर समितिमा रहेरपनि प्रतिवेदनको सुझाव अस्वीकार गरेको पुरातत्व विभागले अहिले पनि बालगोपालेश्वर मन्दिर आफ्नै ढंगमा पुनर्निर्माण गरिहेको छ । समिति २ सय ५० वर्ष अघिको बालगोपालेश्वर मन्दिर ‘ग्रन्थकुट’ शैलीमा पुनर्निर्माण गर्न सुझाए पनि पुनर्निर्माणको काम एक करोड ५० लाख लागतमा ‘गुजम्ब’ शैलीमा भइरहेको छ ।

आगामी असारभित्र पुनर्निर्माण सम्पन्न हुने पुरातत्व विभागका डिभिजन इन्जिनियर सम्पत घिमिरेले जानकारी दिए । ग्रन्थकुट शैलीको मन्दिरमा एक वा चारवटा प्रवेशद्वार रहन्छन् । हरेक प्रवेशद्वार अगाडि दुईवटा खम्बा हुन्छ । सोही खम्बामाथि अलिकति भिरालो परेको छाना परेको हुन्छ ।

‘पोखरीको केन्द्रविन्दुमा रहेको बालगोपालेश्वरको जगको अवस्थिति पत्ता लगाउन पुरातात्विक उत्खनन् गर्नुपर्ने पनि प्रतिवेदनले सुझाएको थियो । तर, पुरातत्वले सो विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।

अध्ययन प्रतिवेदन अनुसार मन्दिर निर्माणमा ९, १२ र १६ इन्चका इँटाको प्रयोग भएको छ । मन्दिरको पुनर्निर्माण गर्दा पुरानै शैलीमा नयाँ इँटा बनाएर प्रयोग गर्नुपर्ने र कंक्रिट, छडीको प्रयोग गर्न नहुने समितिले सुझाएको थियो ।

अध्ययन समितिका सदस्य समेत रहेका पुरातत्वविद् डा. तिवारीले भुवनलक्ष्मीको पालामा रानीपोखरीको बीचमा बालगोपालेश्वर मन्दिर बनाइएको बताउँदै आएका छन् । बालगोपालेश्वर मन्दिर गन्थकुट शैलीमा बनाइएकोमा १९९० को भूकम्पछि जुद्धसमशेरले शिखर शैलीमा जीर्णोद्वार गरेका हुन् । उनका अनुसार बालगोपालेश्वर मन्दिर जीर्णोद्वारका क्रममा तत्कालीन राजा महेन्द्र शाहले इँटा र छडीको प्रयोग गरेका थिए ।

जसले मेयर र उपमेयरलाई लडायो

रानीपोखरी पुनर्निर्माणमा ढिलाइ भइरहेका बेला काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरीबारे गरेका भाषण उनैलाई महँगो सावित भयो । सम्पदा प्रेमिहरूको भनाई थियो, ‘आधुनिकताका नाममा रानीपोखरीको मौलिकता मास्न मिल्दैन । तर, मेयर शाक्य भनिरहन्थे, ‘सम्पदा भनेर सौन्यदर्यकरण नगरी बस्न सकिँदैन । अहिले बनेका संरचना भाबी पुस्ताका लागि आफैं सम्पदा बन्छन् ।’ तर, यसमा महानगरकै उपमेयर हरिप्रभा खड्गीको असहमति थियो ।

स्थानीयलाई साथ दिन भन्दै खड्गी ११ पुसमा रानीपोखरी पुगिन र जमलतर्फको गेटमा ताल्चा लगाउने कार्यको साक्षी बनिन् । त्यसको दुई घण्टापछि महानगरका मेयर शाक्यले ताल्चा काट््न लगाए । उक्त घटनाले मेयर र उपमेयरबीचको कलह पेचिलो बनिरहेका बेला सम्पदाप्रेमी झन आन्दोलित भए ।

अन्ततः महानगरले १३ पुसमा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा अध्ययन समिति गठन ग¥यो । समितिले २६ पुसमा अध्ययन प्रतिवेदन पेश गरेपनि पुरातत्व विभागबाट समितिमा रहेका स्टकचरल इन्जिनियर डा. पुरुषोत्तम डंगोल, सिनियर डिभिजनल इन्जिनियर सम्पत घिमिरे र प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले हस्ताक्षर गरेनन् । कारण–बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा बनाउने विषयमा असहमति थियो ।

२२ वैशाख ०७५ मा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको उपस्थितिमा बसेको बैठकले रानीपोखरी पुनर्निर्माणका नाममा प्रयोग भएका आधुनिक सामग्री हटाउने र पुरातत्व विभागको डिजाइन अनुसार पुनर्निर्माण गर्ने गरी १५ जेठ को समयसिमा तोकिएको छ । २०७२ को भूकम्पपछि काठमाडौं महानगरपालिकाले रानीपोखरी परिसरमा रहोके बालगोपालेश्वर मन्दिर निर्माणमा आधुनिक सामग्री प्रयोग व्यापक विरोध भएको थियो । र, अन्ततः बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको जिम्मा पुरातत्व विभागले लिएको थियो ।

यस्तो छ रानीपोखरीको इतिहास

प्रताप मल्लले आफ्ना छोरा चक्रबर्तीन्द्र मल्लको नाममा रानीपोखरी पोखरी बनाएका थिए । रानीपोखरीको निर्माण करिब ५ वर्ष लगाएर भएको सम्पदाविद्हरू बताउँछन् ।

उनले आफ्नी रानीलाई शोकबाट मुक्त गराउन रानीपोखरी बनाएका थिए । रानीपोखरीलाई धार्मिक स्थलको रूपमा परिणत गर्न राजा प्रताप मल्लले विभिन्न तीर्थस्थलका जल ल्याएर राख्न लगाएका थिए ।

बालगोपालेश्वर मन्दिरमा हरेक वर्ष वार्षिक भाइटीका कार्यक्रम हुन्थे । तर, २०७२ को भूकम्पले मन्दिरमा क्षति पु¥याएपछि कार्यक्रम हुन सकेको छैन । चाँगुनारायणको कलशयात्रा ल्याउँदा रानीपोखरीको उत्तरतर्फ रहेको पाटीमा विश्राम गराई स्वागतका लागि हनुमानढोकाबाट विशेष स्वागत टोली गई कलश आह्वाान गरी हनुमानढोका दरवारभित्र भित्र्याउने चलन छ ।

पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पनि प्रतापमल्लले नै निर्माण गरेका थिए । १८४५ फेब्रुवरीमा तात्कालिन प्रुसियाका राजकुमार वाल्डमार नेपालमा घुम्न आउँदा उनका साथ आएका कलाकारले बनाएको स्केचले मन्दिर ग्रन्थकुट शैलीमा बनेको प्रमाणित हुने पुरातत्व विभागका पूर्वमहानिर्देशक विश्णुराज तिवारी बताउँछन् । तर, तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले मन्दिर पुनर्निर्माणका नाममा इँट्टा र प्लास्टरको प्रयोग गरेका थिए ।

प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर ४ वटा मन्दिर स्थापना गर्न लगाएको बताइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्ति सहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरबको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश हुन् ।

‘पुरातत्व इतिहास र संस्कृति’ मा डा. साफाल्य अमात्यले लेखेका छन्, ‘ मूल रानीपोखरीको क्षेत्रफल लम्बाईतर्फ १८० मिटर र चौंडाई तर्फ १४० मिटर ओगटेको छ ।’

यी हुन् अध्ययन समितिले गरेका सिफारिस

पहिलो चरण

–प्राप्त अनुसन्धानका आधारमा प्रताप मल्लकालिन ग्रन्थकुट शैलीको प्रमाणित रुपमा चारैतर्फका ढोकाका ठेलो समेत प्राप्त भएको हुँदा र पुरानो कोरिएको चित्र समेतका आधारमा मन्दिरको विस्तृत विवरण तयार गरी ग्रन्थकुट शैलीमा मन्दिर निर्माणको कार्य आराम्भ गर्ने ।

–पोखरीको विभिन्न अवस्था र स्थितिलाई पत्ता लगाई परम्परागत स्वरुपमा जीर्णोद्धार गर्न थप पुरातात्विक अध्ययन एवं अनुसंधान कार्य अघि बढाउने ।

–पोखरीको पानी स्थायित्वका लागि ज्थमचययिनष्कत को सेवा उपलब्ध गर्नुपर्ने ।

–अनुसन्धान एवं पानीको स्थायित्वको लागि उपलब्ध हुने सुझाबको आधारमा पोखरी जीर्णोद्धार गर्ने लागत अनुमान र कार्ययोजना बनाई कार्यारम्भ गराउनु पर्ने ।

–पुरातात्विक उत्खननबाट पोखरीमा परम्परागत रुपमा संचालन गरिएका पानीका स्रोतहरुको अनुसन्धान गरिनु पर्ने र पोखरीमा पानी प्रवेश गराउने माध्यमको को खोजी गर्ने ।

–पोखरीको मौलिक स्वरुप र संबेदनशिलतालाई प्रतिकुल प्रभाव पर्ने गरी निर्माण भएका संरचना र कंक्रिट रिटेनिङ्गवालको संरचना हटाई परम्परागत स्वरुप बमोजिमको कार्यारम्भ गर्नुपर्ने ।

–पोखरीको केन्द्रविन्दुमा रहेको बालगोपालेश्वरको जगको अवस्थिति पत्ता लगाउन पुरातात्विक उत्खनन् गर्नुपर्ने ।

–बालगोपालेश्वर मन्दिरसम्म जाने बाटोको रुपमा निर्माण भएको पुलको जीर्णोद्धार गर्नुका साथै उक्त पुलमा लगाईएको बार परम्परागत शैलीमा निर्माण गर्नुपर्ने र पुलको फाउण्डेसन एवं सोमाथिको गाह्रो जीर्णोद्धार गर्नुपर्ने ।

–बालगोपालेश्वर मन्दिरमा राखिएका मकराकृति धाराहरु मध्ये नयाँ स्वरुपमा निर्माण गरिएका धाराहरु हटाई एकरुपता त्याउन पुरानो बमोजिमको शैलीमा निर्माण गरी जडान गर्नुपर्ने ।

–पोखरीको जीर्णोद्धार कार्य संचालन गर्न आवश्यक परिमाणमा प्रतापमल्लकालिन गुणस्तरका ईंट्टाहरुको निर्माण ब्यबस्थापन कार्य अगाडि बढाउनु पर्ने ।

–रानीपोखरीको समग्र जिर्णोद्वार गर्ने ड्रइङ, डिजाईन गरी सो अनुरुप गर्नुपर्ने ।

–रानीपोखरीमा जीर्णोद्वार गर्ने कार्य संवद्द विज्ञ समुहको अनुगमन÷सुपरीवोकमा गर्न उपयुक्त हुने÷गराउनुपर्ने ।


दोस्रो चरण

–रानीपोखरीको ऐतिहासिक एवं पुरातात्विक स्वरुप नासिने गरी निर्माण भएका संरचनाहरु हटाई पुरानै स्वरुपमा निर्माण गर्ने ।

–हाल पोखरीको पूर्र्व र दक्षिणतर्फको आधाभागसम्म निर्माण गर्दा काटिएको पोखरीको डिललाई बचाउने कार्य गर्ने ।

–पोखरीको संकलित पानी स्थायित्वका लागि आवश्यक प्राविधिक उपायहरु अवलम्बन गर्नुपर्ने ।

तेस्रो चरण

–जीर्णोद्धार पश्चात् पोखरीको पुरातात्विक एवं ऐतिहासिक वातावरण कायम राखी सौंन्दर्यीकरण गर्ने ।

–रानीपोखरी स्थित चारैकुनामा निर्मित मन्दिरहरुलाई रानीपोखरीको हाताभित्र पार्ने र तिनको आवश्यक जीर्णोद्धार गरी परम्परागत सांस्कृतिक एवं धार्मिक क्रियाकलापहरु सुचारु गर्ने ।

–रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा संचालन हुने बार्षिक भाईटीका जस्ता कार्यक्रमहरुलाई निरन्तरता प्रदान गर्ने ।

–रानीपोखरीको उत्तरतर्फ निर्माण भएका भवनहरु हटाई परम्परागत रुपमा संचालन भई आएको चांगुनारायणको कलश यात्रा विश्रामस्थल भएको ठाउंको सम्पदालाई मर्मत संभार गरी सोको सांस्कृतिक महत्वलाई अभिबृद्धि गर्ने ।

–प्रतापमल्ल सहित दुई छोरा आरोहण भएको हात्तीमा पोतिएको सेतो चुना हटाई मौलिक स्वरुपमा कायम गर्ने ।

–उक्त हात्तीको पूर्वतर्फ निर्मित शिव मन्दिरको सुधार एवं नित्यपूजा संचालनमा ल्याउने ।

–वर्षादको पानी पोखरीमा संग्रह गर्ने प्रविधि सहितको स्रोत व्यवस्थापन गर्ने ।

–नगरपालीकाद्वारा निर्मित भोटाहिटीको सबवेमा प्राप्त भएको पानीको स्रोत पोखरीमा परिचालन गर्ने सम्बन्धमा अनुसन्धान गर्ने ।

दीर्घकालिन योजना

–रानीपोखरीको पानी सुक्नबाट जोगाउन— रानीपोखरी हाल बाटोको सतहभन्दा १९ फिट तल रहेको हुंदा सोभन्दा मुनीको सतहमा रहेको पानी सुक्नबाट जोगाउन अन्य कृतिम माध्यमद्वारा कम्तिमा १००० मिटर वरपर डिपट्युवेल जस्ता पानी निकाल्ने प्रविधिलाई प्रयोगमा निषेध लगाउनेर हाल भैरहेका त्यस्ता कार्यहरु निरुत्साही गर्नकाठमाडौं महनगरपालिकाले नीति बनाउने ।

–पोखरीमा जमेको पानी शुद्धताका लागि समय—समयमा पानी परिक्षण स्वच्छताका लागि अन्य आवश्यक उपायहरुका लागि विशेषज्ञहरुको राय परामर्श अनुसार कार्य गर्ने ।

–पोखरीको सांस्कृतिक एवं प्राकृतिक वातावरण कायम राख्ने कार्यहरु निरन्तर रुपमा गर्ने गराउने ।

–पोखरीको पानीको प्राकृति शुद्धता कायम राख्न गरिने माछापालन तथा राजाहांस पाल्ने कार्यलाई निरन्तरता दिने ।

–पोखरीको पानी तथा वरपरीको बगैंचाको सुन्दरता कायम राख्न दैनिक सरसफाई व्यवस्थापन गर्ने ।

Facebook Comments