भोटेकोशी, ओ भोटेकोशी

राजधानी काठमाडौंको कोलाहल छाडेर थोरै बाहिर निस्कनासाथ बेग्लै संसारको अनुभूति हुनु नेपाली भूगोलको विशेषता नै हो । प्रकृतिको अनौठो र अनुपम दृश्य जताततै अनुभूत गर्न सकिन्छ । मनमोहक हरियाली पहाडी शृङ्खलाले कसको मन लोभ्याउँदैन र ? यी पहाडी शृङ्खलालाई छिचोलेर आजभोलि सडक निर्माण भएका छन् । कतै पक्की त कतै भर्खर डोजरले पहाडका भित्ताहरु कोट्याउँदै गरेको जताततै देख्न सकिन्छ । सुदूर गाउँघर पुग्न, घरदैलोमा गाडी पुर्याउन, गाउँघरका उब्जनी सहर बजारमा ओराल्न, आवतजावत गर्न यी बाटाहरु पक्कै पनि सहायक हुने छन् ।

पहाडी जीवनभित्र विकाससँगै सोच्नै नसकिने विनाश पनि भइरहेको छ । उपल्लो, दूरदराजका बासिन्दाका लागि यी खासै चासोका कुरा होइनन् । उदाहरणका लागि, सिन्धुपाल्चोक, दोलखा, काभ्रेका दुर्गम क्षेत्रका बासिन्दाहरु बसहरुमा कोचाकोच गरेर भोटेकोशी, सुनकोशीका तिरैतिर हुइँकिन्छन् । तर त्यही तल बग्ने भोटेकोशी, सुनकोशी नदीहरुका किनारामा छरपस्ट डोजर के गर्दै होलान् उनीहरुलाई खासै चासोको विषय होइन । आखिर त्यो दृश्य हेरेर कसलाई के भन्ने ? कहाँ भन्ने ?

माथिल्लो भोटेकोशी र तल्लो भोटेकोशी हुँदै सुनकोशी नदी किनारमा भइरहेको मानव अतिक्रमण हेर्दा जोकोही विह्वल हुन्छ । सयौं डोजर नदी किनारामा दिनरात ढुंगा, गिटी, बालुवा खोतलीरहेका छन् । नदी किनारामा हजारौं मजदूर टेन्ट गाडेर काममा जुटेका छन् । ठाउँ ठाउँमा नदीजन्य यस्ता वस्तुको संग्रह गर्ने, प्रशोधन गर्ने क्रसर छन् । झण्डै ५० किलोमिटरको यो नदी किनारामा देखिने मानवीय अराजक कृयाकलापले जोसुकै प्रकृतिप्रेमीको मन कुँड्याउँछ । यो नदीबाट के कति ढुँगा, गिटी, बालुवा दोहन गर्न पाइन्छ ? त्यहाँ भइरहेको मनमौजी काम हेर्दा कुनै वैज्ञानिक अध्ययन, वातावरणीय मूल्याँकनको काम भएको अनुभूति नै गर्न देखिन्न । नदी वारी एउटा र पारी अर्को स्थानीय निकायले ठेक्का लगाएको सुनियो । पैसा कमाउने लोभमा परेका दुवै तिरका स्थानीय निकायले हचुवाकै भरमा ठेक्का लगाएको पाइन्छ । नदीजन्य वस्तु के कति निकासी भइरहेको छ कतै रेकर्ड राखेको देखिएन । काठमाडौं–कोदारी राजमार्गमा हिँड्दा प्रत्येक २, ३ मिनेटमा तिब्र बेगमा गुडिरहेका ट्रिपर देख्न पाइन्छ । सयौं ट्रिपर दिनरात भोटेकोशी, सुनकोशीबाट ढुंगा, गिटी, बालुवा बोकेर दौडिएका पाइन्छन् ।

नदी किनाराका यी गतिविधिको रिपोर्टिङ गर्न, फोटो वा भिडियो खिच्न जोकोही पत्रकार सहजै तयार हुँदैनन् । समाचार संकलनमा पनि जोखिम मोल्नुपर्ने स्थिति छ । स्थानीयबासीको स्वर डनहरुको बिगबिगीका कारण दबेको छ । प्रहरी प्रशासन मौन छ ।

नदी संरक्षणका क्षेत्रमा कृयाशील मेघ आले भन्दै हुनुहुन्थ्यो – क्रसर उद्योग र ठाउँ ठाउँमा निर्माण भइरहेका साना–मझौला जलविद्युत् आयोजनाका कारण अब भोटेकोशी ह्वाइट वाटर र्याफ्टीङका लागि उपयुक्त नहुने अवस्थामा पुगिसक्यो । उनीहरुले ठाउँठाउँमा बाँध बनाएर नदीको पानी सुरुङभित्र छिराउन थालिसके । सरकारले एउटा नदी पनि पर्यटनको महत्वपूर्ण माध्यम र्याफ्टीङका लागि छाडेन । यो नदीमा बर्सेनि हजारौं स्वदेशी, विदेशी पर्यटक आउँथे । अब केही वर्षपछि यो नदी मृततुल्य हुनेछ, कोही पनि आउँदैन । यो मुलुककै लागि दुर्भाग्य हो ।

हुन पनि, एक दुई सय मेगावाट विद्युतका लागि राजधानीबाट नजिकको, बन्जी जम्प र र्याफ्टीङ जस्ता साहसिक पर्यटनका लागि अति उपयुक्त नदीलाई मृततुल्य बनाउनु सरकारको गलत सोचबाहेक केही होइन । माथिल्लो भोटेकोशी त विश्वकै उत्कृष्ट १० भित्रको र्याफ्टीङ रिभर पनि मानिदो रहेछ । माथिल्लो भोटेकोशीदेखि दोलालघाटसम्म र्याफ्टीङ गरी आनन्द लिने स्वदेशी विदेशी पर्यटकलाई आजभोलि निराशा मात्र हुन्छ । अहिले सामान्यतया र्याफ्टीङ खाँडीचौरदेखि दोलालघाट नजिक एक डेढ घण्टाको सानो खण्डमा मात्र जलयात्रा हुँदैछ ।

वातावरण, पर्यावरणका क्षेत्रमा जनचेतना फैल्याउन र वातावरण विनाशका सन्दर्भमा खबरदारी गर्ने नेपाल वातावरण पत्रकार समूहले नदीजन्य पदार्थको दोहनलाई वैज्ञानिक, वातावरणीयमैत्री बनाउने उपायका बारेमा सरकार र सरोकारवालासँग तत्कालै छलफल, बहस गर्नुपर्ने खाँचो छ । देशैभर पूर्वाधार निर्माणका कार्यहरु (खासगरी सडक, जलविद्युत्) भइरहेका छन् र त्यसका लागि ढुंगा, गिटी, बालुवाको भरपर्दो व्यवस्था गर्नुपर्ने खाँचो पनि छ । प्राकृतिक सम्पदाको सुरक्षा र पुनस्र्थापना गर्ने गरी निश्चित आधार, परिमाणमा मात्र दोहन गर्नेतर्फ योजना बनाउनु नै उपयुक्त हुने देखिन्छ ।

Facebook Comments