तरकारी खेतीले फेरिएको मुहार

काठमाडौँ – दुई वर्षअघिसम्म मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका नामटारकी चन्द्रकला रुम्बा घरायसी कामबाहेक अशिक्षाले गर्दा अरु कामधन्दा गर्न नजान्ने भएकाले घरमै सीमित थिइन। छोरीले पढ्न हुँदैन भन्ने सामाजिक अन्धविश्वास र घरको आर्थिक अवस्थाले गर्दा उनको विद्यालय जाने चाहना कहिल्यै पूरा भएन।

सानो उमेरमै बिहे भएर अर्काको घरमा गएपछि त मेलापात, घरधन्दा र चुलोचौकामा नै उनको आधा जीवन बित्यो। आफ्नो पर्याप्त जग्गा नभएकाले अर्काको जग्गा अधियाँमा कमाएर र ज्याला मजदुरीबाट घरको गुजारा चलाउन उनलाई हम्मेहम्मे पर्दथ्यो।

रातपछि बिहान भएजस्तै उनको जीवनमा पनि घाम उदायो। दुई वर्षअघिसम्म गरिब परिवारकी गृहिणीको रुपमा रहेकी उनको एक्कासी परिचय सफल महिला व्यवसायीको रुपमा फैलिएको छ। ४२ वर्षीया चन्द्रकलाको जीवनले विस्तारै कोल्टे फेर्न थाल्यो।

घर उही, परिवार सदस्य उति नै, तर फेरिंदो जीवन। वल्लोपल्लो गाउँमा समेत उनलाई नचिन्ने कमै होलान्। सङ्घर्षशील महिलाको रुपमा चिनिन्छिन उनी। दुई छोरा, दुई छोरी र श्रीमान गरी छ जनाको परिवार उनकै पाखुरामा निर्भर रहेको छ। श्रीमान शारिरीकरुपमा अशक्त भएकाले घर व्यवहारको जिम्मेवारी पनि उनकै काँधमा रहेको छ।

गाउँघरमा अरुले तरकारी खेतीबाट पैसा कमाएको देखेर उनलाई पनि तरकारी खेती गर्ने विचार आयो। जग्गाको नाममा भएको आठ कठ्ठामा सानो खरको छानो भएको घर बनाएर बसेको थियो उनको परिवार। तरकारी लगाउने प्रशस्त बारी नभए पनि उनले अरुको अधियाँ कमाएर खेती सुरु गरेकी छन् ।

थोरै जग्गामा लगाएको तरकारीले सुरुमै राम्रो आम्दानी दिएपछि उनलाई व्यावसायिक रुपमा तरकारी खेती गर्ने जाँगर बढ्यो । कमाएको आधा साहूलाई दिनुपर्दथ्यो र समयअनुसार विउबिजन नपाउँदा कहिलेकाहीँ त उनलाई खेती छोडेर अन्य व्यवसाय गर्ने विचार पनि नआएको होइन। तर त्यस्तो व्यवसाय गर्न उनीसँग पूँजी नभएको र कसैले दुई÷चार हजार रुपैयाँ पनि नपत्याउने भएकाले तरकारी खेतीमै निरन्तर लागिरहेकी छिन।

निरन्तरको साधनाले सफलता दिन्छ भने झैं २०१४ अप्रिलपछि उनको तरकारी खेतीले फस्टाउने अवसर पायो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रमको आर्थिक सहयोग र एमडिसी नेपालको प्राविधिक सहयोगमा गाउँमा भू–क्षय रोकथामद्वारा जलवायु समानुकूलनमा समुदायको दिगो जीविकोपार्जन कार्यक्रम लागू भएपछि उनलाई ढुङ्गा खोज्दा देवता मिलेजस्तै भयो । यसले उनलाई पुनः तरकारी खेतीमै लाग्ने प्रेरणा मिल्यो ।

कार्यक्रमले विभिन्न समूहमा जैविक वातावरणमैत्री ताजा तरकारी उत्पादनसम्बन्धी तालिम दिएपछि उनमा तरकारी खेतीबाटै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढ्यो। उनलाई लाग्यो अब बल्ल मेरो जिन्दगीले अनेक घुम्ती र खोँचहरु पार गर्दै मूल सडकमा आइपुग्यो। तालिमले उनले कसरी तरकारी उत्पादन तथा बजार व्यवस्थापन गर्नुुपर्ने रहेछ भन्ने थाहा पाएपछि उनले व्यावसायिक ढङ्गबाट तरकारी खेती गर्ने निधो गरिन।

सुरुमा आप्mनो आठ कठ्ठा र अरुको अधिँया चार कठ्ठा जमिन लिएर तरकारी खेती गर्न सुरु गरेकी थिइन। बजारमा अरुले उत्पादन गरेको तरकारी आउनुअघि नै आफ्नो तरकारी लैजान सके बढी मूल्य पाइने भएकाले आफूले १२ कठ्ठा जग्गामै बेमौसमी तरकारीहरु लगाउने थालेको बताउँछिन्। एकै सिजनमा सबै खर्च कटाएर उनले रु एक लाख ५० हजार खुद नाफा कमाउन सफल एको चन्द्रकलाको भनाइ छ।

खेतबारीमा मल पनि हुने र दुध तथा मासु बिक्री गरेर आम्दानी पनि गर्न सकिने भएकाले अहिले उनले दुई÷तीनवटा भँसी र केही बाख्रा पनि पाल्न थालेकी छिन् । प्राङ्गारिक मल राखेको तरकारीको मूल्य बढी पाउने र रासायनिक मल किन्ने पैसा पनि बचत हुने देखी भैँसी र बाखाको मललाई भकारो सुधार गरी सुधारिएको गोठेमल बनाएको उनी भन्छिन्।

गाई भैँसीको पिसाब सङ्कलन गरी अर्गानिक तरकारी खेती गर्ने उनको लगन, मिहेनतको गाउँमा सबैले प्रशंसा गर्न थालेका छन् । उनको तरकारी अर्गानिक भएकाले मानिसहरु खोजीखोजी घरमै आएर पनि धेरै पैसा तिरेर किन्ने गरेकाले अब उनलाई बजारमा बेच्न जानुपर्ने समस्या छैन् । मूल्य पनि राम्रो पाएपछि उहाँको आर्थिक हैसियत बढ्न गएको छ ।

हिजोसम्म अर्काको जगगा अधियाँ गरेर जेनतेन घर परिवार चलाउँदै आएकी चन्द्रकला अहिले समाजमा हुनेखानेमा चिनिन्छिन् । दुई छोरी र दुई छोरालाई राम्रो क्याम्पस र स्कुल पढाउन सक्षम उनलाई अब घरखर्चमा कुनै समस्या छैन् । पहिले खरको छाप्रोमा गुजारा गर्दै आएकामा उनले अहिले पक्की घर बनाएकी छिन् ।

उनी भन्छिन्, ‘‘ज्ञान र सीप पाएपछि आफ्नो मेहनतले अघि बढ्छु ।’’ यस वर्ष तरकारी खेतीबाट तीन लाख रुपैयाँ कमाउने उनको योजना छ । पहिले त पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने लाग्थ्यो तर अहिले यहीँ बसेर मेहनत साथ खेती गरियो भने विदेशको भन्दा बढी कमाइ गर्न सकिने रहेछ भन्ने अनुभव उनको छ ।  कृष्ण अधिकारी/रासस

Facebook Comments