पाकिस्तानमा पानीको संकट बढ्दो

काठमाडौँ – दक्षिण एसियाली मुलुक पाकिस्तानले यतिबेलो तीव्र पानी संकटको सामना गरिरहेको छ । आगामी वर्षहरूमा यसले झन भयावह रुप लिने अधिकारीहरू बताउँछन् ।

तस्वीरः डन पत्रिका

हालै सिन्ध नदी प्रणाली प्राधिकरणले सिन्ध वेसिन सिंचाई परियोजनामा रहेको पानीको ठूलो संकटलाई बाहिर ल्याएको हो। यसलाई विश्वकै एउटा ठूलो सिंचाई प्रणालीको रुपमा लिइन्छ । पानीको संकट यतिबेला निकै नै गम्भीर समस्याको रुपमा देखिएको छ किनभने यतिबेला कटन लगायतका मुख्य नगदे बालीको समय हो ।

देशभर पानीको संकटको विवरणहरू आउन थालेका छन्, पानीका स्रोतहरू धमाधम सुकिरहेको छन् र पानी प्रदूषण हुने क्रम पनि तीव्र रुपमा बढीरहेको छ । अहिलेकोे पानीको समस्याले देशको असक्षम राजनीतिक नेतृत्व, निष्क्रिय प्रशासन र पानीको उचित व्यवस्थापनको अभावलाई स्पष्ट रुपमा संकेत गरिरहेको छ । जसका कारण लामो खडेरीको खतरामा पाकिस्तान रहेको छ । जलवायु परिवर्तनको असरका कारण अहिले देखिएको पानीको संकटले अन्न उत्पादनलाई मात्र असर गर्ने छैन, यसले जलविद्युत उत्पादनमा समेत असर गर्नेछ ।

राजनीतिक दलका नेताहरू एक आपसमा एक अर्कालाई हिलो छ्याप्ने, सत्ताको लागि मरिमेट्ने र कुनै भिजन नभएका नेताहरू भएको मुलुकमा यस खाले संकेत अवश्यमभावी नै छ । नेताहरूले पानीको संकट टार्नका लागि कुनै कदम चाल्ने त परैको कुरा, पानी जम्मा गर्नका लागि नयाँ संरचना बनाउने कुराको समेत विरोध गरिरहेका छन् । यतिबेला पाकिस्तानमा ड्याभ भन्ने शब्द नै निकै विवादास्पद रहेको छ र यस विषयमा तीव्र विवाद भइरहेको छ ।

पकिस्तानमा यतिबेला स्वच्छ पानीको अभाव भइरहेको छ । अधिकारीहरूका अनुसार सन् २०२५ भित्र यो समस्याले झनै बिकराल रुप लिनेछ । कृषिमा आधारित अर्थतन्त्र भएको मुलुकमा पानीको अभाव निकै ध्वंशात्मक रुपमा प्रस्तुत हुनेछ । पाकिस्तानको झण्डै ७० प्रतिशत जनसंख्या प्रत्यक्ष वा परोक्ष रुपमा कृषिमा संलग्न छन् र कुल गार्हस्थ उत्पादनको झण्डै २६ प्रतिशत ओगट्ने गरेको छ । पानीको संकटका कारण बाली लगाउने समयमा ढिलाई हुनेछ र यसले समग्र अन्न उत्पादनमा नै कमी ल्याउने छ । पाकिस्तानमा अधिकांश खेत तथा बारीमा सिंचाइको माध्यमले कृषि गरिन्छ ।

त्यसपछि भूमिगत पानी र आकाशे पानीको भरमा खेती गरिन्छ । देशका प्रमुख सिंचाई परियोजनाहरूमा पानीको तह निरन्तर रुपमा घटिरहेकाले बालीलाई आवश्यक पर्ने पानी पुगिरहेको छैन् । मुख्य सिंचाई योजनाको रुपमा रहेको सिन्ध सिंचाई योजनामा पनि पछिल्लो समय पानीको तह घटिरहेको छ । पाकिस्तानले एकदमै कम मात्रामा पानीको भण्डारण गरिरहेको छ । पछिल्ला वर्षहरूमा कम हिउँ परेका कारण पनि खोलामा पानीको तह बढ्न सकेको छैन् ।

अधिकारीहरूका अनुसार पाकिस्तानमा अघिल्लो वर्ष औसतमा भन्दा ५० प्रतिशत कम हिउँ परेको थियो जसले भावी दिनमा अझ भयावह संकटको संकेत गर्दछ । ड्यामहरूबाट पानी कम प्रवाह हुँदा कृषकहरूले भूमिगत पानीको भर परिरहनु परेको छ । पाकिस्तानमा पछिल्लो दशकमा भइरहेको तीव्र जनसंख्या वृद्धिको कारण पनि पानीको मात्र बढीरहेको छ । जनसंख्या बढी रहेको कराँची जस्ता शहरहरूले पानीको व्यवस्थापन उचित रुपमा गर्न सकेका छैनन् ।

यतिबेला पाकिस्तानमा पानीको सिजन शुरु भइरहेको र यो यतिबेला एउटा प्रमुख राजनीतिक एजेण्डा बनिसकेको छ । चुनावको समयमा स्थानीय जनताको ध्यान आकृष्ट गर्ने यो एक प्रमुख मुद्दा हो । हालै, कालाबाँघ निर्माणका लागि सरकारमाथि दवाव सिर्जना गर्ने उद्देश्यका साथ सामाजिक सञ्जालमा एक अभियान नै चलाइएको थियो । यो बाँध राजनीतिक रुपले एक विवादास्पद बाँध हो । अहिले गर्न पर्ने मुख्य विषय भनेको वर्षाको पानी संकलन गर्ने केन्द्रहरू बनाउने जसले बाढीलाई रोक्न समेत मद्दत गर्दछ । हालै पाकिस्तान सरकारले राष्ट्रिय पानी नीति ल्याएको छ जसलाई अक्षरंश कार्यान्वयन गर्न आवश्यक छ । त्यति मात्र होइन, पानीको बारेमा अध्ययन गर्न र सुझाव दिनको लागि एक आयोगको समेत गठन गर्न आवश्यक छ । सरकारी तहले मात्र पानीको व्यवस्थापन गर्न नसक्ने भएकाले निजी क्षेत्रलाई पनि पानी व्यवस्थापनमा सहभागी गराउन आवश्यक छ ।

पाकिस्तानले पानीको स्रोत कम भएर पनि बढी कुल गार्हस्थ उत्पादन भएका र जनताको स्तर राम्रो भएको इजरायल जस्ता मुलुकहरूबाट सिक्न आवश्यक छ । प्रविधिको राम्रो प्रयोग गरेर इजरायलले राम्रोसँग पानीको व्यवस्थापन गरेको छ । पाकिस्तानमा वार्षिक रुपमा एक व्यक्तिको लागि १०१७ क्युविक पानीको आवश्यकता पर्दछ तर त्यो अहिले १००० मा झरेको छ जसले पानीको संकट बढ्दै गएको संकेत गर्दछ । कराँची शहरमा त चाहिने भन्दा आधा पानी मात्र उपलब्ध छ । लाहोरमा पनि पानीको संकट बढीरहेको छ । यति मात्र होइन, वर्षायाममा समेत राजधानी इस्लामाबादमा पानीको संकट रहेको छ ।

दि डिप्लोम्याट र डन पत्रिकामा आएको समाचारको भाव अनुवाद ।

Facebook Comments