सिक्टामा १३ वर्षमा १४ अर्ब स्वाहा!, निर्माण ५६ प्रतिशत मात्रै

नेपालगञ्ज–बाँके जिल्लाको करीब ३४ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यले १३ वर्ष अघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा १४ अर्ब रुपैयाँ खर्च भइसक्यो।

तर, २०७० माघमै सम्पन्न भइसक्नुपर्ने भएपनि ब्यारेज तथा मुल नहर निर्माणसँगै आयोजनाको ५६ प्रतिशत मात्रै पूरा भएको छ। सुरुवातीमा आयोजनाको लागत १२ अर्ब ७० करोड भनिए पनि दोब्बर वृद्धिसहित २५ अर्ब २ करोड पुग्ने अनुमान गरिएको छ। आयोजना सम्पन्न गर्ने लक्ष्य पनि आर्थिक वर्ष २०७६-०७७ मा धकेलिएको छ ।

सिक्टाको पानीले खेतमा सिंचाइ गर्ने यहाँको किसानको सपना अधुरै छ। सिंचाइ सुविधा नभएकाले बाँकेको अधिकाश उर्बर भूमि हिउँदे सिजनमा बाँझै रहन्छ, धानखेतीका लागि आकाशको पानीको भर पर्नुपर्छ।

मुल नहरको पानी शाखा नहर हुँदै किसानको खेतबारीसम्म पुर्‍याउने लक्ष्य रहेकोमा डुडुवा शाखा नहर निर्माणमा ढिलासुस्तीसँगै चरम लापरवाही भइरहेको सरकारी अधिकारीहरू नै स्वीकार गर्छन्। ढुडुवाको ५ प्रतिशत काम मात्र भएको छ। आयोजना अन्तर्गतको डुडुवा नहर प्रणालीबाट बाँकेको करीब १६ हजार हेक्टरमा सिंचाइ सुविधा पुग्छ। तर, १४ अर्ब खर्च गरेर बनाएको आयोजनाको व्यारेज तथा मुल नहर जीर्ण बन्न थालेको छ।

पप्पु जेभीले काम नगरेपछि…
डुडुवा नहर प्रणाली निर्माणको ३२ दशलमव २ किलोमिटर नहर निर्माण तथा सिक्टाको मुल नहरलाई डुडुवा शाखा नहरसँग जोड्ने संरचना निर्माण लगायतका काम गर्ने ठेक्का कोष्टल-पप्पु जेभीले पाएको छ। २०७३ जेठदेखि निर्माण सुरु भएको उक्त कार्यको लागत ९८ करोड ८१ लाख हो भने, १९ डिसेम्बर २०१८ (४ पुस २०७५) सम्म काम सक्नुपर्नेछ।

तर, निर्माण सम्पन्न गरिसक्नु पर्ने आगामी डिसेम्बरसम्म १० प्रतिशत पनि काम पूरा हुन गाह्रो पर्ने देखिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्कीले बताए। उक्त नहर निर्माण भएमा १६ हजार हेक्टरमा सिंचाइ पुग्ने भएपनि हालसम्म नहरको ५ प्रतिशत काम मात्र सम्पन्न भएको छ ।

पप्पु कष्ट्रक्सन पर्सा क्षेत्र नम्बर ३ का निर्वाचित सांसद एवंं संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हरिनारायणप्रसाद रौनियारको हो। तर, राैनियारले मंगलबार मात्र रिपाेटर्स क्लब नेपालमा पत्रकार सम्मेलनकाे अायाेजना गरी अाफू १ वर्षयता पप्पुमा आवद्ध नरहेको दाबी गरेका थिए।

निर्माण कम्पनीले नहर निर्माणका लागि ढुंगा गिट्टीको अभाव भएको, नहर क्षेत्रमा पर्ने रुखहरु नकाटिएको, नहर क्षेत्रको जग्गाको मुआब्जा वितरण समयमा नहुँदा समस्या भएको भन्दै आयोजनासँग क्षतिपूर्ति दाबी गर्दै आएको छ। पप्पु कष्टक्सन लागतभन्दा कम मूल्यमै धेरै ठाउँमा ठेक्का लिने, गुणस्तरीय काम नगर्ने, काम गरेपनि समयमा काम नगर्ने जस्ता कारणले बदनाम हुँदै आएको बताइन्छ।

नहर निर्माणको कामको काम लक्ष्य अनुसार नगरेको भन्दै आयोजनाले तत्काल काम सुरु गर्न कम्पनीलाई ताकेता गर्नेदेखि सार्वजनिक सूचना प्रकाशित गर्दा पनि निर्माण कम्पनीले अटेर गरेपछि आयोजनाका कर्मचारी हैरान छन्। सो विषयमा आयोजनाले ३० पुस २०७४ मा सिंचाइ विभागलाई पत्र लेखेर निर्माण कम्पनीलाई के गर्ने भनेर सुझाव मागेको थियो । तर, विभागले कुनै निर्देशन दिएको छैन।

बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथक आयोजनाको काममा ढिलाइ हुँदा आयोजनाको लागत बढ्नुका साथै सिंचाइ नहुँदा खेतबारी बाँझै हुने समस्या बढ्न थालेको बताउँछन्। सिक्टाको काम तीव्र गतिमा अगाडि बढाउन बाँकेका सांसदहरूले सिंचाइमन्त्रीदेखि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए पनि काम अगाडि बढ्न नसकेको उनी बताउँछन् । डुडुवा नहर निर्माणको काम यहि गतिमा अघि बढे सम्पन्न हुन अझै २ वष लाग्ने सरकारी अधिकारीहरु बताउँछन् ।

सिक्टा नहरको गुणस्तरमा प्रश्न!

२०७१ काे बाढीले पुर्‍याएकाे क्षति।

२०७१ साउनको भीषण वर्षापछि आएको बाढीले सिंचाइ आयोजनाकोे मुल नहर, कल्भर्ट र पुल लगायतका संरचनामा व्यापक क्षति पुर्याएको थियो।

नहर निर्माण गर्दा बाढीको जोखिम कम गर्न उपयुक्त संरचना निर्माण नगरिँदा बाढीको पानी नहरमा पसेर १ दर्जन स्थानमा क्षति पुर्‍याएको थियो। जसकारण करीब २० करोड बराबरको क्षति भयो। २०७२ असारमा सिक्टा सिंचाइ आयोजनाको मुल नहर पानी हालेर परीक्षण गर्दा हेड बक्सबाट करीब २६ किलोमिटरको दुरीमा रहेको झिझरी खोला छेउमा निर्माण गरिएको करिब १५ मिटर संरचना भत्किएको थियो।

कालिका कस्ट्रकसन प्रालिले निर्माण गरेको मुल नहरको संरचना परीक्षणकै क्रममा भत्किएपछि नहर निर्माणका क्रममा बनाइएका संरचनाको गुणस्तरमै प्रश्न उठेको छ। परीक्षणकै क्रममा भत्किएपछि आयोजनाले हालसम्म मुल नहरबाट पश्चिम क्षेत्रमा प्रभावकारी रुपमा सिंचाइ सुविधा उपलब्ध गराउन सकेको छैन।

मुल नहर संचालन गरेर डुडुवा शाखा नहरको पुरानो संरचनामार्फत् करीब ५ सय हेक्टरमा सिंचाइ सुविधा पुर्याउने सकिने भएपनि त्यसतर्फ आयोजनाले चासो नदिएको गुनासो किसानको छ ।

सिक्टाका फाइदा
सिक्टा बनेपछि पहिलो चरणमा बाँकेको करिब ३४ र दोस्रो चरणमा ९ हजार गरेर करिब ४३ हजार हेक्टर क्षेत्रमा वर्ष भरी नै भरपर्दो सिंचाई सुबिधा पुग्ने छ । साथै उत्पादन र उत्पादकत्वमा करीब २ गुणा वृद्धि भइ एकैसाथ ४६ हजार ७ सय १५ घरपरिबारका करिब ४ लाख ५० हजार सदस्य प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्।

सिंचाइ उपलब्धता भएमा सुक्खा र खडेरीको अन्त्य भइ उत्पादन र उत्पादकत्व वृद्धि भई किसानको आर्थिक समृद्धिको ढोका खुल्ने सिक्टा सिंचाइ जल उपभोक्ता समिति बाँकेका अध्यक्ष शालिकराम डागीले बताए।

Facebook Comments