खोटो संकलनले चुरेको सल्लाघारी विनास

कैलालीको चुरेस्थित निगालीको वनमा खोटो संकलन गर्न वरपरको सबै बोक्रा खुइलिने गरी ताछेको सल्ला र त्यसमा खोपेको कुपी ।

धनगढी–चार दशकदेखि मापदण्डविपरीत खोटो संकलन हुँदा कैलाली जिल्लाको सल्लाघारी विनासिदै छ।

लगातारको खोटो संकलनले रुख ढली, सुकी विनासिदा र आगलागीका कारण नयाँ विरुवा नपलाउँदा त्यहाँका डाँडाहरू नांगा भएका छन्। खोटो संकलनका कारण सल्लाका रुखहरू सुकेर तथा ढलेर डाँडा उजाडिएको छ।

खोटो संकलनका कारण रुख सुकेर नांगिएको डाँडामा पहिरोको खतरा बढेको छ। वन विनासकै कारण पहिरो गएर मोहन्याल गाउँपालिकाका थुप्रै वस्ती विस्थावित भइसकेका छन्। वातावरणीय प्रभाव मूूल्यांकनमा मापदण्ड अनुसार खोटो संकलन गर्न मिल्ने भएपनि मापदण्डविपरीत संकलन गर्दा त्यहाँ बाढी पहिरो जस्ता खतरा बढेका हो।

सामुदायिक वनका पदाधिकारी, वन कर्मचारी र ठेकेदारको मिलेमतोमा मापदण्ड मिचेर कम्पनीले मापदण्डविपरीत खोटो संकलन गर्दै आएको छ। रुख सुकाएर काठ बिक्री गर्ने नियतले समितिको संलग्नता हुने गरेको छ।

वनमा रहेको काचो रुख काट्न नपाइने भएकाले खोटो संकलनको माध्यमबाट रुख सुकाउने र त्यतिमा नसुके आगो लगाइदिने प्रवृत्ति बढेको छ। नियतबस आगो लगाउँदा जंगलमा नयाँ विरुवा नआएकाले र पुराना रुख नासिदै गएकाले डाँडा खाली हुँदै गएको हो ।

रुख सुकाएर ‘सुका–खडा, ढला–पडा’ देखाएर काट्ने र बिक्री गर्ने नियतमा खोटो संकलन अचुक उपाय बनेको छ। सामुदायिक वनका पदाधिकारी, वन कर्मचारी र ठेकेदारहरूको ‘झोल पनि खाने, चोक्टा पनि खाने’ परिपाटीलाई खोटो संकलनले साथ दिएको पण्डौन–१ बडीखर्कका भवानीप्रसाद गिरीले बताए।

खानीडाँडाका इलाका वन अधिकृत डबल बोहराले पनि कतिपय सामुदायिक वनमा मापदण्डविपरीत खोटो संकलन भएको पाइएको बताएका छन्। उनले अनुगमनको क्रममा मापदण्डविपरीत खोटो संकलन गरेको पाइएपछि सामुदायिक वन उपभोक्ता समूहमा रोक्नको लागि लिखित र मौखिक निर्देशन दिनुका साथै जिल्लामा पनि पत्राचार गर्ने गरेको बताए । उनले नियमविपरीत गरिएको खोटो संकलनको काम विभागबाटै रोक्नुपर्ने बताए।

चुरेको गाउँपालिकाको अलाडको सल्लाघारीमा खोटो संकलन गर्न वरपरको सबै बोक्रा खुइलिने गरी ताछेको सल्ला र त्यसमा खोपेको कुपी ।

वन ऐन अनुसार ३६ इञ्चभन्दा बढी गोलाइ भएका सल्लामा १६ वाई १६ इञ्चको घाउ काटेर मात्रै खोटो संकलन गर्न पाइन्छ। रुखले खनिज पदार्थ सोसेर खाना बनाउनका लागि रुखको आधा भाग बोक्रा तलदेखि माथिसम्म जोडिएको छोड्नुपर्छ। एक वर्षमा एउटा रुखबाट चार महिनाको अवधिमा संकलकले ३ लिटर मात्रै खोटो निकालेर माटो र गोबरले पोतेर घाउ बन्द गरिदिनु पर्छ।

तर, संकलक कम्पनीले यस्तो गरेको देखिन्न। साना र एउटै रुखमा जथाभावी तीन-चार ठाउँमा घाउ लगाई रुखको वरपरीका सबै बोक्रा ताछेर खोटो संकलन भइरहेको पाइएको छ। यसरी खोटो संकलन गर्दा रुखहरु सुक्ने र ढल्ने गरेका छन्। त्यसैमा आगो सल्किदा धेरै सल्लाका रुखहरु मर्ने र ढल्ने गरेका छन्, भने नयाँ विरुवा उम्रिनै पाएका छैनन् ।

कैलालीको चुरे क्षेत्रमा खोटो संकलनको अनुमती पाएको दिव्या रोजिन एण्ड टर्पेनटाईनले रुख सुक्ने गरी खोटो निकाल्ने गरेको स्थानीय बासिन्दाहरुको आरोप छ। शुरुमा खोटो संकलन गर्ने र त्यसैको माध्यमबाट रुख सुकाएर काठ काटेर निकासी गर्ने प्रवृत्ति बढेको एक जना कर्मचारी बताए।

इलाका वन अधिकृत बोहराले कर्मचारीको मिलोमतो भन्ने कुरा आशंका मात्रै रहेको बताउँदै उनले स्थानीयबासिन्दाले सल्ला प्रजातिलाई त्यति महत्व नदिने र नबोल्ने गरेकाले सामुदायिक वन उपभोक्ता समूह र ठेकेदारले मापदण्ड मिचेर खोटो निकाल्ने गरेको बताए।

बोहराले ठेकदारसँग सामुदायिक वनले एग्रिमेन्ट गर्ने भएकाले इलाका वनले अनुगमन मात्रै गर्ने गरेको बताए। ‘समूहहरुको प्राशासनिक खर्च चलोस भनेर मात्रै ढलेको, सुकेको रुख निकाल्नका लागि अनुमति दिन्छौ,’ इलाका वन अधिकृत बोहराले भने, ‘यस वर्ष ठूलो हावाहुरी चलेपनि रुख कम ढलेको छ र अन्य वर्षको तुलनामा डढेलो पनि कम लागेको छ । स्थानीयले चासो देखाए भने मापदण्ड विपरितको खोटो संकलन र चोरी निकासी रोक्न सकिन्छ।’

विगतको जस्तै घल्ला घरी घना छैन। हावाहुरीले रुख ढल्ने, सुक्ने, टुट्ने र डढेलोले गर्दा व्यापक रुपमा नयाँ विरुवा नआउने गरेकाले सल्लाघारी पातलिदै गएको इलाका वन अधिकृत बोहराले बताए। उनले दुई तीन वर्ष मात्रै रेष्टमा राखेर खोटो संकलन गरेको भेटिएको बताए। ‘यति अबधिमा सल्लामा लगाएको घाउ भरिएको हुँदैन,’ इलाका वन अधिकृत बोहराले भने, ‘फेरि त्यसैबाट खोटो निकाल्दा सल्लाको बोट कमजोर हुन्छ। सुक्छ। ढल्छ ।’

त्यसैले वातावरणीय प्रभाव मुल्यांकन पुनः गर्न सल्लाह दिएको तर कार्यान्वयन नभएको जनाउँदै मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजादेवी बुढामगरले मापदण्डविपरीत भइरहेका खोटो संकलन रोक्नुपर्ने बताइन्। मोहन्याल गाउँपालिका केही वडामा भने स्थानीय बासिन्दाहरुले नै खोटो संकलनमा रोक लगाएका छन्।

मोहन्याल गाउँपालिकामा हाल २, ३ र ६ मा खोटो संकलन जारी रहेको मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष बुढामगरले बताइन्। उनले खोटो संकलनको ठेक्का दिने, नियमन र अनुगमन गर्ने लगायतका सबै गाउँपालिकाले नै गर्नुपर्ने नीति बनाइरहेको बताइन्। उनले त्यसका लागि गाउँपालिकाको बैठकमा पनि कुरा उठिरहेको जनाइन्।

चुरे गाउँपालिका पनि अबैध रुपमा खोटो संकलन भइरहेका छन्। चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले गाउँपालिकाको पनि खोटो संकलनमा ध्यानाकर्षण भएकोले खोटो संकलनमा अहिले कमी भइरहेको बताए। उनले कुन कुन ठाउँमा खोटो संकलन भइरहेको छ भन्ने जानकारी गाउँपालिकालाई नभएको बताए ।

संरक्षणमुखी वन बनाउने र रोजगार दिने भ्रम फैलाएर मापदण्डविपरीत भइरहेको खोटो संकलन रोक्न सम्बन्धित निकायले ध्यान नदिंदा केही वर्षमा चुरेको अस्तित्व संकटमा पर्ने देखिन्छ। जिल्ला वन कार्यालयले पनि खोटो संकलन, आगलागी र हावाहुरीको कारण चुरेको वन विनास भएको जनाएको छ।

जिल्ला वन अधिकृत पोख्रेलले चुरेको जंगल संरक्षणका लागि लामो समयदेखि भइरहेको खोटो संकलनलाई रोकेर त्यस क्षेत्रका वनलाई रेस्टिङ प्रियडमा राख्नुपर्ने स्थिति आएको बताए। कैलालीको कुल भुभागमध्ये ६४.८३ प्रतिशत जंगलले ढाकिएको छ भने कुल जंगलको ४५ प्रतिशत वन चुरे पहाडमा पर्दछ।

Facebook Comments