किन भत्किन्छ सिक्टाको नहर ?

नेपालगञ्ज–बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको मुल नहर फेरि भत्किएको छ।

धान रोपाइँका लागि आयोजनाले मुल नहरमा ४ क्युबिट मिटर (क्युमेक्स) पानी छोडेको एक सातामै ढकेरीको चंगाई खोला नजिकै मुल नहरको दक्षिणी भाग भत्किएको हो। तर, नहरको क्षमता ५० क्युमेक्स क्षमता भएकाे दाबी गरिँदै अाएकाे छ।

नहर भत्किएपछि रोपाइँको तयारीमा जुटेका किसान मारमा परेका छन्। आयोजनाले ब्यारेजबाटै पानी बन्द गरेर भत्किएको स्थानमा मर्मत गरिरहेको छ। मुल नहर भत्किनुको कारण पत्ता लगाउन आयोजनाले सिनियर डिभिजन इञ्जिनियर प्रकाश कार्कीसहित ७ जना प्राविधिकको टोली खटाएको छ। नहर भत्कनुको कारणबारे अध्ययन भइरहेको सिनियर डिभिजन इञ्जिनियर कार्कीले बताए।

यसअघि १४ असार २०७३ ढकेरीस्थित झिझरी खोला नजिक मुल नहर भत्किएको थियो। त्यति बेला नहर भत्किदा हालका सिँचाइ विभागका महानिर्देशक सरोज पण्डित सिक्टा आयोजनाका प्रमुख थिए। नहर भत्किए पछि सिंचाइ विभागबाट निरीक्षण टोली समेत आएको थियो। तर, नहर किन भत्किएको हो भनेर सार्वजनिक गरिएन।

त्यतिखेर नहर निर्माण भएपनि आयोजनालाई हस्तान्तण गर्न बाँकी रहेकाले मर्मतकाे काम नहर निर्माण कम्पनी ‘आइसिपी–टू’ ठेक्काअन्तर्गत कालिका कन्स्ट्रक्सनले गरेकाे थियाे।

तर, हाल नहर हस्तान्तरण गरेको १८ महिना भइसकेपछि भत्किएकाले निर्माण कम्पनीलाई दोष दिन नमिल्ने कन्स्ट्रक्सनका निर्देशक युवराज कार्कीकाे तर्क छ।  आयोजनाले नहर निर्माणको ठेक्का आह्वान गर्दा राखेका सबै शर्त र मापडण्ड पुरा गरेर नहर निर्माण गरेको उनकाे दाबी छ।

फेरि नहर भत्किएपछि तटीय क्षेत्रका बासिन्दा त्रासमा छन्। नहरको संरचना कमजोर हुँदा ढकेरी, बालापुर, गुरुवागाउँमा नहर पस्न सक्ने जोखिम रहेको स्थानीय बासिन्दा बताउँछन्।

किन पटक–पटक भत्किन्छ सिक्टाको नहर ?
सिक्टाको मुल नहरको १८ किलोमिटरदेखि ३५ किलोमिटर खण्डको बिभिन्न स्थानमा नहर चर्किनुका साथै ठाउँठाउँमा भत्किएको छ। मुल नहरको करीब १७ किलोमिटर क्षेत्रमा घुलनशील माटो (डिसपर्सिभ सोयल) अर्थात् माटोमा बालुवा र नुनको मात्रा धेरै भएको स्थानीय बासिन्दाले बताएका छन्।

धुलनशिल माटो भएका कारण नहरमा पानी चल्न थाले पछि नहरको पानी लिकेज भएर नहर भत्किने गरेको स्थानीय बासिन्दा एवं सामुदाकि वन उपभोक्ता समिति बाँकेका अध्यक्ष डिल्ली गिरीले बताए।

घुलनशील माटो भएको नहर क्षेत्रको अधिकांश भाग जंगल भए पनि करिब ४-५ किलोमिटर क्षेत्रमा गाउँ बस्ती भएका कारण कुनै पनि बेला नहर भत्किएर गाउँ बस्तीमा पसेर धनजनको क्षति हुने जोखिम बढ्दै गएको अध्यक्ष गिरीले बताए।

पटक–पटक सिक्टाको नहर भत्किनुमा नहर निर्माण गर्दा माटो परिक्षण गरी माटोको अवस्था अनुसारको डिजाइन र निर्माण सामाग्री प्रयोग नहुनु मुख्य कारण रहेको वडा नम्बर ९ का अध्यक्ष महावीर वलीले बताए ।

नहर निर्माण गर्दा जमिनको सतहमा नहरको बेस लाइन र दुबैतर्फ १०-१२ फिट अग्लो घुलनशिल माटो फिलिङ गरिएको थियो।

फिलिङ गरिएको माटोलाई कम्प्याक्ट पनि राम्रोसंग नगरी नहरको भित्री भागमा निक्कै पालतो सरिया राखेर करिब ३ इन्चको ढलान गरिएको थियो। नहर निर्माण गर्दा करिब १८ किलोमिटर क्षेत्रमा घुलनशील माटो प्रयोग गरिएको वडा अध्यक्ष वलीले बताए। वली भन्छन्, ‘राष्ट्रिय गौरवको आयोजना भनियो स्थानीय बासिन्दाको कुरा सुनिएन । ठूला ठेकेदारले गुणस्तरहीन घुलनशिल माटो फिलिङ गर्दा पनि आयोजना चुप लागेका कारण यस्तो अवस्था आएको हो।’

नाम मात्रैको अनुगमन
निर्माणाधीन सिक्टा नहरको प्रधानमन्त्री, सिंचाइ मन्त्री, सिंचाइ सचिव, अर्थ मन्त्रालय, राष्ट्रिय सर्तकता केन्द्रबाट पटक–पटक अनुगमन गर्दै आएका छन्। सिंचाइ मन्त्री र सचिव फेरिदा साथ मन्त्री र सचिवले आयोजनाको अनुगमन गर्ने क्रम दोहोरिँदै आएको छ।

नहर अनुगमनका क्रममा सरकारी अधिकारीहरुले नहरको काम छिटो गर्न निर्देशन दिने त्र, स्थानयि बासिन्दाको मागलाई गम्भिरता पूर्वक नलिदा यस्तो अवस्था आएको सिक्टा सिंचाइ आयोजना जल उपभोक्तासमितिका अध्यक्ष शालिकराम डागीले बताए।

सिक्टा निर्माण कार्य सुरु भएको १३ वर्षमा १४ अर्ब ७० करोड खर्च भइसकेको छ। हाल सम्म आयोजनाले करिब ४२ किलोमिटर मुल नहर निर्माण गरिसके पनि शाखा नहर निर्माण नहुँदा बाँकेका किसानले सिँचाइ सुविधा पाउन सकेका छैनन्।

करीब १२ अर्ब ८० करोडको लागतमा २०७० सालको माघसम्म नहरको मुख्य निर्माण कार्य पुरा गर्ने लक्ष्य राखिए पनि निर्माण कार्य लम्बिदा २०७५ असार मसान्तसम्म १४ अर्ब ७० करोड खर्च भइसकेको छ।

लक्ष्य अनुसार काम नहुँदा लागत दोब्बर वृद्धि भइ २५ अर्ब २ करोड पुग्ने अनुमान गरिएको छ, भने आयोजना आर्थिक वर्ष २०७६-०७७ सम्म पुरा हुने लक्ष्य लिइएको छ।

सम्बन्धित समाचार
सिक्टामा १३ वर्षमा १४ अर्ब स्वाहा, निर्माण ५६ प्रतिशत मात्रै

Facebook Comments