विकास र वातावरण एक–अर्काका पर्यायको रूपमा बुझियोस्

आइतवार, साउन १३, २०७५

जब कुनै प्रस्तावित विकास परियोजनाले वातावरणमा पार्नसक्ने प्रतिकूल असरको बारेमा बहस शुरु हुन्छ, त्यसलाई विकास विरोधी गतिविधिको रुपमा चित्रित गर्न थालिन्छ।

वातावरण संरक्षणको विषय उठान गर्नु विकास विरोधी काम हो ? निश्चय पनि होइन, बरु दीर्घकालीन र समावेशी विकासका निम्ति सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु हो।

पछिल्लो समय बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले वातावरणमा पार्नसक्ने प्रतिकूल असरको बारेमा सञ्चारमाध्यम र सामाजिक सञ्चालमा व्यापक चिन्ता र चासो व्यक्त भइरहेको छ। अनि यति बेला नै यो चिन्ता र सरोकारलाई विमानस्थल निर्माण भाँड्ने षड्यन्त्रको रुपमा चित्रित पनि गरिँदैछ।

निश्चय नै विमानस्थल जस्तो ठूलो पूर्वाधार निर्माण अपरिहार्य  छ। त्यसका लागि वनजंगल फडानी गर्नुपर्ने हुनसक्छ। यसले वातावरणमा ठूलो असर गर्दछ, यो पनि वास्तविकता हो।

तर, कुनै पनि पूर्वाधार निर्माण गर्दा त्यसले कम्तिमा जमिन, जैविक विविधता, पर्यावरण, पानीको स्रोत, खनिज, ऊर्जा र वायु र मानवीय बस्तीलाई असर गर्ने गर्दछ। यो असरलाई सकेसम्म न्यूनीकरण गर्नु सरकार र हामी सबैको दायित्व हो। यसको क्षतिपूर्ति कसरी हुन्छ भन्ने विषयमा सोच्न आवश्यक छ।

निजगढ विमानस्थल निर्माणको क्रममा साढे २४ लाख रुख काटिने छन्। यसको क्षतिपूर्ति स्वरुप त्यस आसपासमा ६ करोड विरुवा रोप्नैपर्ने हुन्छ, अनि वनजंगलमा रहेका वन्यजन्तुको संरक्षणमा पनि ध्यान दिनुपर्ने हुन्छ। रुख काट्ने टुंगो लागेको छ, तर रोप्ने टुंगो छैन। यस विषयमा पर्यटन र वन मन्त्रालयबीचमा सहमति पनि भइसकेको छैन। हालै सार्वजनिक खबर अनुसार यो क्षेत्र हात्तीको बासस्थान पनि हो।

भविश्यमा रुख रोपिने छ, भन्ने विषयमा आश्वस्त हुन सकिदैन किनभने विगतका यस्ता धेरै आश्वासन त्यसै खेर गएका छन्। भविष्यमा रोपिने होइन, विमानस्थल निर्माण सकिदा अर्काे स्थानमा विरुवा रोप्ने काम पनि सकिनुपर्दछ।

रुख काट्ने र रोप्ने काम सँगसँगै अगाडि बढाइयोस् र अन्य वातावरणीय पक्षलाई अनुकुल बनाउन ख्याल गरियोस् भन्ने माग र दवाव कुनै पनि हालतमा विकास विरोधी हुनसक्दैन्। त्यसैले अहिले विभिन्न कोणबाट व्यक्त भइरहेका बहसको रुप जे भएपनि सार यही हो। निजगढ विमानस्थलको निर्माणमा पारदर्शिता पनि अपनाइएको छैन। यसको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन सहजै उपलब्ध छैन जसले गर्दा यस विषयमा पर्याप्त जानकारी सहितको बहस हुन सकिरहेको छैन।

विकास रोज्ने कि वातावरण भनेर कहिँकतै भइरहेकाे  बहस आफैंमा त्रुटिपूर्ण छ। हामीलाई विकास पनि चाहिएको छ अनि वातावरण पनि जोगाउन त्यतिकै आवश्यक छ। त्यसैले दुईवटाको बीचमा कसरी सन्तुलन कायम गर्ने भन्ने विषय अहिले हाम्रो मात्र होइन संसारभरीको चुनौति हो।

वातावरणको विषयलाई हल्का रुपमा लिँदा कतिपय मुलुकमा विकासका परियोजनामा नै ढिलाइ भएका थुप्रै उदाहरण छन्। विकासका परियोजना छनोट गर्दा वातावरणमा सकेसम्म कम असर गर्ने क्षेत्रको खोजी हुने गर्दछ, त्यसो हुन नसकेमा वातावरणमा न्यून क्षति हुने उपायको खोजी गरिन्छ।

वातावरणका विषयलाई उठान गर्दा विकासका योजनामा कुनै नकारात्मक असर गदैन ण्बरु यसले हामीलाई सिर्जनात्मक बाटो देखाउने गर्दछ। कुनै विकासका परियोजनाको वातावरणीय पक्षका बारेमा बहस शुरु हुनासाथ विकास नै रोक्ने षड्यन्त्रको रुपमा बुझ्ने मानसिकतालाई त्याग्न अपरिहार्य छ।

हामी एकातिर समावेशी र दीर्घकालीन विकासको कुरा गछौ भने अर्काेतिर वातावरणको सवालमा छलफल नै गर्न चाहदैनाैं यो आफैंमा विरोधाभाष हो। मानव यी वातावरण र प्रकृतिका एक अंश हो। तर यदाकदा हामी यो यथार्थ बिर्सन्छौं।

कतिपय वातावरणीय मुद्दा मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष रुपमा जोडिन पुग्छन् । वातावरण र अर्थतन्त्र एक आपसमा जोडिएका हुन्छन्। वातावरणको पर्याप्त संरक्षण बिना समावेशी एवं दीगो विकास हुनै सक्दैन। विकास र वातावरणलाई हामीले एक अर्काको परिपुरकको रुपमा लिनुपर्छ नकि एकअर्काको सत्रु। यदि वातावरण नै जोगिएन भने त्यो विकासको के अर्थ ?

हामी सबैलाई थाहा छ यतिबेला विश्वभरी नै जलवायु परिवर्तनका असर देखिन थालेका छन्। त्यसबाट नेपाल पनि अछुतो भने छैन। त्यसैले पहिलेभन्दा अहिले वातावरणका विषय अझ पेचिलो बन्दै गएका छन्। त्यसैगरी हामी गुणस्तरीय विकासमा जाने हो भने पनि यस्ता विषयमा पर्याप्त ध्यान दिन आवश्यक छ। आर्थिक विकास र वातावरण धेरै अर्थमा एक–अर्कासँग जोडिएका छन्। अथवा, हाम्रो आर्थिक प्रणाली नै वातावरणसँग जोडिएको छ।

संक्षेपमा भन्दा प्राकृतिक स्रोत नै हाम्रो विकासको मेरुदण्ड हो, त्यसको संरक्षणविना दीर्घकालीन विकास सम्भव छैन। यति बेलाको हाम्रो एउटा गलत बुझाइ के हो भने हामी विकास र वातावरणमध्ये एक रोजिरहेका छाैं। त्यसैले विकास र वातावरणलाई एक–अर्काको पर्यायको रुपमा बुझ्न आवश्यक छ।

Facebook Comments