‘मनमौजी’ महाकाली

पहिलो पटक महाकालीको पानी अञ्जुलीमा लिएको थिएँ, परशुराम धाममा। रंगुन खोलालाई पछ्याउँदै जाँदा डडेल्धुराको यही धामको काखमा पुगेर महाकालीमा सकिन्छ, रंगुन। हिउँ पग्लेर वैशाखमै उर्लिरहेको थियो महाकाली।

पल्लोतिर भारतले किनाराको पहाड फोडेर निकै चौडा सडक बनाउँदैछ, टनकपुरबाट चमेलियासम्मै। अनि बाटो बनाउँदा निस्केको पूरै माटो महाकालीमै मिसिन्छ। हिउँ पग्लेको सङ्लो पानीको त्यो महाकालीको छाल त्यही लेदो मिसिएर कालो भएको थियो, त्यो बेला पनि ।

यसपालि पहिलोपटक महाकालीपारिको ‘नेपाली’ भूमिमा पाइला टेक्दै थिएँ, कञ्चनपुरको महाकाली नगरपालिकामा। त्यो वैशाखको महाकाली अनि यो साउनको महाकालीको पानीमा केही फरक देखेन। बरु, महाकाली अझैँ उर्लिएको थियो, कालो अनि धमिलो पानीका छाल बोकेर। उसैगरी कुर्लिरहेको थियो, उसैगरी दौडिरहेको थियो।

‘पानी’ भित्र मान्छेका कथा खोज्न यसपाली हामी त्यो ठाउँ जाँदै थियौँ, जहाँ आफ्नै भूमि टेक्न पनि भारतीय सुरक्षाकर्मीसँग अनुमति लिनुपर्छ। हामीले पनि देख्यौँ सारदा ब्यारेजको गेट, जहाँ कयौँ नेपाली युवाहरू लामवद्ध थिए।। छेउमा झोला अनि सुटकेसको लाम थियो। भारतीय एसएसबीका सिपाहीहरु कुकुर लिएर झोला र मान्छे सुँघाइरहेका थिए।

चेकजाँचको यो ‘हद’ हरेक दिन नाघिरहन्छ, नेपालीमाथि। हामी गाडीमा थियौँ। ‘नेपाल वातावरण पत्रकार समूह’ हरियो स्टीकरमा लेखिएको यो नाम ती सिपाहीहरूले अक्मक्किएर पढें। सामान्य सोधपुर गरे। क्यामेराको ब्याग खोलेर हेरे गाडीभित्रै अनि हामीलाई ‘चलो…’ भन्ने इशारा गरे।

हामी हिँड्यौँ । छेउमा लाम लागेका नेपाली घरि हाम्रो गाडी अनि घरि आफू र आफ्ना ब्याग सुँघिरहेका कुकुरलाई हेर्दै थिए।
कञ्चनपुरसँग जोडिएको यो शारदा ब्यारेज भारतको बनवासासँग जोडिएको छ। कुनै बेला महाकाली नेपालको मात्रै थियो। १९१० मा महाकालीमा ठूलो बाढी आयो। अनि त्यसले धार परिवर्तन गरेर पूर्वतिर बग्न थाल्यो। त्यसपछि भारततिर कम पानी जान थाल्यो।

त्यो बेला भारत अंग्रेज शासकको हातमा थियो भने नेपालमा राणा शासन। १९२० मा सुगौली सन्धी भएपछि करीब ४ हजार हेक्टर जमीन भारतमा मिसिन पुग्यो। जहाँ ‘शारदा ब्यारेज’ बनाएर अहिले पनि भारतले आधा महाकाली आफ्नै ‘नहर’ बाट बगाएको छ। त्यही पानीले हिँउदमा खेतीबाली गर्दै आएको छ। नेपालतर्फ भने त्यसको १० प्रतिशत पानी पनि हुँदैन। तर, बर्खामा भारतले ब्यारेजको ढोका बन्द गरिदिन्छ अनि नेपाली भूमि डुबानमा पर्छ।

त्यो बेला ‘इष्ट इन्डिया’ कम्पनी र नेपालका शासक चन्द्रसमशेर राणाबीचको सम्झौताले नेपालको भूमि भारतको ‘चोइटो’ बनेर कञ्चनपुरसम्मै जोडियो। महाकालीपारीको केही भाग भने नेपालको नाममा बच्यो। अहिले त्यो ‘महाकाली नगरपालिका’ भएको छ। दोधारा–चाँदनीस्थित महाकाली नदीमा झोलुङ्गे पुल छ तर, पनि महाकाली नगरपालिका (नेपाली भूमि) छिर्ने मुख्य बाटो भनेकै त्यही शारदा ब्यारेज हो।

हामी पनि त्यही भारतको भूमि भएर नेपाली भूिम टेक्दै थियौँ। नेपालको जमीनमा पुल बन्ने प्रक्रियामा छ, त्यसका लागि भर्खर टेण्डर प्रक्रिया सकिएको छ।  पानीभित्र ‘मान्छे’ का कथा खोज्न हामीसँग रेडियो रिपोर्टर सुमित्रा चौधरी थिइन्, क्यामेरामा दीपेन्द्र शाही अनि सुशील श्रेष्ठ जो गाडी हाँकिरहेका थिए। हाम्रो मुख्य काम थियो ‘पानी छलफल’। यो छलफलमा हामी यसपाली महाकालीको कटान, डुबान र बाढीको पीडा भोगिरहेका स्थानीय र जनप्रतिनिधिसँग आमनेसामने बहस गर्दै थियौँ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले हामीलाई महाकाली सन्धीसम्झौता बारे धेरै जानकारी दिए। यूएसएड पानी परियोजनाका महाकाली जलाधार विशेषज्ञ जगदीश भट्टले त्यहाँका समस्याका बारेमा बताएका थिए। महाकाली नेपालका ठूला मध्येको एउटा नदी हो। दार्चुला जिल्लाको कालीपानी भन्ने ठाउँबाट फुटेको मूल महाकाली भएर नेपालको भूमि हुँदै बग्छ । भारतमा पुगेपछि ‘शारदा’ को नामले चिनिने यो नदी एक पवित्र जलाशय हो। र, अन्ततः महाकाली नदी गंगामा समाहित हुन्छ। महाकालीको जीवन त्यहीँसम्मको हो।

महाकाली रिभर बेशिनको कूल १ हजार ५ सय ६४ स्वायर किलोमिटरमध्ये ३२ प्रतिशतमात्रै नेपालभित्र पर्छ । भारतको भूमि हुँदै करिब १ घण्टाको कच्ची बाटो यात्रा गरेर हामी ‘महाकाली नगरपालिका’ पुग्यौं।

अर्काे दिन ‘पानी’ छलफल गर्नु थियो । त्यसका लागि स्थानीयका भोगाई खोज्दै थियौँ । सुमित्राजी रेडियोका निम्ति तिनै आवाज खोज्दै थिइन् । महाकाली नगरपालिकाका वडा नम्बर १० तर्फ जाँदै थियौँ । त्यहाँ स्थानीय गैरसरकारी संस्था नीड्सकी सामाजिक परिचारिका सीता बुढा मगरले हामीलाई सघाइन्। पश्चिमबाट बग्दै महाकालीमा मिसिन आइपुगेको जोगबुढा नदीमा टाँगिएको एउटा झोलुंगे पुलमाथि हुँदै हामी वडा नम्बर १० मा पुग्यौँ । जोगबुढा कुनै बेला एउटा सानो कुलो थियो । महाकालीको साथ पाएर आजभोलि यो निकै फैलिएको छ।

‘कुतीयाकभर’… । नामै आश्चर्यलाग्दो । कुतीया अर्थात् हिन्दी भाषामा कुकुर । अनि कभर ? यो नाम दिमागभरि घुमिरहेको थियो । यो भारतीय सिमानाको दशगजाको बस्ती हो । केहीबेर स्थानीयसँगको कुराकानीपछि मैले एकजना पाका महिलालाई सोधेँ ‘कुतियाकभर भनेको ? कुकुरलाई समाउने भनेको हो ?’ एकछिन त्यहाँ हाँसो भयो। अनि ती पाका महिला मायादेवी सुनारले ‘कुतीयाकभर’को इतिहास खोतलिन्।

अंग्रेजको पालमा एक जना अंग्रेज बडेहाकिमको एउटा प्रिय कुकुर मर्यो । उनले त्यहीँ ठाउँमा त्यो कुकुरलाई गाडिदिए। त्यो ठाउँ ‘कुतीयाकब्र’ अर्थात् ‘कुतीया’ भनेको कुकुर र ‘कब्र’ भनेको चिहान। पछि त्यहाँ वस्ती बस्न थाल्यो । विस्तारै कुतीयाकब्र ‘कुतीयाकभर’ भयो। दशगजा पारि भारतको बस्ती पनि कुतीयाकभर नै हो ।

२०७२ सालमा छेउका महाकाली र जोगबुढा उर्लिएर ‘कुतीयाकभर’ पूरै डुब्यो। सबै पानीमा मिल्यो, कैयौ विस्थापित भए कतिपय घरबारबिहीन। यी मायादेवी पनि केही दिनसम्म जंगलमै रहिन्। आफन्तहरु कोही सम्पर्कमा थिएनन्। खानेकुरा केही थिएन्। कैयौ दिन यिनी कन्दमुल खाएर बाँचिन्।

सिमानाको १८ नम्बर पिलरदेखि २१ नम्बर पिलरसम्म फैलिएको यही दशगजाको नेपाली बस्ती हो कुतीयाकभर । केही हिन्दी अनि, केही बंगाली मिसिएको नेपाली भाषा बाहेक नेपालीपन झल्किने अरु केही छैन यहाँ । नेपालीका आँगनमै भारतीय एसएसबीका जवान तैनाथ हुन्छन् ।

नेपाली सशस्त्र सीमा प्रहरी बल भने १० किलोमिटर टाढा छ, सिमानाभन्दा । यो बस्ती पुरै भारतनिर्भर छ, अघिल्लो वर्षमात्रै त्यहाँ (जोगबुढा नदी) मा झोलुगें बनाइयो अनि यो नेपाली भूमिसँग जोडिन पायो। नत्र यो छुट्टै एउटा टापुजस्तै हो। नेपाली बस्तीसँग भारतको नौजलिया बजार जोडिएको छ । नेपाली बस्ती यही बजारमाथि निर्भर छ। नौजलिया भारतको उत्तरप्रदेश पिलिभील जिल्लामा पर्छ।

एकातिर जोगबुढा नदी छ, अर्काेतिर विशाल महाकाली। तर, टापुको यो दशगजा पानीविहीन छ। यहाँसम्मकी यो बस्तीका मानिसले भारतीय बस्तीको ट्यूबेलबाट पानी किनेर आफ्नो भूमिमा तरकारी खेती गरेका छन् । स्थानीय टेकबहादुर सुनारका अनुसार उनीहरुले भारतीयको जेनेरेटरमा डिजेल भरेर पनि प्रतिघण्टा ५० रुपैयाँ तिरेर पानी ल्याउँछन्।

‘नदीनालाका बीचमा थुनिएका छौँ तर, हाम्रा खेतबारी पानी नपाएर, जमीन चिरा परेका छन्’ टेकबहादुर भन्छन् ‘जब बस्ती अनि खेतबारीमा पानी पस्छ, अनि केही बच्दैन, सबै बगाएर लैजान्छ, सब डुबेर सकिन्छ ।’ एकातिर महाकाली छिल्लिरहेको हुन्छ, अर्काेतिर जोगबुढाको चकचक बढिरहन्छ । राज्यको उपेक्षाले थिचिएका कुतीयाकभरका मनहरुलाई अझैँ जिस्काए झैँ लाग्छ । तर, पनि सहनुको बिकल्प छैन । छोडेर कहाँ जानु ?

जब महाकाली र जोगबुढा तन्नेरी भएर कुर्लिन थाल्छन् अनि यो बस्तीको भोक दिन हराउँछ । २०६५ सालको बाढीले गाउँका ९ जनाको ज्यान लग्यो । कैयौको घरबारी बगायो । २०२३ सालदेखि यही बस्तीमा बस्दै आएका सुनारका अनुसार कुनै बेला यहाँ २ सय ५० घर थिए । तर, यही डुबानका कारण सबै विस्थापित भए । अहिले यो बस्तीमा ३६ घरपरिवार मात्र छन्। बाँकी जमीन आधा जोगबुढासँग छ, धेरै महाकालीसँग।

कुनै बेलाको बस्ती अहिले महाकाली बीचको टापु बनेको छ, त्यसलाई सुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आफ्नो सीमा रेखाभित्र हालिसकेको छ । बाह्रसिंगाले चिनिने यो निकुञ्ज पनि यो बस्तीका लागि आतंक बनेको छ । हात्ती, गैंडा अनि बाघले स्थानीयलाई दिनुसम्मको दुःख दिन्छन्।

एकातिर नदीको पीडा, अर्काेतिर जंगली जनावरले दिने दुःख । पीडाहरु धेरै छन्, यो बस्तीसँग, वर्षाैदेखिका । अनि अर्काेतिर राज्यको उपेक्षा र भारतीयको हेपाहा प्रवृत्ति। एसएसबीका जवान बेलाबेला नेपाली बस्तीमा थर्काउन आउँछन्, ‘दशगजा छोड’ भन्दै । हुन पनि यो बस्तीका मानिस हिँड्ने बाटो नै भारतीय जमीन हो । ‘हामी त बिना बर्दीका सिपाही हौँ, उताका एसएसबी जस्तै हामी यहाँ नबसेको भए, जोगबुढामात्रै होइन, आधा चाँदनी उनीहरुकै हुन्थ्यो’ डम्बरबहादुर सुनार भन्दै थिए ‘हामीलाई त नेपालीले पनि इन्डियन नै ठान्छन्, बाहिरबाट आउने नेपालीहरु हिन्दीमै सोध्छन् भैया, ये रास्ता कहाँ जाते है…।’

यहाँ गतिलो तटबन्ध छैन । दशकौँ अघि जाइकाले गरेको २२ किलोमीटर तटबन्ध बस्तीभन्दा केही किलोमिटरमाथि नै सकिएको छ । भारतले बस्तीदेखि नै बलियो तटबन्ध गरेर आफ्नो जमिन सुरक्षित गरेको छ।  यो नेपालको यो ‘कुतीयाकभर’ डुब्दा भारततिरको ‘कुतीयाकभर’ पनि डुब्छ।

‘तर, त्यहाँ हाम्रोजस्तो नोक्सान हुन्न,’ डम्बर भन्छन्, ‘त्यहाँ चाँडै सरकार पुग्छ, पनडुबीहरु छन्, सबै सरसामान छन्, सबै बच्छन्, हाम्रोतिर त सके आफैँ बाँच्ने हो, नत्र मर्ने नै कोही आउँदैन।’ कतिबेला महाकाली पस्छ अनि कति बेला बस्तीमा जोगबुढाले बितण्डा मच्चाउँछ ? आकाश मडारिँदा यी बस्तीका सबै मन कुँडिन्छन्, उसैगरी । ‘आफ्नै आँगनमा डुङ्गा चलाएर घरभित्र छिर्नुपर्छ, यो मनमौजी नदीलाई कसले छेक्ने ?,’ डम्बर भन्छन् ।

नगरपालिकाको थोरै सहयोगमा स्थानीय मिलेर जोगबुढाको केही तटमा बाँस रोपेर जैविक तटबन्ध गरेका छन्। त्यसले केही जमीन बचाएको छ । यहाँ न बिजुली छ, न खानेपानी। वर्षामा धुमिलो पानी ‘सङ्लो’ बनाएर पिउनुपर्ने बाध्यता छ। जोगबुढा नदीभरि माछा मार्ने भारतीयहरु छ्यापछ्याप्ती हुन्छन् ।

हामीले झोलुङ्गे पुलबाट देखिरहेका थियौँ। पूरै नदी ढाकिनेगरी ‘महाजाल’ बिच्छाएर ‘बंगाली’हरु माछा कुरिरहेका थिए। कोही डुङ्गा चढेर माछा छोप्दै थिए । तर, नेपालीहरु माछा मार्दैनन् । ‘हामीले माछा मार्न जानेनौँ, पहिला त गाविस हुँदा बंगालीलाई नै नेपाली नदीको माछा मार्ने ठेक्का हुन्थ्यो । उनीहरुले हाम्रै नदीमा मारेको माछा, हामीले नै किनेर खानुपर्छ,’ डम्बरले सुनाए।

दिनभरि त्यही बस्तीका कथा बटुलेर हामी साँझतिर पुरानो ७ नम्बर बजार (बाबानाथ) बजार पुग्यौँ । यो नेपाली भूमि नै हो । तर, चिया, खाजा खाइवरी ‘भारु’ मा पैसा तिरेर हामी वासस्थानतिर लाग्यौँ ।

अर्काेदिन हामीले महाकाली नगरपालिका कार्यालय छेउको भानु क्याम्पसको एउटा हलमा ‘पानी छलफल’ गर्यौँ । ३ घण्टासम्मको छलफल पश्चात १० नम्बर वडाको संरक्षण गर्न योजना बनाउने प्रतिवद्धता नगरपालिकाले गर्यो । त्योसँगै कटान र डुबान नियन्त्रणका लागि ७ वटा बुँदामा हामीले स्थानीयलाई साक्षी राखेर जनप्रतिनिधिहरुलाई प्रतिवद्धता गरायौँ।

साँझ पनि हामी त्यही महाकालीको तिरैतिर फर्कियौँ । नगरपालिकाको मिसानामा ब्यारिएर राखेर बसेको एसएसबीको कडा चेकजाँच पछि सारदा ब्यारेजमा हिँडेवाफत भारु ५० तिरेर हामीले महाकाली पार गर्यौँ। बाँधले थुनिएको महाकाली उसैगरी कुर्लिरहेको थियो, धमिला छाल बोकेर। महाकालीका ती ‘मनमौजी’ छाल केहीबेरमै ओझेल परे।

तस्बिर : दीपेन्द्र शाही

Facebook Comments