फोहोरले धानेको जिन्दगी

‘फोहोरले नै मेरो परिवार धानेको छ, मलाई खाते भनुन, अथवा तल्लो स्तरको गाली गरुन मलाई केही मतलब छैन । मलाई त यही फोहोर नै मन पर्छ’ यस्तो कसैले भन्यो भने तपाई उसलाई फरक नजरले त हेर्नुहुन्न ? तर, यो वास्तविकता हो। हामीले फोहोर भनेर फालेको केही सामाग्री संकलन गरी पुनः प्रयाेग गरेरर कसैले आफ्नो दैनिक जीवन मात्र चलाएका मात्र छैनन, राम्रो आम्दानी पनि गरिरहेका छन्।

हामी फोहोर भन्ने बित्तिकै नाक खुम्चाउँछौँ अनि छि भन्ने शब्द हाम्रो मुखबाट निस्कनसक्छ। हामीे दैनिक काम सम्पादन गर्दा विभिन्न फोहोरहरू उत्पादन गरिरहेका हुन्छौँ। अनि त्यो फोहोरलाई पोको पारेर फोहोर उठाउने गाडीमा पठाइदिन्छौँ । तर, त्यही फोहोरबाट कसैले आफ्नो आर्थिक अवस्था उकासिरहेका छन्।

लेखक

काठमाडौँबाट २० किलोमिटर टाढा रहेको सिसडोलका केही स्थानीयको जीवन यही फोहोरबाटै चलिरहेको छ। अनि यही फोहोरबाटै मासिक ५० देखि ६० हजार सम्म कमाइ हुन्छ उनीहरूको । हामीले फालेका फोहोरबाट नै यसरी कमाइ गर्ने उनीहरूलाई समाज भने अलिक फरक नजरले हेर्छ । काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको सिसडोलको ल्याण्डफिल साइटमा फालिएको फोहोरबाट कबाडीमा बेच्न मिल्ने सामान उठाउने उनीहरुलाई कसैले खातेको संज्ञा पनि दिने गर्दछन् ।

केही दिन पहिले म मेरो टिमसँगै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या हुनको कारण बुझ्न फोहोर विसर्जन गरिँदै आएको नुवाकोटको ककनी गाउँपालिका २ स्थित सिसडोलको ल्याण्डफिल साइट पुगेको थिएँ । त्यहाँ पुग्नुभन्दा एक किलोमिटर वरसम्मै बाटोका कारण अलपत्र परेर बसेका फोहोर बोकेका गाडीहरूको लाम थियो । गाडीबाट निस्केको दुर्गन्ध खेप्दै हामी ल्याण्डफिल साइट पुग्यौँ, त्यहाँ त झनै बसिसाध्य नै थिएन। तैपनि माक्स लगाउँदै हामी त्यहाँको रिपोर्टिङ गर्न थाल्यौँ। रिपोर्टिङको क्रममा मेरो आँखा त्यहाँ रहेको फोहोर छान्दै गरेको एउटा समूहमा पर्यो । हामीले फालेका फोहोरलाई छान्दै छुट्याउँदै जम्मा गरिरहेका थिए उनीहरू । थोत्रा थोत्रा कपडा, खुट्टामा च्यातिन लागेको बुट, अनि नांगो हात । उनीहरू यसैमा रमाइरहेका थिए ।

सिसडोलमा पुनःप्रयोग गर्नहुने फोहोर संकलन गर्दै मजदुर । तस्वीरहरू : अमिष रेग्मी

‘जति खिचे पनि केही हुनेवाला छैन् सर, यहाँको स्थिति यस्तै हो यतिका वर्षसम्म त त्यतिकै अव्यवस्थित तरिकाले छाडेको छ । अब तपाईहरूले खिचेर पनि केही हुने होइन,’ त्यहाँ फोहोर टिप्दै गरेकी एक महिलाले मुस्कुराउँदै भनिन् । मलाई उनीसँग केही कुरा गर्न मन लाग्यो ।

त्यही फोहोरबाटै चलेको उनको जिन्दगी वास्तवमा निकै नै दुःख लाग्दो रहेछ। आफ्नो परिचय नखुलाउने शर्तमा उनले आफूहरूले फोहोरबाटै मासिक ५० देखि ६० हजार कमाउने गरेको बताइन् । ‘के गर्ने सर जग्गा जमिन खासै छैन्, परिवार पनि चलाउनै पर्यो, पहिला दुई छाक टार्न पनि धौ धौ थियो तर अहिले यो फोहोरबाटै पाँच दिनमा १० हजार कमाउँछु । मेरो लागि त यो फोहोर नै जिन्दगी हो ।’ आफ्नो बाध्यता बताउँदै उनले भनिन्, ‘अरुले फालेको फोहोर छानेर बेच्ने हाम्रो दैनिकी नै हो, तपाईहरू काम नलाग्ने भनेर फाल्नुहुन्छ हामी त्यसैलाई छानेर फेरि तपाईहरू कै शहरमा पठाउछौँ।’

यसरी हामीले फोहोर भनेर फालेका बस्तुबाटै उनीहरूले राम्रो आम्दानी गरिरहेका छन् । अनि छानेको फोहोर बेच्न पनि कतै जानै पर्दैन कबाडीवालाहरू पाँच–पाँच दिनमा त्यही पुग्छन् फोहोर लिन । दुधको प्याकेट, स्टिल, सिलभर, फलाम, आदि छान्दै बेच्छन् उनीहरू । अझ कुनै दिन भाग्यले झनै साथ दिन्छ फोहोरमा सुन तथा पैसा पनि भेटिन्छ ।

उनीसँग कुरा सकेर हामी सिसडोलको दीर्घकालीन विकल्पको रुपमा हेरिएको बञ्चरे डाँडातर्फ प्रस्थान गर्यौ । सडकबाट जानलाई निकै नै हिड्नुपर्ने अनि फेरि अघिको दुर्गन्धतिर नै फर्कन पर्ने भएकाले हामी गोरेटोबाटो हुँदै जाने निर्णय गर्दै गोरेटो बाटोबाटै हिड्यौँ। सिसडोलमा रहेको ल्याण्डफिल साइटको कारण के कस्ता समस्या परेका छन् भन्ने बुझ्न भनेर बाटैमा रहेको एउटा घरमा रोकियौँ। संयोग हुनुपर्छ त्यहीबेलामा पानी पनि पर्यो त्यसैले अलिक बेर रोकिनु पर्ने नै भयो । त्यही क्रममा पानीबाट जोगिन तलतिरबाट आउँदै गरेकी एकजना अधबैँशै महिलासँग कुराकानी भयो । उनले पनि सिसडोलको फोहोरबाट मोहोर कमाउँदै आएकी रहेकी रहिछन् ।

उनलाई हामीले सिसडोलमा फोहोर फाल्नाले कस्तो असर परिरहेको छ भन्ने प्रश्न गर्दा उनले आफूलाई त फाइदै फाइदा भएको बताइन् । अरुले फालेको फोहोरबाट आफूले पनि प्रत्येक पाँच दिनमा १० हजार कमाउने गरेको बताइन उनले । उनले पनि आफ्नो परिचय दिन मानिनन्, अझ उनको अगाडि क्यामेरा देखेर मेरो फोटो नखिच्नु है भन्दै अनुरोध गरिन् । उनी आफ्नो गाउँमा अरुले आफूलाई खाते भन्ने गरेको, फोहोरी, फोहोर टिप्ने मान्छे जस्ता उपनाम दिएकाले बाहिरकाले पनि यस्तै नहोस भन्ने चाहन्थिन् । ‘यहाँ त हामीलाई खाते भन्छन् बाहिरकाले त कमसेकम त्यसो नभनुन्, मलाई काम कुनै पनि ठूलो सानो लाग्दैन, मैले यही कामबाट मेरो परिवार धानिरहेको छु भने त्यो नै मेरो लागि ठूलो काम भयो।’ आफूलाई अन्यन्त्र जाँदा अरुले हेर्ने दृष्टिकोणमा फरक नआओस भन्ने मनसाय उनको थियो ।

हामी विभिन्न संघ संस्थामा काम गरिरहेका हुन्छौ, विभिन्न स्थानमा धेरै ठूला ठूला गफ छाँटिरहेका हुन्छौँ तर सिसडोलमा रहेका यी फोहोरबाट मोहोर कमाउनेहरूको सोचाई मननीय छ। हामी आफ्नो गाउँ ठाउँ अनि शहरलाई फोहोर बनाइरहेका हुन्छौँ । यदि हामी आफैँले पनि प्रयोग गरिएको बस्तुलाई फोहोर भनेर त्यतिकै नफाली छानेर कुहिने चिजबाट मल बनाउने अनि नकुहिने बस्तुलाई अवस्था हेरेर कबाडीमा बेच्ने हो भने वातावरण र मानिस दुवैलाई निकै नै फाइदा हुन सक्छ । तर हामी सफा सुग्घर मान्छे कहाँ फोहोर उठाएर बस्ने ? कस्ले फोहोर छानेर बस्ने ? हामीले फोहोरलाई स्रोतमा नै व्यवस्थापन गरेमा अहिले देखिएको फोहोरको समस्या समाधान गर्न सहज हुन्छ।

Facebook Comments