वनमन्त्री भन्छन्–सामुदायिक वन समृद्धिको प्रतिक, पत्रकारिता पुरस्कार मियाँ र भण्डारीलाई प्रदान

शुक्रबार, साउन २५, २०७५

काठमाडौं–वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सामुदायिक वन समृद्धिको प्रतिक भएकाले संरक्षणलाई अझ तीव्रता दिनुपर्ने बताएका छन्।

पुरस्कार ग्रहण पश्चात सामुहिक तस्वीर।

सामुदायिक वन राष्ट्रिय दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सामुदायिक वनले समाज र राष्ट्रको समृद्धिका लागि योगदान पुर्याउनुपर्ने बताएका हुन्।

वन मन्त्रालयका सचिव विश्वनाथ ओलीले समय अनुसार सामुदायिक वन परिवर्तन हुनुपर्ने बताए । उनले समय अनुसार नीति, नियम पनि परिवर्तन हुँदै जाने बताए।

वन विभागका महानिर्देशक डा. रामप्रसाद लम्सालले सामुदायिक वनबाटै नेपालको पहिचान अन्र्तराष्ट्रिय स्तरमा पु¥याउन सकिएको बताए। वनबाट उद्यमको विकास गरी रोजगारीको सिर्जन गर्न सकिने पनि उनले उल्लेख गरे।

‘सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान’ भन्ने नाराका साथ सामुदायिक वन राष्ट्रिय दिवस शुक्रबार मनाइएको हो।

दिवसको अवसरमा वन संरक्षणमा योगदान पुर्याएबापत विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ। गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट तानसेन नगरपालिका –९ पाल्पाको अंधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूह पुरस्कृत भएको छ।

सो समूहले प्रथम पुरस्कार सहित १ लाख नगद प्राप्त गरेको हो। सो पुरस्कार अन्तर्गतको द्वीतिय पुरस्कार अर्घाखाँचीको सितगङ्गा नगरपालिका १३ को धिरीखोला सामुदायिक वन उपभोक्ता समूहले पाएको छ । सो पुरस्कार राशी ७५ हजार छ।

यस्तै ५० हजारको तृतीय पुरस्कार कपिलवस्तुको वुद्धभूमि नगरपालिका १ को विरपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले पाउँदा सान्त्वना पुरस्कार मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका २ को हरियाली सामुदायिक वन उपभोक्ता समूह र नवलपरासी जिल्लाको देवचुली नगरपालिका १६ को धुसेरी सामुदायिक वन पभोक्ता समूहले पाएका छन् । दुबै पुरस्कारको राशी २५–२५ हजार छ।

कबुलियती वन राष्ट्रिय पुरस्कार पाँचथर को मिल्काजुङ गाउँपालिका १ को ठाडोनागी कबुलियती वन समूहले पाएको छ। ५६ वटा वनको समूह ठाडानागीले पनि १ लाख नै पाएको छ।

कबुलियती वनतर्फ द्वीतिय पुरस्कार वौदिकाली गाउँपालिका ४ नवलपरासीको सितलपोखरी कुवुलियती वन समूहले पाएको छ। उक्त पुरस्कार राशी ७५ हजार छ। ५० हजार राशीको तृतीय पुरस्कार प्युठानको हार्वुङ्गदीप कबुलियती वन समूहले पाएको छ।

यस्तै निजी वन राष्ट्रिय पुरस्कारतर्फको पहिलो पुरस्कारबाट गौरादह नगरपालिका ४ झापाका दुगा प्रसाद प्रसाईले ७५ हजार नगद प्राप्त गरे। ५० हजार राशीकाे दोस्रो पुरस्कार कैलाली टीकापुर नगरपालिका १ का मुमुन्द पाण्डेले पाएका छन् भने ३० हजार राशीकाे तेस्रो पुरस्कार इलाम सूर्योदय नगरपालिका ६ का रघुनाथ तिम्सिनाले पाए।

सान्त्वना पुरस्कार मोरङ विराटनगर महानगरपालिका ४ का अंशु-युयुत्सु वञ्जारा र खोटाङ रुपाकोट मझुवगडी नगरपालिका २ का सीताराम राईले पाए। उनीहरूलार्इ १५–१५ हजार नगद प्रदान गरियाे।

यस्तै साझेदारी वन राष्ट्रिय पुरस्कारबाट कपिलबस्तु तिरौलाकोटको तिलौराकोट साझेदारी वन उपभोक्ता समूह पुरस्कृत भएकाे छ। पुरकास्कार राशी ५५ हजार ५ सय ५५ रुपैयाँ छ।

यसैगरी, सामुदायिक वन पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका अब्दुल्लाह मियाँ र गोरखापत्र दैनिक धनकुटाकी कोकिला भण्डारी पुरस्कृत भएका छन्। दुबैले २५–२५ हजार नगद पाए। सबै पुरस्कार मन्त्री बस्नेतले हस्तान्तरण गरेका हुन्।

Facebook Comments