कृषि माटोको अम्लियपना झनझन बढ्दै, यसरी कायम गर्न सकिन्छ उर्वराशक्ति

काठमाडौं– नेपालमा कृषियोग्य जमीनको माटोको अम्लियपना बढ्दै गएको छ।

माटो व्यवस्थापन निर्देशनालयले विभिन्न प्रयोगशालामा परीक्षण, माटो परीक्षण शिविर र उर्वराशक्ति नक्साको आधारमा नेपालको कृषियोग्य माटोमा अम्लियपना बढ्दै गएको निस्कर्ष निकालेको हो।

माटोमा अम्लिपना बढ्दै जान थालेपछि माटोको उर्वराशक्ति दिन प्रतिदिन ह्रास हुँदै गएको वरिष्ठ माटो विज्ञ डा. जनार्दन खड्काले बताए। ‘जसको प्रत्यक्ष असर बाली र बोटविरुवाको खाद्यतत्वको उपलब्धतामा परेको छ,’ निर्देशनालयका सूचना अधिकारी समेत रहेका खड्काले भने।

उनका अनुसार माटोमा पीएच मान ७ बाट घट्दै ० सम्म पुग्दा अम्लियपना बढ्दै जान्छ। साधारणतया पीएच मान ५ दशमलव ५ देखि ७ दशमलव ५ सम्म रहेको माटो कृषिका लागि उपयुक्त मानिन्छ। तर, नेपालको माटोमा पीएच मान घट्दै गएको छ, भने अम्लियपना बढ्दै गएको तथ्यांकले देखाउँछ।

माटोमा रहेको हाइड्रोजनको मात्रा नाप्ने मापलाई पीएच भनिन्छ। माटोको प्रतिक्रिया अर्थात् माटोकोे अम्लियपना, क्षारिय वा तटस्थ छ भनेर पत्ता लगाउन पीएच मापन गरी थाहा पाउन सकिन्छ।

पीएच मानको नाप सीमा ० देखि १४ मानसम्म हुन्छ । पीएच मान ७ लाई तटस्थ भनिन्छ। माटो व्यवस्थापन निर्देशनालय र मातहतका प्रयोगशालामा आर्थिक वर्ष २०६९–०७० मा गरिएको परीक्षणमा १३ दशमलव ३३ प्रतिशत माटो अम्लिय, ६५ दशमलव ७७ प्रतिशत माटो हल्का अम्लिय, १६ दशमलव ४४ प्रतिशत तटस्थ रहेको थियो।

आर्थिक वर्ष २०७०/७१ मा ५३ प्रतिशत माटो अम्लिय रहँदा ३३ दशमलव ५१ प्रतिशत तटस्थ पाइएको थियो। यसैगरी, आर्थिक वर्ष २०७३/०७४ मा माटो परीक्षण गर्दा ६० प्रतिशत माटो अम्लिय रहेको पाइएको तथ्यांक छ।

तत्काल बढी उत्पादन लिने र उत्पादन बढाउने लोभमा खाद्यन्न बालीमा अत्यधिक मात्रामा रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोमा अम्लियपना बढ्दै गएकोे खड्काको भनाइ छ ।

‘उत्पादन बढाउन माटोमा अम्लियपन, क्षारीयपन, नाइट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थ उपयुक्त मात्रामा हुनुपर्छ । तर, विगतका वर्षमाभन्दा हाल माटोमा अम्लिय बढी देखिएको छ,’ उनले भने, ‘माटोमा युरिया र डिएपी मलको प्रयोग बढी भएको छ। प्राङ्गारिक मलको प्रयोग घट्दै जाँदा माटोमा अम्लिय बढ्दै गएको हो ।’

विषेश गरेर तराईका जिल्लामा प्राङ्गारिक मलको प्रयोग एकदमै न्यून र रासायनिक मलको प्रयोग बढी भैरहेकोे उनी बताउँछन्। ‘माटोमा देखिएको अम्लियपना अहिलेको मुख्य समस्या हो। यसले गर्दा खाद्य उत्पादनमा असर गर्छ,’ उनले भने, ‘माटोमा अम्लियपना बढ्दा बोटविरुवाले आफूलाई चाहिने खाद्यपदार्थ लिन सक्दैनन्। र, बोटविरुवाको वृद्धिविकासमा अवरोध पुग्छ ।’

खड्काका अनुुसार बोटविरुवाको आवश्यकता अनुरुपको मलको प्रयोग नगर्नुका साथै बढी उत्पादन दिने बाली-प्रजाति लगाउने तर, आवश्यक मात्रामा मलखादको आपूर्ति नगर्ने प्रवृत्तिका कारण माटोमा अम्लियपना बढ्दै गएको हो। यसैगरी, सघन बाली प्रणाली अनुरुप मलखादको व्यवस्थापन नगर्नु, गाईवस्तु कम पाल्नु, सन्तुलित मलको प्रयोगमा कमी, वन विनाश– जंगलमा आगो लगाउने, जंगल मास्ने कारणले पनि माटोमा अम्लियपाना बढेर उर्वराशक्ति घट्दै गएको उनको भनाइ छ।

अब के गर्ने ?
खड्का बाली लगाउँदा प्राङ्गारिक मलको प्रयोगलाई प्राथमिकता दिएर कृषि चुनको प्रयोग गरेमा माटोको अम्लियपना घटाएर उर्वराशक्ति बढाउन सकिने बताउँछन्। ‘किसानले माटोको परीक्षण गराएर आवश्यकता अनुसार कृषि चुनको प्रयोग गर्नुपर्छ,’ उनले भने।

उनका अनुसार कृषि चुनको प्रयोगले माटोमा सुक्ष्मजैविक क्रियाकलापसँगै वायुमण्डलीय नाइट्रोजन स्थिरिकरण बढ्छ । यसैगरी, बोटविरुवालाई आवश्यक खाद्य तत्व क्याल्सियम र म्याग्नेसियम माटोमा थपिने, आल्मुनियम म्याग्निज फलाम आदिको विषाक्तपना घट्नुको साथै फस्फोरसको उपलब्धता पनि बढ्ने भएकाले चुनको प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।

Facebook Comments