बालगोपालेश्वरको पुनर्निर्माण ‘ग्रन्थकुट’ कि ‘गुजम्ब’ शैलीमा ?

काठमाडौं–पुरातत्व विभागले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर जुद्धशमशेरले जीर्णाेद्वार गरेअनुरूपकै ‘गुजम्ब’ शैलीमा पुनर्निर्माण गरिरहेका बेला फेरि विरोध भएको छ।

भूकम्प पश्चातकाे रानीपाेखरी। बीचमा पुनर्निर्माणकाे क्रममा रहेकाे बालगाेपालेश्वर मन्दिर। तस्विर : अमिष रेग्मी।

यसअघि रानीपोखरी आधुनिक शैलीमा कंक्रिटको प्रयोग गरी पुनर्निर्माण थालिएकोमा व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिका अन्ततः पछि हटेको थियो।

तर, विज्ञ सम्मिलित अध्ययन समितिको प्रतिवेदनलाई अस्वीकार गरेको पुरातत्व विभागले बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणलाई ‘ग्रन्थकुट’ अर्थात् प्रताप मल्लको पालामा निर्माण भए बमोजिम नगरेपछि सम्पदाप्रेमीहरूले विरोध जनाएका हुन्।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा गठीत अध्ययन समितिले रानीपोखरी ‘प्रताप मल्लकालीन शैली’ र २ सय ५० वर्ष अघिको बालगोपालेश्वर मन्दिर ‘ग्रन्थकुट’ शैलीमा पुनर्निर्माण गर्न सुझावसहितको प्रतिवेदन ७ माघ २०७४ मा बुझाएको थियो।

प्रतिवेदनमा पुरातत्व विभागका स्ट्रक्चरल इन्जिनियर पुरूषोत्तम डंगोल, डिभिजन इन्जिनियर सम्पत घिमिरे र विभागकै प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले ‘मन्दिर पुनर्निर्माण ‘ग्रन्थकुट’ मा गर्न नसकिने भन्दै हस्ताक्षर गरेका थिएनन्।

हाल मन्दिरको पुनर्निर्माण भइरहेका बेला सम्पदाप्रेमीहरूले बिहीबार पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका छन्। ध्यानाकर्षणपत्र बुझाउँदै सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले भने, ‘सम्पदा हाम्रा धरोहर हुन्। आधुनिकताका नाममा नास्न पाइँदैन।’ काठमाडौं महानगरपालिका र पुरातत्व विभागले नै गठन गरेको विज्ञ सम्मिलित समितिको सुझावलाई लत्याउनु सम्पदामाथिको प्रहार भएको श्रेष्ठले बताए।

विभागका महानिर्देशक दाहाल रानीपोखरीको चित्र र चारैतर्फका ढोकाका ठेलो समावेश गरेर ‘ग्रन्थकुट’ भन्दै जुद्धशमशेरकालीन सम्पदा मास्न नमिल्ने तर्क गर्छन्। ‘यो विषयमा हाम्रो पहिलेदेखि नै असहमति हो, त्यहि भएर विभागका प्रतिनिधिले प्रतिवेदनमा हस्ताक्षर गर्नुभएको थिएन,’ ध्यानाकर्षण पत्र बुझाउन पुरातत्व पुगेका सम्पदाप्रेमीहरूसँग उनले भने।

पुरातत्वका डिभिजन इन्जिनियर सम्पत घिमिरे पनि परिवर्तनलाई आत्मसाथ गर्न सक्नुपर्ने बताउँछन्। ‘मल्लकालीन स्वरूपमै जाऔं भनेर पुनर्निर्माण गर्न सकिँदैन,’ उनले भने, ‘जुद्धशमशेरले जीर्णाेद्वार गरेको शैली नै अहिले सम्पदा बनेको छ, अब व्याक हुन मिल्दैन ।’

डिभिजन इन्जिनियर घिमिरे सम्पदा संरक्षणको सरकारी निकायले नै थालेको पुनर्निर्माणमा विवाद नरहेपनि ‘विज्ञ समितिले विवादमा मुछेको’ आरोप लगाए। ‘मन्दिर पुनर्निर्माणमा कुनै विवाद थिएन । रानीपोखरी पुनर्निर्माणमा मात्र विवाद थियो,’ उनले भने।

स्रोतका अनुसार मन्दिरको पुनर्निर्माण ‘ग्रन्थकुट’ शैलीमा गर्दा हालसम्म पुनर्निमाण भएको संंरचना भत्काउनुपर्ने र अहिलेको डेढ करोड लागत खेर जाने पुरातत्वले बुझेको छ। त्यहि भएर पनि पुरातत्व पछि हट्न चाहदैन।

यसअघि अध्ययन प्रतिवेदनको सुझावका आधारमा काठमाडमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केजी केभीसँगको ६ करोड २९ लाखको ठेक्का रद्द गर्दा २ करोड ३० लाख खेर गएको थियो।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललार्इ ध्यानाकर्षणपत्र बुझाउँदै सम्पदाप्रेमीहरू। तस्बिर : अमिष रेग्मी।

के छ अध्ययन प्रतिवेदनमा ?
विज्ञ सम्मिलित अध्ययन समितिले बुझाएको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा निर्माण भएको बालगोपालेश्वर मन्दिरको खम्बामाथि अलिकति भिरालो परेको छाना थियो । जसलाई ‘ग्रन्थकुट’ भनिन्छ ।

‘ग्रन्थकुट’ शैलीको मन्दिरमा एक वा चारवटा प्रवेशद्वार हुन्छन्। हरेक प्रवेशद्वार अगाडि दुईवटा खम्बा हुन्छ । तर, १९९० को भूकम्पपछि जुद्धशमशेरले मन्दिर जर्णिाेद्वार गर्दा मन्दिरमा प्रदक्षिणा (वरिपरि घुम्ने) पथ थपिदिए।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाउँदै अध्ययन समितिका संयोजक कार्कीले भनेका थिए, ‘बालगोपालेश्वर मन्दिर जुन शैलीमा निर्माण भएको हो, सोही शैलीमा पुनर्निर्माण नगरे बास्तुकला हराउन सक्छ।’

१२ वैशाख २०७२ को भूकम्पमा क्षतिग्रस्त बनेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण महानगरपालिकाले थालेको थियो। तर, मन्दिर पुनर्निर्माणमा कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि पुरातत्व विभागले एक करोड ५० लाख लागतमा आफैं पुनर्निर्माण थाल्यो। पुनर्निर्माणको काम असारभित्र सक्ने भनिए पनि फेरि तीन महिना म्याद थप गरिएको छ।

‘रानीपोखरी पनि मल्लकालीन शैलीमा बनाऊ’
यसैबीच, रानीपोखरीको पुनर्निर्माण पनि विज्ञ सम्लिित अध्ययन टोलीको प्रतिवेदन अनुसार गर्न सम्पदाप्रेमीहरूले आग्रह गरेका छन्।

बिहीबार पुरातत्व विभागका महानिर्देशक दाहाललाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले रानीपोखरीको पुनर्निर्माण यथाशीघ्र मौलिक स्वरुप गर्न माग गरेका हुन्।

समितिले ७ माघमा बुझाएको प्रतिवेदनमा ‘रानीपोखरी मल्लकालीन शैलीमा पुनर्निर्माण गर्न र पुनर्निर्माणका नाममा पोखरीवरपरको कंक्रिटको पर्खाल हटाउन’ सुझाएको थियो।

त्यस्तै, रानीपोखरीको जीर्णोद्धार गर्न प्रताप मल्लकालीन गुणस्तरका इँटाको निर्माण व्यवस्थापन गर्न, रानीपोखरीको समग्र जीर्णोद्धार गर्ने डिजाइन बनाउन, पोखरीको पानी स्थायित्वका लागि हाइड्रोलोजिस्ट को सेवा उपलब्ध गराउन, पुरातात्विक उत्खननबाट पोखरीमा परम्परागत रूपमा सञ्चालन गरिएका पानीका स्रोतको अनुसन्धान गर्न, पोखरीमा पानी प्रवेश गराउने इनलेट र आउटलेटको खोजी गर्न सुझाएको थियो।

तत्कालीन राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा रानीपोखरी बनाएका थिए।

सम्बन्धित समाचार
रानीपोखरी पुनर्निर्माण : भएन पर्यटनमन्त्रीको निर्णय कार्यान्वयन
जेष्ठ १५ बाट पनि सुरू नहुने भयो रानीपोखरी पुनर्निर्माण

Facebook Comments