केरलाको बाढीपहिरोबाट नेपालले के सिक्न सक्छ ? टिप्पणी

काठमाडौं– भारतको केरला राज्यमा केही साता यता आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ७७ पुगेको छ।

केरलामा अाएकाे बाढी,। तस्बिर स्राेत : एनडी टीभि।

बाढीपहिरोको प्रकोप रोकिने संकेत नदेखिएपछि राज्य सरकारले केन्द्र सरकारसँग उद्धारका लागि थप सेना र हेलिकोप्टरको माग गरेको छ। एकातिर बाढीको प्रकोप बढिरहेको छ, भने जताततै पहिरो गइरहेको छ। राजमार्गहरुमा ठूला–ठूला पहिरो गइरहेका छन्।

इतिहासमा नै पहिलोपटक केरला राज्य सरकारले ३८ मध्येन ३५ वटा चेक ड्याम खोलेको छ। त्यहाँको विमानस्थल केही समयको लागि बन्द गरिएको छ भने १४ वटा जिल्लाका बासिन्दालाई ‘अलर्ट’ रहन आग्रह गरिएको छ।

रेलवे सेवा पूरै बन्द छ भने धेरै ठाउँमा यातायात सेवा पनि बन्द गरिएको छ। त्यसैगरी शैक्षिक संस्थाहरु बन्द गरिएका छन् भने विश्व विद्यालय र कलेजले निर्धारित परीक्षाको मिति सारेका छन्। अगष्ट महिनाको शुरुवातदेखि नै केरलामा निरन्तर रुपमा पानी परिरहेको छ।

यतिवेला भारतभरी नै बहस भइरहेको छ, यो बाढीपहिरो मानवले सिर्जना गरेको हो कि, प्राकृतिक ? विकाससँगै वातावरणीय पक्षलाई ध्यान नदिएकै कारण यो समस्या आइपरेको बलियो मत छ।

पछिल्ला वर्षमा केरला राज्यमा निरन्तर रुपमा बाढीपहिरोको समस्या देखिएको छ। विशेषत केरलाका झण्डै ५० वटा नदीमा चेक ड्याम बनाइएको छ। धेरै चेक ड्यामहरु गैरकानूनी रहेको बताइएको छ। गैरकानूनी रुपमा बनाइएकाको एकीन तथ्यांक भारत सरकारसँग छैन। यसरी बनाइएको चेक ड्यामले पानीको प्रवाहमा अवरोध सिर्जना गरिरहेको छ जसले गर्दा बाढीको प्रकोप बढिरहेको छ।

पर्यावरणीय हिसावले एकदमै संवेदनशील क्षेत्रको विनासलाई बाढीपहिरोको मुख्य कारण मानिएको छ। वातावरणविदहरूले केरलामा पहिरो जानुका केही कारणहरु पत्ता लगाएका छन्। जथाभावी खनिज पदार्थको उत्खनन गर्नु, बाटो बनाउन जथाभावी डोजर लगाउनु, जमिनको प्रयोगमा ध्यान नदिनु र ठूला–ठूला संरचनाको निर्माणलाई मुख्य कारण मानिएको छ।

सन् २०११ मा एक सरकारी समितिले सरकारलाई यी विषयमा ध्यान दिनको लागि आग्रह गरेको थियो। तर, केरला सरकारले सो प्रतिवेदनमा कुनै पनि ध्यान दिएन र आफ्नै ढंगले अगाडि बढ्यो।

केरलाको बाढीपहिरोबाट नेपालले पनि धेरै पाठन सिक्न सक्छ। विकासको नाममा वातावरणीय पक्षहरुलाई ध्यान नदिँदा केरलाले निकै ठूलो समस्या भोगिरहेको छ। हामीले समयमा नै सावधानी नपनाउने हो भने हामीले पनि त्यस्तै नियति भोग्नु पर्नेमा कुनै शंका छैन।

यतिबेला हामी विकासको नाममा गाउँमा जथाभावी डोजर चलाइरहेका छाैं। हामीले कुनै प्राविधिक र इन्जिनियरिङ अध्ययन गरेका छैनौं। जसका कारण कतिपय जिल्लामा पहिरोको प्रकोप बढेका खबर आइरहेका छन्। केरलामा यतिवेला विभिन्न राजमार्गका ठूला–ठूला पहिरा खसेका छन्।

विकासका नाममा हामीले निम्त्याएको विनास त काठमाडौं उपत्यकामा हाम्रो अगाडि नै छ। चाहे त्यो काठमाडौंको धोविखोला आसपासको बस्ती डुवेको विषय होस् अथवा केही समय अगाडि भक्तपुर डुवानामा परेको विषय। हामीले खोलाको अतिक्रमण गरेका छौं। र, खोलाको व्यवस्थापनमा ध्यान दिएका छैनौं। जसकारण यी समस्या उत्पन्न भएको हो।

त्यसैले यतिबेलाको केरलाको बाढीपहिराको हाम्रो लागि एउटा ठूलो पाठ हुनसक्छ। हामीले विकासका परियोजना कार्यान्वयन गर्दा प्राकृतिक प्रकोपको सम्भावित स्थान पहिल्याउन आवश्यक छ। वातावरणीय हिसावले संवेदनशील स्थानमा नक्सा पहिल्याउन मात्र होइन, त्यसलाई व्यवहारमा नै कार्यान्वयन गर्न आवश्यक छ। प्राकृतिक प्रकोप हुनसक्ने सम्भावित ठाउँको बारेमा स्थानीय स्तरमा नै गहन अनुसन्धानको आवश्यकता छ।

Facebook Comments