‘भर्जिन’ कर्णालीको कथा

‘ह्वीच इज द लङ्गेस्ट रिभर अफ नेपाल ?’ कक्षा २ मा पढ्ने छोराले मेरो ‘आइ क्यू’ टेस्ट गर्दै थियो। गाडीको सीसाभित्रैबाट औंलाले सिकाउँदै भने, ‘ऊ यही कर्णाली नदी।’ थपडी बजाउँदै ऊ चिच्यायो ‘यू आर पास्…।’

एउटै खम्बामा अडिएको चिसापानीको पुलमुनि कर्णाली बगिरहेको थियो। कर्णालीको कञ्चन कलकल आवाज हाम्रो गाडीभित्र मधुर भयो।

गत वैशाखमा हामी तल्लो कर्णाली जलाधारमा थियौँ। ‘सिंचाइ र पानीको स्रोत व्यवस्थापनमा महिला नेतृत्व’ विषयमा छलफल गर्न हामी जलाधार तटीय किनारको भजनी बजारलाई ‘आधार शिविर’ बनाएका थियौँ।

आफूले केही चिज चिन्ने र जान्ने भएदेखि नै छोरा ‘प्रकृति प्रेमी’ देखिएको छ। नदी, खोला, पहाड, जंगल अनि जनावर बस् यत्ति भए उसलाई पुग्छ। नयाँ नयाँ ठाउँ घुम्नु उसको पहिलो रुची हो।

भजनीमा बसेर डल्फिन अनि जलचर संरक्षण लगभग जीवन बिताइसकेका भोजराज श्रेष्ठ ‘गुलेली बाजे’ एउटा ठूलो सहरमाछासहित बजारमै भेटिए। छोराले उनीसँग फोटो खिच्यो। बाजेले डल्फिनको कुरा गरेपछि फेरि छोराको जिद्धि मच्चियो ‘डल्फिनसँग फोटो खिच्ने’ बाजेले आफैं ‘पछि डल्फिन आएपछि बोलाउँछु’ भनेर फकाएपछि मात्रै ऊ चुप लाग्यो। त्यही पनि बाजेकै घर पुगेर डल्फिनका फोटासँग आफूले पनि फोटो खिचेर फर्कियो।

कर्णालीको त्यही सिरानमा छोरालाई लिएर जाने धोको पूरा भएको छैन तर, पनि बाचा गरेको छु–एकदिन उसलाई लिएर पक्कै पुग्नेछु।  यसपालि भने हामी मध्य कर्णाली जलाधार क्षेत्रको यात्रामा थियौँ, गन्तव्य थियो दैलेखको राकम कर्णाली। कर्णालीको तीरैतिर दिनभरको यात्रामा छोरालाई खुब मीस् गरेँ।

‘पानी छलफल’ सँगै हाम्रो टीममा टेलिभिजन कार्यक्रमको टीम पनि थियो । पानीसँग जोडिएका मान्छेका कथा दृश्यमा कैद गर्न हामीसँग यसपाली चन्द्र माझी अनि दीपेन्द्र शाही थिए। त्यसलाई कथा बुन्न इन्दिरा ढकाल पनि थिइन्। पानी छलफलका लागि समूहमा थपिएकी अमृता केसी पनि सँगै थिइन्। अनि रेडियोमा आवाज भर्न सिर्जना बुढाथोकी पनि साथै थिइन्। र, हामी सबैलाई ‘डाइरेक्सन’ का लागि चन्द्रकान्त पण्डित पनि साथमै थिए।

मध्य कर्णालीमा ‘माछा जोगाउने’ उपाय खोज्न राकम हिँडेका थियौँ। ‘कर्णाली’ राजमार्ग। यो राजमार्गलाई धेरैले ‘मृत्युमार्ग’ पनि भन्छन्। कर्णालीमा विकासको ढोका खोल्न यो राजमार्गले जति भूमिका खेल्यो त्यत्तिकै मान्छेका ज्यान पनि लियो। हामी राकमसम्मको मात्रै यात्रामा थियौँ, ठाउँठाउँमा पहिरो त्यसमाथि साँघुरो बाटो। अनि छेउमा उर्लिरहेको कर्णाली। ठाउँठाउँमा अझैँ पनि निर्माणाधीन पुल तमाम देखिए। कैयौँ पुल बनि नसक्दै अलपत्र परेका छन्।

यी सब छिचोल्दै सुशील श्रेष्ठ गाडी हाँकिरहेका थिए। दीपेन्द्र अनि म पछाडि थियौँ। गाडीको रफ्तार अनि बाटो छेलिँदा कहिले उफारिन्थ्यौँ, कहिले पछारिन्थ्यांै। दिनभरिको यात्रा यस्तै भइरह्यो। राकमदेखि अझैँ अगाडि बढ्दा कर्णाली राजमार्गको असली रुपमा बल्ल देखिन्थ्यो तर, हामी त्यहीँसम्म मात्रै थियौँ।

टेलिभिजनको टीमलाई केही वरको रामाघाट बजार छोडेर हामी राकमका लागि अगाडि बढ्यौँ। यो त्यही ठाउँ हो, जहाँ रामाघाट खोला बेगले बग्दै कर्णालीको अधरमा ठोक्किन्छ र, त्यसैमा समाहित भएर कर्णालीकै पानीमा हराउँछ। यही कर्णाली अनि रामाघाट खोलामा माछा मारेर जीवन चलाइरहेका वादी समुदायको कथा खोज्दै थिइन् इन्दिरा।

हामी अँध्यारो भएपछि कर्णाली छेउको रामक बजार पुग्यौँ। सरकारले बनाउन थालेको १० शहरमध्येको एउटा राकम कर्णाली पनि हो। त्यसैको पहिलो किस्तामा बाटाभरि सोलार बत्ती छन्। बजार उज्यालो थियो। बोहरा होटेलमा खाना खाइवरी, कर्णालीको मधुर सुसेलीमा मीठो निद्रा पर्यो। कर्णालीको तीरैमा गाउँकै एउटा सरकारी विद्यालयका प्रधानाध्यापकले चलाएको यो होटल, होटलजस्तो लागेन । घरमै बसेजस्तो अनुभूति भयो।

बिहान उठ्दा आधा कर्णाली सेतो घुम्टोले ढाकिएको थियो। नदीको सुसेली मधुर थियो। अछाम जिल्ला जोड्ने कर्णालीमाथिको झोलुङ्गे पुलले पनि सेतो घुम्टोले ढाकिएको थियो । सूर्यका किरण तन्नेरी हुँदै थिए, कर्णालीमाथि चकचक गरिरहेको कुहिरो विस्तारै हराउन थाल्यो। केही बेरमा पानी पर्यो।

सिमसिमाइरहेको त्यो पानी झरी बनेर दुईदिनसम्म उस्तै भयो। केही सङ्लिन थालेको कर्णालीमा कयौँ खहरेहरुका बैंश घोलिए होलान्, अनि कर्णाली फेरि बाक्लो भयो, धमिलो पानी दौडिन थाल्यो बेगले। त्यसका सुसेलीहरू चिच्याहट बन्दै थिए। झरीसँगै कैयौँ खहरेहरु छिल्लिदै छिल्लिदैँ मौन कर्णालीमा ठोक्किन आइरहन्छन्, वर्षाभरि ।

कहीँ पुग्न निकै हतारिएजस्तो कर्णाली, धमिला छाल लिएर बेगमा दौडिरहेको थियो। त्यसलाई मैले क्यामेरामा स्थिर पार्दै थिएँ, हल्लिरहेको झोलुगें पुलमाथिबाट। तल्लो किनारमा बजारका केटाकेटी खेल्दै थिए। सायद त्यो कबड्डी खेल थियो। चम्किरहेको ओसिलो बलौटे किनारामा उनीहरु ‘वीच कबड्डी’ खेलेजस्तै लाग्यो।

पुलको माथिल्लो किनारामा केही बुढाबुढीहरु गिट्टीको रासमाथि बसेर ससाना ढुङ्गा फुटाइरहेका थिए। उनीहरुलाई मैले क्यामेरामा कैद गर्दा नगर्दै सिर्जना रेकर्डर लिएर दौडिहालिन्, उनीहरुका जीवनकथा ‘रेकर्ड’ गर्न। ती त्यही किनाराका वादी समुदाय थिए। जो पहिला माछा मार्थे, त्यसैबाट उनीहरुको जीवन धानिन्थ्यो। कर्णाली पहिलाको कर्णाली रहेन, पहिलाको जस्तै माछा रहेनन्। विस्तारै नयाँ पिँढीहरु बौँरिन थाले। उनीहरुले पुर्खाको काम मन पराएनन्। जवान भएका केटाहरु सबै ‘इन्डियन लाउरे’ हुन थाले । आजकल उनीहरुको वस्तीमा युवाहरु देख्नै मुश्किल छ।

बरु घरभरि एक हुल बच्चाबच्चीमात्रै हुन्छन्, उनै नौ जवान छोराबुहारीका नाशाहरु मात्रै । छोराहरु बिहे गर्छन्, केही थान बच्चा जन्माउँछन् अनि श्रीमति लगेर ‘लाउरे’ हुन्छन्। ती बच्चाबच्चीको जिम्मेवारी उनै बुढाुबढीले सम्हाल्नुपर्छ। छोराहरु कमाएको पैसा पनि पठाउँदैनन्। एकाध वर्षको दशैंमा टिका थाप्नसम्म आइपुग्छन्।

केही दिनसम्म वस्तीमा ‘दशै’ अडिन्छ। अनि फेरि उस्तै । ती बालबच्चालाई पाल्न अनि आफ्नो गुजारा चलाउनका लागि बुढाबुढी कर्णाली तिरमा ढुङ्गा फोड्छन् र, गिट्टी बनाउँछन् । महिनौँसम्म हातका ठेला फुटाएर टुक्रा पारेका गिट्टीहरु ट्याक्टर आएर उठाउँछन् ४, ५ हजारमा। त्यसका लागि कैयौँ महिनासम्म उनीहरु ढुङ्गा फुटाइरहन्छन् । गिट्टीको थुप्रोमाथि जिन्दगी ठोकिरहेका बुढा बादीहरुको कथा यही हो।

बुढा पाकाहरुबाट सुन्यौँ, कर्णालीलाई कसैले पुज्दैनन् । माथि सिरानदेखि तल पुछारसम्म यो नदी किनारामा कहीँ पनि मन्दिर वा कुनै धार्मिक स्थल छैनन्, सम्भवतः। तिब्बतको ‘राक्षस’ तालबाट बग्दै आएको कर्णालीलाई ‘राक्षस’ नदी पनि भन्छन्। तिब्बतको मानसरोबर धाममा दुई ताल छन्, एउटा राक्षस ताल अनि अर्काे मानसरोबर ताल। संसारभरका हिन्दूहरु त्यहीँ मानसरोवरको यात्रामा जीवनमा एकपटक पुग्ने धोको राख्छन् ।

कतिपय त पुग्छन् पनि तर, त्यहीँको अर्काे एउटा ताललाई कसैले वास्ता गर्दैनन्, त्यो राक्षस ताल नै हो । यो तालमा कुनै जीवजन्तुसमेत छैनन्। यही तालबाट रसाएको हो, कर्णाली।

‘कर्णाली’ बनेर नेपाली भूमिमा बग्ने यो नदी भारत पुगेर ‘घांघरा’ बन्छ। भारतकै भूमिमा पनि ‘शारदा’ (नेपालको महाकाली), गंगा नदी हुँदै पश्चिम बङ्गालको ‘गंगा सागर’ मा समाहित हुन्छ । समूद्र सतहदेखि ३ हजार ९ सय ६२ मीटर उचाइँमा रहेको तिब्बतको ‘माप्चोचोङ्गो’ नामको हिमनदीबाट निस्केर कर्णाली मानसरोबर ताल छेउको राकोस सरोबर (राक्षस ताल) लाई लिएर नेपाल प्रवेश गर्छ।

अनि हुम्ला कर्णाली, मुगु कर्णाली, ठूलीभेरी, सानी भेरी, तीला, बुढीगंगा अनि पश्चिम सेती जस्ता धेरै साना ठूला नदी खोलाहरुको साथ पाएर कर्णालीले आफूलाई अझैँ फैलाउँछ। तिब्बतदेखिको कर्णालीको यात्रा अन्ततः पश्चिम बंगालको ‘गंगा’ सागरसम्म पुगेर सकिन्छ। बस्, यसको जीन्दगीको यात्रा यत्ति हो।

देशकै ‘भर्जिन’ नदी भनेर चिनिने कर्णालीमा अहिलेसम्म कुनै पनि ठूला बाँध अनि हाइड्रोपावर छैनन् । हिमालय श्रृङ्खला, पहाडका खोंचहरु अनि तराईको समथर भूभागलाई निर्वाध ‘चुम्दै’ छुनमुन गर्ने कर्णालीको ‘भर्जिनिटी’ माथि भने अब धेरै आँखा तिरमिराइसकेका छन्।

मध्य अधरमा ‘अपर कर्णाली हाइड्रो पावर’ ले कर्णालीलाई छोप्नै लागेको छ। धेरै सस्तो लागतमा बन्न थालेको यो आयोजनालाई ‘भारतलाई सुम्पेको’ भन्दै यो आयोजना उत्तिकै विवादमा पनि छ। करीब १ खर्ब ४० अर्ब रुपैयाँको लागतमा बन्ने यो माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि करीब साढे २ किलोमिटरमात्रै सुरुङ खनेर अछामतिर भएर बग्ने त्यही कर्णाली नदीमा खसालिने छ। त्यसैबाट करीब ९ सय मेगावाट विद्युत उत्पादन गर्न भारतीय कम्पनी जीएमआरले काम शुरु गरिसकेको छ।

विश्व बैंकले गरेको एक अध्ययन अनुसार ४ सय मेगावाट विद्युत उत्पादनका लागि यो आयोजनाको लागत जम्मा ५० अर्ब रुपैयाँमात्रै हो। त्यसैले पनि यो विश्वकै आकर्षक जलविद्युत परियोजना मानिएको छ। तर, नेपालले १ सय ४ खर्ब रुपैयाँमा भारतको निजी कम्पनीसँग सम्झौता गर्यो।

यसवाफत नेपालले परियोजनामा २७ प्रतिशित शेयर पाउने छ भने १२ प्रतिशत विद्युत। यो बाहेक नेपालले कर्णालीमा अरु कुनै पनि विकास निर्माणका कामका लागि त्यही भारतीय कम्पनीसँग अनुमति लिनुपर्ने छ। आफ्नै देशको पानी प्रयोग गर्न कुनै विदेशी कम्पनीको अनुमति लिनुपर्ने ? नदीको प्रवाहको आधारमा विद्युत निकाल्ने परियोजनाका आधारमा भारतसँग सहमति भएको छ।

विज्ञहरुका अनुसार यही परियोजना नजिकैबाट करीब ४ हजार १ सय ८० मेगावाट विद्युत सजिलै निकाल्न सकिन्छ। तर, उक्त सर्भेमा अब नेपालले काम गर्न पाउने छैन । किनकि, ‘रन अफ रिभर’को सम्झौताअनुसार भारतले त्यहाँ बाँध बनाइसकेपछि अब कर्णाली नदीको बहाव छेक्नेगरी अरु काम गर्न पनि त्यही कम्पनीको अनुमति लिनुपर्छ।

२५ वर्षपछि मात्रै चालु हालतमा उक्त निजी कम्पनीले नेपाललाई आयोजना हस्तान्तरण गर्ने भन्ने सम्झौता छ । मतलब हो, भारतले कर्णालीको पानी निर्वाध उपभोग गर्नेछ। अनि आफ्नो छुट्टै ट्रान्समिटर लाइन विस्तार गरेर, कम्पनीले भारतमा लगेर बिजुली बेच्नेछ। ‘अपर कर्णाली’को भित्री कथा यही हो।

आयोजनस्थल दैलेखको आठबीस नगरपालिका १ साततलाको कर्णाली छेउमा केही भवन छन्, कम्पनीका। सुरक्षाका लागि सशस्त्र प्रहरीको एक टुकुडी त्यहाँ राखिएको छ। केही मिटरको सुरुङ खनिएको छ। एकाध घरपरिवारलाई मुआब्जा दिइएको छ। यो बाहेक आयोजनाका काम खासै अघि बढ्न सकेको छैन।

यो परियोजना भारतलाई नदिन विप्लव माओवादीले देशव्यापी अभियान नै चलायो। आयोजना वरिपरिका भित्तामा विरोधका नारा पनि पोतिएका छन्। स्थानीयले पनि आयोजनालाई विश्वास गर्दैनन्। आयोजनाले ४८ हेक्टर निजी तथा २ सय ४७ हेक्टर सार्जजनिक जमीन ओगट्नेछ ।

ती मध्ये एक हुन् बलबहादुर शाहीले पनि मुआब्जा पाएका छैनन्। ‘खै दिने दिने त भन्छ तर, कामै भएको छैन, कर्मचारीहरुमात्रै छन् काम केही छैन,’ उनी भन्दै थिए, ‘यही बीचमा आयोजनाले जंगल काट्न लागेको थियो, हामीले दिएनौँ।’

आयोजनाले त्यस क्षेत्रमा ३३ सैयाको अस्पताल, पुल तथा प्राविधिक शिक्षालय समेत बनाइदिने सहमति स्थानीयसँग भएको थियो। तर, ४ वर्ष अघि आयोजनाले काटेका ५६ वटा ठूलाठूला रुख त्यसै कुहिन थालेका छन्। स्थानीयसँगको सहमति पनि त्यसैगरी कुहिनै लागेका छन्, काम केही भएको छैन। अहिले फेरि रुख काट्ने योजना बनाएको आयोजनालाई स्थानीयले रोकेका छन्। त्यो बेला एउटा रुख काटे बराबर दुई वटा बिरुवा रोप्ने सहमति भएको थियो।

तर, ती रुख कहाँ रोपिए, त्यो पनि पत्तो छैन। स्थानीयलाई चिन्ता यो छ कि, पहिला मुआब्जा नदिएरै रुख काटिए भने आफूले जिन्दगी कसरी चलाउने? ‘घाँस दाउरा, नै हाम्रो जिन्दगी हो, यी रुख त काट्लान् तर, हामीलाई मुआब्जा नदिए हामी कसरी बाँच्ने ? हाम्रा लालाबाला (बालबच्चा, गाइबस्तु) कसरी पाल्ने?’ हामीसँग कुरा गर्दा बलबहादुर भैंसी दुहुँदै थिए।

अपर कर्णाली आयोजना स्थल छोडेर हामी राकम पुगिसकेका थियौँ। त्यहाँ हामीले पानी छलफल गर्दै थियौँ । टेलिभीजन रिपोर्टका लागि साथी इन्दिरा ढकाल अनि दीपेन्द्र शाही ‘पानीभित्र’का पात्रलाई पछ्याइरहेका थिए । ‘कर्णालीमा माछा अनि अन्य जलचर’ को जीवनचक्र कसरी बचाइराख्ने ?

भन्ने विषयमा हामीले कर्णाली नदी किनाराका माझी समुदाय, स्थानीय तह अनि अन्य सरकारी निकायलाई आमने सामने राखेर छलफल गर्यौँ। र, जलचर, जलाधार संरक्षणका निम्ति केही बुँदामा प्रतिवद्धतासमेत गरायौँ।

मध्य साउनको लगातार झरीले ठाउँठाउँमा खहरे छिल्लिरहेका थिए । अग्ला पहाडका खोंचबाट निस्केकाे तुँवालोका डल्लामाथि बादलमा गएर बिलाउँदै थिए। कर्णाली राजमार्गमथि ठाउँठाउँमा खसिरहेका पहिरा छिचोल्दै हामी फर्कियौँ । ‘भर्जिनिटी’ लुटिनै लागेको कर्णाली धमिलो पानीको बेगले उसैगरी सुसाइरहेको थियो।

Facebook Comments