विकासका नाममा नासिँदै कैलालीको वन

धनगढी– पछिल्लो समयमा विकासका नाममा कैलालीको वनजंगल मासिँदै जान थालेको छ।

कैलालीको वन क्षेत्र अतिक्रमणको चपेटामा रहेकोमा विकासका नाममा बर्सेनि रुख कटान हुन थालपछि झन चुनौती थपिएको हो। ६ वर्षअघिको सर्वेक्षणअनुसार कैलालीको वन क्षेत्र दुई लाख पाँच हजार ९ सय ३९ हेक्टर रहेकोमा हाल घटेर एक लाख ९४ हजार हेक्टरमा सीमित भएको छ।

वन अनुसन्धान तथा सर्वेक्षण विभागले हालै मात्र सार्वजनिक गरेको मुलुकका सात सय ५३ वटै स्थानीय तहको वनको अवस्थाको तथ्यांक अनुसार १३ स्थानीय तह रहेको कैलालीमा एक लाख ९४ तीन सय ९ हेक्टरमा वनजंगल छ।

कैलालीमा निर्माणाधिन राष्ट्रिय गौरबको रानीजमरा कुलरिया सिंचाइ आयोजना, खुटिया दिपायल द्रुतमार्ग (फाष्ट ट्रयाक), सेती लोकमार्ग निर्माणको नाममा पनि रुख कटान गरिएको छ। सरकारले घोषणा गरेको पूर्वपश्चिम रेलमार्ग निर्माणले गति लिएपछि यसको असर वनमा पर्ने देखिएको छ।

रानीजमरा कुलरिया सिंचाइ आयोजना निर्माणका क्रममा अहिलेसम्म १३ हजार तीन सय ४८ रूख काटिएका छन्। पहिलो चरणमा ६ हजार सात सय २८, दोस्रो चरणमा तीन हजार ९ सय ५४ र तेस्रो चरणमा दुई हजार ६ सय ६६ गरी १३ हजार तीन सय ४८ रूख काटिएका छन्। एउटा राष्ट्रिय र आठ वटा सामुदायिक वन गरी नौ वटा प्लटका ती रूख काटिएको वनको सव डिभिजन कार्यालय बल्चौरले जानकारी दिएको छ।

रानीजमरा सिंचाइ आयोजना कर्णाली नदीबाट शुरु हुन्छ। जुन आयोजनाबाट टीकापुर क्षेत्रको खेतबारी सिंचाइ गर्ने योजना छ। तर, रानीजमरा आयोजनाको पानी कान्द्रा नदीमा मिसाउने योजना समेत रहेको आयोजनामा कार्यरत इन्जिनियर कृष्णबहादुर विष्टले जानकारी दिए।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको आयोजनाको पानी कान्द्रा नदीको घोडाघोडी नगरपालिका वडा नम्बर १० खण्डमा मिसाउँदा नहर निर्माण गर्नुपर्ने छ। जुन नहर व्यक्तिको खेतबारी मात्र होइन जंगल भएर बनाउनुपर्ने छ। उक्त आयोजना बनाउँदा फेरि ठूलो संख्यामा रूख कटान हुने अनुमान गरिएको छ।

यसैगरी, प्रदेश ७ को अस्थायी राजधानी धनगढी हुँदै तत्कालीन सुदूरपश्चिाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल जोड्ने खुटिया दिपायल फाष्ट ट्रयाक पनि निर्माणाधीन अवस्थामा छ। पूर्वपश्चिम राजमार्गको खुटिया खण्डबाट उत्तरपट्टि सडक विस्तारको क्रममा पनि रूख काट्नुपर्ने छ, भने सेती लोकमार्ग निर्माणले तराईको भावर र चुरे क्षेत्रको वनजंगलका रुख कटान गर्नुपर्ने छ।

कैलालीमा निर्माणाधीन हुलाकी मार्गले ४८ दशमलव ८१ हेक्टर वन क्षेत्र ओगटेको एक हजार ४० रूख कटान गर्नुपर्ने रहेको डिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत भीम ढकालले बताए।

उनका अनुसार सेती लोकमार्ग निर्माण गर्दा ९ हजार ६ सय ८६ रूख काट्नुपर्ने छ, भने खुटिया–दिपायल फाष्ट ट्रयाक बनाउने क्रममा ३५ दशमलव ७३ हेक्टर वन क्षेत्रका सात सय ७९ रूख काट्नुपर्नेछ।

विकास निर्माणका योजना गर्दा कार्ययोजनामा एक रुख काटेबापत २५ वटा बिरुवा रोप्नुपर्ने व्यवस्था छ। तर, उक्त कार्ययोजनाको पालना नहुने गरेको वन संरक्षणकर्मी बताउँदै आएका छन्।

कैलालीमा व्यक्ति विशेष, मुक्त कमैया, सुकुम्बासी, बाढीपीडित, संस्थागत गरी २५ हजार पाँच सय हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा रहेको वनको तथ्यांक छ।

यसरी, वनजंगलको अतिक्रमणका कारण वसन्ता जैविकमार्ग पनि खतरामा पर्न थालेको ढकाल बताउँछन्।
प्रदेश ७ मा सबैभन्दा बढी वनक्षेत्र कैलाली र कञ्चनपुर रहेपनि अतिक्रमण बढ्दो छ। कैलालीमा वैज्ञानिक वन व्यवस्थापनको काम पनि भइरहेको छ। जस अन्तर्गत रूख कटान हुनेछन्।

 

Facebook Comments