रूख काट्ने होइन, ‘ट्री–ट्रान्सप्लान्टर’ बाट सार्ने

गत वर्ष इटहरीमा सडक पार्किङको व्यवस्थापनका लागि भन्दै पुराना रूख काटिए। त्यस अघि पनि विराटनगर–इटहरी–धरानको ६ लेन सडक विस्तारका लागि हजारौँ रुखहरू ढालिए।

लेखक विराट अनुपम।

यसरी राज्यले विकासका नाममा रूख फडानी गर्दा मोरङको सुन्दरदुलारी ४ को गोकुलम रिसोर्टका सञ्चालक राधेश्याम पौडेलले भने रूख सार्दै थिए। त्यो पनि कोसी कटानको बालुवा भएको ‘भरुभूमि’ जस्तै क्षेत्रमा । रूख उखेलेर बालुवामा सार्न पौडेलले ट्रक र डोजर अनि ट्रयाक्टर मात्रै प्रयोग गरे। रूख खनेर ट्रकमा हाले। ट्रकमा हालेर ल्याइएका रूख खाल्डो खनेर डोजरले उठाएर रोपे।

बाह्य मुलुकको जस्तो ‘ट्री ट्रान्सप्लान्टर’ मेसिन यहाँ नभएकाले ट्रक, टिपरको सहायता लिनु पर्ने बाध्यता रहेको उनको भनाइ छ।

नेपालमा स्तरीय ठेकेदार हुनका लागि अत्यावश्यक मेसिनमा ट्रयाक्टरसँगै टिपर, ट्रक अनि डोजर, लोडर र ग्रिन्डर आदि आवश्यक पर्छ। ठिक यसैगरी, अब सरकारले मापदण्ड बनाएर ठेकेदारले बालुवा बोक्न टिपर, भुइँ थिच्न लोडर र बाटो बनाउन डोजर आवश्यक भएजस्तै रुख सर्न ट्री ट्रान्सप्लान्टर अनिवार्य गर्नुपर्ने देखिन्छ।

‘हरियो वन नेपालको धन’ भनिने नेपालका रुख विकासमा नाममा काटिन्छन।् मानिलिउ यिनीहरूको काट्नु बाहेक विकल्पै छैन । कानुन देखाएर पुराना सग्ला र अग्ला रुख काटेर नयाँ २५ बिरुवा रोप्ने हचुवा हो । एउटा पुरानो रुख हुर्कन वर्षौ लाग्छ ।

यो वर्ष ठूला रुख मारेर साना बिरुवा रोप्नुको फाइदा यो पुस्ताले लिन सक्दैन। त्यही भएर विकासका नाममा रुख काट्न आवश्यक छैन । बरु उपलब्ध प्रविधि र सवारी साधनले रुखहरू उखेलेर कुनै पार्क, खुल्ला क्षेत्रमा हेरचार गर्ने नै राम्रो विकल्प हो।

भारतले पनि यो कुरामा काम गरिरहेको मिडिया रिपोर्टले देखाउछन्। द टेलिग्राफमा सन् २०१५ को मार्च २० मा लेखिएको एक आर्टिकलले यो कुराको पुष्टि गर्छ। जसमा ट्रि स्पेड भनिने रुखहरू सार्ने मेसिन किनेर विकास गर्ने भारतीय सरकारको योजना लेखिएको छ।

एउटा रुख सार्ने ‘हाइड्रोलिक ट्री स्पेड’ को मूल्य १ करोड भारू भनिएको छ। समाचारका अनुसार एउटा मेसिनले दैनिक कम्तिमा ६ वटासम्म रुखहरू उखेलेर रोप्न सक्ने बताइएको छ। अझ नजिक नजिक भएको क्षेत्रमा झनै धेरै रोप्न सकिने देखिन्छ।

चीनमा पनि स–साना रुख उखेलेर रोप्ने २ लाखदेखि ४ लाख सम्मका मेसिन पाउँछन्। चीनको विश्वकै राम्रो अनलाइन सपिङ अलिबाबामा गएर ट्रि ट्रान्सप्लान्ट मेसिनको मूल्य सहजै थाहा पाउन सकिन्छ ।

आर्बोरको नामक एक मेलबर्नमा रहेको अस्ट्रेलियाली कम्पनीले त हजारौँ वर्ष पुराना वरपिपलका रुख पनि सजिलै ओसार्न र रोप्न सकिने मेसिन बनाएको छ। युट्युबमा यो कम्पनीका मेसिनले ठूलठूला रुख सारेको हेर्न सकिन्छ।

सरकारले पनि विकासमा खटिने नेपाली सेना र आफ्ना ठूला विकासका औजारको भण्डारणमा ‘ट्री ट्रान्सप्लान्टर’ अनिवार्य गर्नुपर्छ। करोडौँका अन्य मेसिन खरिद गरेजस्तै एउटा रुख सार्ने मेसिन ‘ट्री ट्रान्सप्लान्टर’ खरिद गर्न सरकार, सेना र ठेकेदार कसैलाई पनि गाह्रो छैन।

अझ, हरेक स्थानीय तहका सडक बिस्तारमा पनि रुख काट्ने हैन सार्ने अनिवार्य नियम बनाएमा यस्तो उपकरणको व्यवसायिकता बढ्छ। रुख जोगिन्छ । हरियाली बढ्छ । देशलाइ कार्बन नेगेटिभसम्ममा लान सकिन्छ । तर, यसको लागि सरकारको इच्छाशक्ति र सर्वसाधारणको निरन्तर दबाब भने हुनुपर्छ।

विकासका नाममा रुख काटिन्छ, रोपिदैनन्
हालसालै नेपालमा बाराको निजगढ विमानस्थल बनाउन साढे २४ लाख रुख काट्नुपर्ने समाचारले धेरैलाई चिन्तित तुल्यायो । सग्ला र अग्ला रुखहरू विमानस्थल बनाउने नाममा ढाल्ने कुराले धेरैलाई चिन्ता थपेको छ। यसबाट चिन्तित कवि रमेश सायनले हालसालै एक फेसबुक पोस्ट गरे ।

उनले लेखे, ‘कम्बोडियाको साथी भन्थ्यो– कम्बोडियामा अचेल राम्रो पानी पर्दैन। असाध्यै गर्मी छ । सरकारका बलिया मान्छेले सबै रुख काटे । प्रधानमन्त्री हुन साइन रुख बेचेरै धनी भएको हो । हाम्रो देखमा पनि २३ लाख रुख काटिदैछ । सोच्नुस् अब के हुन्छ?’ कवि नवराज पराजुलीले त यही विषयमा भावुक ‘कुकुर’ कविता लेखेर चितवनको जंगलका रुखहरूलाई सुनाए ।

यत्तिका रुखहरू त निजगढ विमानस्थल बनाउँदा मात्रै काटिने हुन्। यस अगाडि फास्ट ट्रयाकका नाममा पनि १ लाख ५१ हजार ७ सय ८५ रुख काटिएका थिए । धरान–हेटौडा सडक बनाउँदा पनि हजारौँ रुख काटिए । पूर्व पश्चिम लोकमार्गदेखि पूर्वाञ्चल विश्वविद्यालय बनाउन पनि उत्तिकै रुखहरू काटिएका छन्।

एकातिर सुकुम्वासी बस्तीको नाममा रुख काटिने र अर्काेतिर विकासका नाममा रुख नासिने । नेपालमा रुखलाई दोहोरो असर छ। दैनिक हुने काठ तस्करी त सामान्य नै भयो ।

काठपातको अभावले दाम महँगिएको समयमा ठेकेदार, तस्कर र राज्यले विकास निर्माणका काममा रुख काट्ने राम्रो बहाना आउने गरेको छ। १ रुख काटेकोमा क्षतिपूर्ति स्वरूप २५ नयाँ बिरुवा रोप्नुपर्ने नियम छ । तर, खै कहाँ छन् लाखौँ रुख काटेर रोपिएका करोडौँ नयाँ बिरुवा छन्?

Facebook Comments