महानगरले केन्द्र सरकारलाई भन्यो– स्थायी ल्याण्डफिल साइट बनाइदिनु पर्‍याे

ललितपुर–काठमाडौं महानगरपालिकाले उपत्यकाबाट निस्कने फोहोर व्यवस्थापनका लागि नुवाकोट र धादिङको सीमास्थित बन्चरेडाँडामा निर्माणाधीन ‘ल्याण्डफिल साइट’ को काम पूरा गरिदिन संघ सरकारसँग आग्रह गरेको छ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल ‘ल्याण्डफिल साइट’ मा अब फोहोर फ्याँक्न नसकिने स्थिति सृजना भइरहेकाले ‘बन्चरेडाँडा ल्याण्डफिल साइट’ लाई तत्काल अगाडि बढाउन संघ सरकारले पहल थाल्नुपर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित गृहमन्त्रालयको कार्यक्रममा भनिएको काठमाडौं महानगरपालिका वातावरण विभागका विभागीय प्रमुख हरि कुँवरले बताए।

‘काठमाडौं संघीय सरकारको राजधानी पनि हो, उपत्यकाको फोहोर व्यवस्थापन गर्न स्थानीय सरकारले मात्र ल्याण्डफिल साइट बनाउन सक्ने अवस्था देखिएन्,’ विभागीय प्रमुख कुँवरले भने, ‘दीर्घकालीन समाधानका लागि ल्याण्डफिल साइट नभइ हुँदैन।’

शुरुमा तत्कालीन स्थानीय विकास (हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय) अन्तर्गतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले बन्चरेडाँडा ‘ल्याण्डफिल साइट’ को निर्माण थालकोमो सरकारले दुई वर्ष अघि निर्माणको अधिकार काठमाडौं महानगरपालिकालाई सुम्पेको थियो। सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीका अनुसार केन्द्रले खोलालाई डाइभर्ड गर्नेदेखि सडक बनाउने, पुल बनाउने लगायतका काम सम्पन्न गरिसकेको छ, भने १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण भइसकेको छ।

सर्वाेच्च अदालतले १२ असोजमा अन्तरिम आदेश जारी गर्दै काठमाडौं उपत्यकाको फोहोरमैला नियमित, व्यवस्थित र सुरक्षित तरिकाले संकलन व्यवस्थापन र विसर्जन गर्ने कार्य गर्न-गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेपछि गृहमन्त्रालयले काठमाडौं महानगरलाई छलफलका लागि डाँकेको थियो। छलफलमा गृहमन्त्री थापाले स्थानीय तहले गर्नुपर्ने काममा अन्य निकायले पनि झन्झट व्यहोरिरहेकाले तत्काल विकल्प खोज्न निर्देशन दिएका थिए।

सिसडोलको विकल्प खोज्न भन्दै १८ साउनमा उपत्यकाका १८ नगरपालिकाका जनप्रतिनिधिबीचको बैठकले अध्ययनका लागि काठमाडौं महानगरपालिका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वका ५ सदस्यीय समिति गठन गरेको थियो।

सम्बन्धित समाचार
बन्चरेडाँडा ‘ल्याण्डफिल साइट’ कसले बनाउने रु, पन्छिदै महानगर र संघीय सरकार

 

 

Facebook Comments