वातावरणका मुद्दामा राजनीतिक नेतृत्व र समाज जागरूक हुन आवश्यक

सम्पादकीय

वातावरणका मुद्दा सार्वजनिक सरोकारका विषय हुन्, समाजका सबै तह र तप्काको हो। यो वातावरणविद्काे पेवा होइन र जोगाउने सम्पूर्ण जिम्मेवारी पनि उनीहरूको होइन।

वातावरण त्यतिबेला संरक्षण हुन्छ जतिबेला हामी सबैले यसलाई आफ्नो ठान्छाैं, यसको संरक्षण हुन्छ र हाम्रो मात्र होइन भावि पुस्ताको पनि भलो हुन्छ।

वातावरणका मुद्दालाई राम्रोसँग सम्बोधन नगर्दा यसका नकारात्मक असर हामीले देखिसकेको छौँ, केही त भोगि पनि सकेका छौँ। हामीले वातावरणका विषयलाई हल्का ढंगले लिइरहेका छौँ तर, परिस्थिति निकै जटिल बन्दै गएको छ।

 पहाडमा पानीका स्रोत निकै डरलाग्दो किसिमले सुक्दै गएका छन्। जसको प्रत्यक्ष असर तराईमा पनि परिहरेको छ। हामीसँग खानेपानी आयोजनाका लागि पर्याप्त आर्थिक स्रोत भएपनि पानीको मुहान भेट्टाउन कठीन छ। पहाडको मात्र होइन, काठमाडौंको अवस्था पनि नाजुक बन्दै गएको छ। भूमिगत पानीको स्रोत सुक्दै गएको छ, क्रंक्रिटको शहर बन्दै गएको छ, रूखको संख्या घट्दो छ।

हाम्रो आँखा अगाडिका केही ठाउँ हेरौं–काभ्रको भकुण्डेबेसी फाँट केही वर्ष अगाडिसम्म निकै हरियाली थियो। केही वर्षयता इँटा भट्टाको संख्या ह्वात्तै बढ्यो, अहिले त्यो फाँटमा प्रदूषण बाहेक केही पनि छैन। अर्काे ठाउँ काभ्रेको पाँचखाल हो।

अहिले सो उपत्यका उद्योगधन्दा र अन्य मानवीय कारणले पूरै प्रदूषित बनेको छ। फेरि विशेष आर्थिक क्षेत्र निर्माणको लागि त्यहाँ १७ हजार रूख काट्ने तयारी भइरहेको छ। अथवा, आगामी दिनमा वातावरणमा सुधार होइन झन विनास देखापर्ने छ। पर्यटकीय शहर लुम्बिनी अर्काे उदाहरण हो। लुम्बिनीले बेलाबेलामा सबैभन्दा प्रदूषित शहरको रूपमा दर्ज गराउने गरेको छ। हामी स्पष्ट हुन आवश्यक छ, लुम्बिनीलाई पर्यटकीय शहर बनाउने कि उद्योग कलकारखानाको शहर।

यति मात्र होइन, देशका विभिन्न खोलामा मानवीय अतिक्रमण बढेको छ। खोलामा जथाभावी फोहोर फालिएको छ, माछा मार्न विभिन्न विषादीको प्रयोग भइरहेको छ, अनि अनधिकृत रूपमा खोलाबाट गिट्टी र बालुवा निकाल्ने काम भइरहेको छ।

हामीलाई लाग्छ, कुनै एक ठाउँमा काटिने केही रूखले अथवा प्रदूषणले कति नै असर गर्छ र। तर, विभिन्न स्थानमा हामीले गर्ने स–सानो अतिक्रमणको समग्र मात्रा हेर्ने हो भने त्यो निकै भयावह छ। दुर्गम भेगका पर्यटकीय स्थल समेत निकै प्रदूषित बन्दै गएका खबर सार्वजनिक भएका छन्, प्लास्टिकको प्रकोप बढिरहेको छ।

तर, हाम्रो समाज र राजनीतिक नेतृत्व त्यति जागरूक देखिदैन। किनकी हामीले समग्रतामा हेरिरहेका छैनौँ। हामीलाई लाग्छ–घर वरपर केही रुख काटेर कति नै असर गर्छ र। हाम्रो गाउँमा केही इँटा भट्टा स्थापना गरेर के नै हुन्छ, हामीले केही फोहोर खोलामा फालेर के हुन्छ र बगेर जान्छ।

तर, हामी सबैले थोरैथोरै गल्ती गर्दा समग्र नदी नै फोहोर भएका छन्, प्लास्टिकको थुप्रो बढेको छ, डाडाँमा रूख देखिन छाडेका छन्। तर, खोइ हाम्रो राजनीतिक नेतृत्वले यसमा सजगता अपनाएको?

वातावरणका विषयमा हाम्रो राजनीतिक नेतृत्वले विरलै बोल्छ। हालै निजगढ विमानस्थल र सुदूरपश्चिमको राजधानी बनाइने वनजंगलका बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले आधिकारिक रुपमै धारणा सार्वजनिक गरेको छ।  सत्तारुढ दलका केही नेताले संसदमै आवाज उठाएका छन्, जुन एकदमै सकारात्मक हो।

राजनीतिक नेतृत्व मात्र होइन, समग्र समाज नै यस विषयमा जागरूक हुन आवश्यक छ। रातको समयमा सडकमा लुकेर फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ।  क्रंकिटमा रमाउने होइन, हाम्रो वरपर रुख रोप्न हामीले प्रोत्साहन गर्नुपर्छ। स्थानीय तहमा करको नक्सा पास गराउँदा नै केही निश्चित स्थान रुखको लागि छुटयाउन बाध्य पार्ने कानून नै बनाउन जरूरी छ।

अब हामीले ट्यांकरको पानी मगाउनेभन्दा पनि गाउँघरमा रहेका पानीका स्रोतको सामूहिक संरक्षण गर्नुपर्छ, समाजका सबै मिलेर। आफ्नो घरको इनारमा पानी आएन भनेर पानी मगाउने होइन कि किन पानी आएन, कतै हाम्रो गल्तीले पानी नआएको हो कि भनेर सोचविचार गर्न आवश्यक छ।

अब काठमाडाैंमा आसपासमा रहेका नगरपालिका र जिल्लाले फोहोर संकलन गरेर सिसडोलतिर पठाउने होइन, आफ्नै टोलमा त्यसमा व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्छ। त्यसैगरी अब टोलमा रूख रोपेर सामुहिक रुपमा कसरी शितलता प्राप्त गर्ने भन्नेतर्फ सोच्न ढिलो भइसकेको छ।

वातावरणीय मुद्दामा समाज र राजनीतिक नेतृत्व नै तात्न ढिलो भइसकेको छ। त्यसैले भविस्यमा निम्तनसक्ने संकटका लागि हामीले कदम चाल्न ढिलो भइसकेको छ। वातावरण संरक्षण वातावरणविद्का लागि होइन, भावि पुस्ताका लागि हो। विकासको नाममा जथाभावी विनास गरेर हामीले भावी पुस्तालाई बस्नै नसकिने तापक्रम, डम्पिङ साइटमा परीणत भएको खोला, पानीको पूर्ण संकट र प्रदूषण हस्तान्तरण त गदै छैनौं ?

प्रमाण खोज्न धेरै टाढा जानै पर्दैन, आजभन्दा ३–४ दशक अगाडि हामीले ध्यान नदिँदा हाम्रो आँगन अगाडिको काठमाडौका खोलाको अवस्था के भो  ? कल्पना मात्र गराैं त सफा र स्वच्छ पानीसहितको खोला भएको भए वातावरण कस्ताे हुन्थ्यो होला?

Facebook Comments