पत्रपत्रिकामा आज : पानीको सदुपयोगबाट देश समृद्ध हुने, पाँच वर्षपछि जनकपुरमा रेल

काठमाडौँ –आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।
कान्तिपुर
–आजको कान्तिपुरमा अतिक्रमण चपेटामा तेघरी शिर्षकमा अब्दुल्लाह मियाँ र मोहन बुढाऐरको समाचार छापिएको छ । डडेलधुरा जोड्ने भीमदत्त राजमार्ग बनेसँगै तेघरी क्षेत्र सुगम बन्यो । सबैका आँखा चुरे फेदीको समथर भूभाग र जंगलमा पर्न थाल्यो । टहरा, भवन, मठ–मन्दिर, खेलकुद मैदानदेखि करोडौं लागतका रिसोर्टसम्म बने । यसमा डिभिजन वन कार्यालय कैलाली भने वर्षौंदेखि आँखा चिम्लेर बसेको छ । त्यही ठाउँलाई सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएपछि वन क्षेत्र अतिक्रमण गर्नेहरू निकै खुसी छन् ।

तेघरीदेखि दक्षिणतिरको गोदावरी नदीमा हरेक दिन कैयौं स्काभेटरले दोहन गरिरहेका छन् । दर्जनौं ट्रक त्यहाँबाट गिट्टी, ढुंगा र बालुवा ओसार्न व्यस्त छन् । तेघरी क्षेत्रबाट निर्माण सामग्री उत्खनन गर्न गोदावरी नगरपालिकाले स्वाँर कन्स्ट्रक्सन कम्पनीलाई असोज ९ मा १ करोड २० लाख रुपैयाँको ठेक्का दिएको हो । कम्पनीले नदीमा मनोमानी गरिरहे पनि नगरपालिकाले अनुगमन गरेको छैन । नगर प्रमुख हरिसिंह साउद भर्खरै ठेक्का लगाइएकाले केही दिनपछि अनुगमन गरिने बताउँछन् ।

त्यस्तै गुड्छ मोटर, उड्दैन जहाज शिर्षकमा आश गुरुङको समाचार छापिएको छ । हिमाली काख । चिसो सिरेटो । घामको किरणले विस्तारै हिमशृंखलामा लाली छाउँदा हिजोआज मनाङका गाउँघरमा मोटरको ‘घ्यारघ्यार’ सुन्न पाइन्छ ।

केही बेरपछि सुरु हुन्छ, चक्रीय अन्नपूर्ण पदमार्गमा हिँड्ने पर्यटकको नाकमुखै थुनिने गरी जिपको पुल्कँदो कुदाइ । धूलो उडाउँदै जिप कुदेका सडकमा पर्यटक हिँडेकै छन् । स्थानीयका अनुसार जब मनाङसम्मै मोटर गुड्न थाल्यो तब दुईवटा कुरा मनाङवासीले गुमाएका छन् । चक्रीय अन्नपूर्ण पदमार्ग विश्वकै उत्कृष्ट १० बाट हट्यो र जहाज पनि उड्न छाड्यो । मनाङ ङिस्याङ गाउँपालिका ४ का वडाध्यक्ष कर्मटसी घलेका अनुसार घरआँगनमै मोटर गुड्छ । तर, घरआँगनकै हवाई मैदानमा जहाज उड्दैन । ‘जब मोटर गुड्न थाल्यो । तब, जहाज उड्न छाड्यो,’ उनले भने । ५ वर्षअघि मनाङमा मोटर गुडेसँगै जहाडले उडान भर्न छाडेको उनले बताएको समाचारमा उल्लेख छ ।

त्यस्तै ‘पानीको सदुपयोगबाट देश समृद्ध हुने शिर्षकमा अर्को समाचार छापिएको छ । जलस्रोत, उर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनले एकीकृत ऊर्जा सिँचाइ कार्यक्रममार्फत पानीको सदुपयोग गरी देशलाई समृद्ध बनाउन सरकार लागिपरेको बताएका छन् ।

प्यूठान नगरपालिकास्थित बिजुवारमा आयोजित कार्यक्रममा उनले नेपालको धन पानीलाई खानेपानी, सिँचाइ र विद्युत् क्षेत्रमा उपयोग गरी देशलाई समृद्ध बनाउने सरकारको पहिलो योजना रहेको बताए ।

पाँच वर्षमा ५ हजार मेगावाट विद्युत् उत्पादन गरेर सबै नेपालीका घरमा बिजुली पुर्‍याउने उनले दाबी गरे । कार्यक्रममा बोल्दै उनले आफू पाँच नम्बर प्रदेशकै बासिन्दा भएकाले यस क्षेत्रका बहुउद्देश्यीय विद्युत् परियोजनाहरू नौमुरे, माडी, उपल्लो झिमरुकलगायत योजना निर्माण आफ्नै पालामा निर्माण पूरा गर्ने गरी पहल गरिरहेको बताएको समाचारमा उल्लेख छ ।

नागरिक
–आजको नागरिकमा जनकपुर आइपुग्यो ब्रोडगेज रेल शिर्षकमा सुरेश यादवको समाचार छापिएको छ। पौने सय वर्षसम्म ‘न्यारोगेज’ मा सञ्चालन भई पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ। भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच वर्षअघि रेलसेवा बन्द गरिएको हो। जयनगर–जनकपुर ब्रोडगेज रेलवेको भार परीक्षण बुधबार भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेकाले ब्रोडगेज रेल आगामी मंसिर मसान्तभित्र औपचारिक रुपमा सञ्चालनमा आउने नेपाल रेल विभागका साइट इन्जिनियर विनोदकुमार ओझाको दाबी छ।

सीमावर्ती भारतीय सहर जयनगरबाट ५३ वटा मालबाहक बोगी ९डब्बा० सहित रेल बुधबार दिउँसो जनकपुर आइपुग्यो। उक्त रेलले अनुमानित पाँच हजार टन ब्लास्ट (गिटी) बोकेर जनकपुर आएको इन्जिनियर ओझाले बताए। सन् २०१० मा तत्कालीन राष्ट्रपति डा.रामवरण यादवको भारत भ्रमणक्रममा त्यहाँको सरकारसँग जयनगर–जनकपुर रेलवेको स्तरोन्नति गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार बिहार जयनगरदेखि जनकपुर हुँदै महोत्तरीस्थित पूर्व–पश्चिम राजमार्गको बर्दिबास खण्डसम्ममा रेल ल्याउने योजना छ। सम्झौता भएको एक वर्षपछि निर्माण कार्य सुरु गरेको भारत सरकारले जयनगर–जनकपुर–कुर्था खण्ड ३५ किलोमिटर रेलमार्ग मंसिर मसान्तभित्र नेपाल सरकारलाई हस्तान्तरण गर्ने जानकारी ओझाले दिएको समाचारमा उल्लेख छ।

त्यस्तै टिकट नपाउँदा यात्रुको बिचल्ली शिर्षकमा नगेन्द्र उपाध्यायको समाचार छापिएको छ। तिलागुफा गाउँपालिका, कालिकोटका पदमराज न्यौपाने दसैं मनाउन घर जान नेपालगञ्जबाट सुर्खेत झरेको दुई दिन भइसक्यो। बसको टिकट नपाउँदा उनी घर कहिले पुग्ने हो टुंगो छैन। ‘अघिल्ला वर्षमा यस्तो हुँदैनथ्यो’ न्यौपानेले भने, ‘बसपार्क धाइराखेको छु, टिकट पाएको छैन्।’ नेपालगञ्जमा उच्च शिक्षा अध्ययन गर्दै गरेका उनी बेखर्ची भएका छन्। ‘सुर्खेत नरोकिईकनै घर जाने तयारी साथ आएको थिएँ, यहाँ तीन दिन होटलमा बस्नुप(यो’ उनले भने, ‘गोजीमा भएको पैसा सकियो, साथीहरुसँग सापट मागेर काम चलाइराखेको छु ।’ उनले बिहीबार दिउँसोको टिकट काटेका छन्।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर साबिक कर्णालीको ‘गेटवे’ हो। दैलेख, कालिकोट, जुम्ला र मुगुका लागि सदरमुकाम वीरेन्द्रनगर भएरै यात्रा गर्नुपर्छ। यसै वर्षदेखि सुदूरपश्चिम प्रदेशको अछाम र बाजुरा पनि सुर्खेतसँग जोडिएको छ। ती जिल्ला जाने यात्रुले अहिले वीरेन्द्रनगर भरिएको छ। रोजगारीका लागि भारत गएका अछामका टंक भण्डारी घटस्थापनाको दिन घर पुग्न चाहन्थे। मंगलबार बेलुका वीरेन्द्रनगर आइपुगेका उनले बुधबारको टिकट पाएनन्। ‘कम्तीमा एक दिनअघि टिकट लिनुपर्ने रहेछ’, उनले भने, ‘घटस्थापनाकै दिन घर पुग्ने लक्ष्य साथ आएको थिएँ, टिकट नपाएर एक दिन ढिलो हुने भयो।’

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा असिनाले अन्नबाली र तरकारीमा क्षति शिर्षकमा सन्तोष थापाको समाचार छापिएको छ । दुई दिनअघि परेको असिनापानीले पर्वतमा पाक्ने वेलाको धान र कोदामा क्षति पुगेको छ। पाकेर भित्र्याउन तयार भएको धान, कोदो, तरकारी र फलफूललगायतमा क्षति पुग्दा किसानको लाखौँ नोक्सान भएको छ।

असिनाले पर्वतको कुश्मा र फलेवास नगरपालिका, मोदी गाउँपालिका क्षेत्रमा लगाइएको धानबाली नष्ट गरेको छ । स्थानीय कृषकहरूका अनुसार असिनाले सुन्तला तथा बेमौसमी तरकारी बालीमा पनि क्षति पुर्याएको छ। कुश्माको ठूलीपोखरी, खौलालाँकुरी, पिललटारी, आर्थर, पकुवालगायतका ठाउँमा असिनाले क्षति पुर्याएको स्थानीय कृषक लीलाधर पौडेलले जानकारी दिए। असिनाले पाक्नेवेलाको धान सुन्तला, लप्सी तथा अन्य तरकारीखेतीमा ५० प्रतिशतभन्दा धेरै क्षति पु¥याएको कुश्मा नगरपालिका–१३ का वडाध्यक्ष जंगबहादुर केसीले बताए ।

यस्तै, फलेवास नगरपालिकाको कार्कीनेटा, मोदी गाउँपालिकाको राम्जालगायतका क्षेत्रमा समेत धान, कोदो, तरकारी र फलफूलमा असिनाले क्षति पुगेको छ ।जिल्लाको माथिल्लो भेगमा धान पाकेको भए पनि प्रतिकूल मौसमका कारण भित्र्याउन कठिनाइ परिरहेको वेला आएको असिनाले धान नष्ट गरेपछि किसान चिन्तित भएका छन् ।

त्यस्तै पाँच वर्षपछि जनकपुरमा रेल शिर्षकमा हदिश खुद्दारको समाचार छापिएको छ । पाँच वर्षपछि जनकपुरमा रेल चलेको छ । भारतको झारखण्ड पाखरबाट मंगलबार छुटेको रेल बुधबार दिउँसो ३ बजे जनकपुर आइपुगेको हो । ०७० देखि पूर्ण रूपमा बन्द रहेको जनकपुर–जयनगर रेल आंशिक सञ्चालनमा आएको हो ।

५३ बोगीमा लिकमा राखिने करिब ५ हजार टन गिटी लिएर मालबाहक रेल आएको हो । प्रतिघन्टा ७ देखि १० किलोमिटरको गतिमा आएको रेलमा सवार मजदुरहरूले लिकमा गिटी झार्दै आएको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख विनोद ओझाले बताए । रेल बुधबार नै भारत फर्किएको छ ।

भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग बनाउने गरी काम भइरहेको छ । पहिलो चरणमा जयनगर–कुर्था ३५ किलोमिटरमा आगामी डिसेम्बरदेखि रेल सञ्चालनको तयारी भइरहेको छ । ब्रोडगेज रेलमार्गमा १ सय किलोमिटर प्रतिघन्टाका दरले रेल कुद्ने समाचारमा उल्लेख छ।

राजधानी
–आजको राजधानीमा धान उत्पादन १३ प्रतिशतले बढ्ने शिर्षकमा कौशिला कुँवरको समाचार छाएिको छ । चालू आर्थिक वर्षमा धानको उत्पादन १२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । किसानलाई मनसुनले राम्रो साथ दिएको हुँदा धान उत्पादन वृद्धि हुने अनुमान कृषि मन्त्रालयले गरेको हो। चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा करिब १२ देखि १३ प्रतिशत धान उत्पादनमा वृद्धि हुन सक्ने अनुमान रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए।

मंसिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप नभए १३ प्रतिशत वृद्धि हुन सक्ने सुवेदीले बताए। उनले भने, ‘किसानहरूले धान काट्न सुरुवात नै गरेका छैनन्, अहिले नै यति नै उत्पादन हुन्छ भन्नेर यकिन गर्न कठिन छ।’
यस वर्ष मनसुनले किसानलाई राम्रो साथ दिएको हुँदा धान उत्पादन १० देखि १३ प्रतिशत वृद्धि हुने राष्ट्रिय किसान समूह संघका अध्यक्ष उद्धव अधिकारी बताउँछन्।
यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार, नेपालमा कुल खेतीयोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर छ । कुल खेतीयोग्य जमिनमध्ये लगभग ५० प्रतिशत जमिनमा धान खेती हुन्छ। नेपाल पहाडी मुलुक भएको हुँदा नेपालको अधिकांश जमिन आकासे सिँचाइमा निर्भर छ । खेती लगाउने समयमा मुनसुनले साथ नदिएपछि खेती किसान मर्कामा पर्छन्।

धान रोप्ने समयमा पानी आएन भने पहाडी भेगका अधिकांश जमिन बाँझो हुने सम्भावना धेरै हुन्छ। धान खेती लगाउने मौसम ९असार–साउन० मा वर्षा नभए सिफारिस भए जति जमिनमा धान रोपाइँ हुन सक्दैन।

मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷७५ मा नेपालमा १४ लाख ६९ हजार ५४५ हेक्टरमा धान रोपाइँ भएको थियो । सो धान खेती रोपाइँ भएकोमा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टक धान उत्पादन भएको थियो।

आर्थिक वर्ष २०७३÷७४ मा नेपालमा १५ लाख ५२ हजार ४९६ हेक्टरमा धान रोपाइँ भएकोमा ५२ लाख ३० हजार ३२७ मेट्रिक टक उत्पादन भएको थियो।

आर्थिक वर्ष २०७२÷७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टर जमिनमा धान खेती भएकोमा सो वर्ष ४२ लाख ९९ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको समाचारमा उल्लेख छ।

Facebook Comments