शक्तिशाली सामुन्द्रिक आँधीको असर नेपालमा पनि

काठमाडौं– बंगालको खाडीमा बनेको अत्यन्तै शक्तिशाली सामुन्द्रिक आँधी ‘तितली’ को प्रभाव नेपालमा पनि परेको छ।

भारतको उत्तर आन्द्र प्रदेश–दक्षिण ओडिसा तट नाघेर जमिनमा ‘ल्याण्डफल’ गरेको सामुन्द्रिक आँधीको प्रभाव नेपालको पूर्वी भूभागमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त आँधीका कारण भारतको ओडिसा र आन्ध्र प्रदेशमा भारी वर्षा हुँदा बाढीपहिरो समेत गएका बेला बुधबारराति नेपालको पूर्वी भुभागका केही स्थानमा वर्षा भएको हो। ‘यो आँधीको प्रभाव नेपालको पूर्वी र मध्य क्षेत्रमा परेपनि पश्चिमी क्षेत्रमा असर गर्दैन,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले भनिन्, ‘हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।’

भारतीय सञ्चारमाध्यमले त्यहाँको मौसम विज्ञान विभागलाई उदृत गर्दै समाचारमा उल्लेख गरेअनुसार तितली नामक सामुन्द्रिक आँधी प्रतिघण्टा १४० देखि १५० किलोमिटरको गतिमा अगाडि बढिरहेको छ।

Facebook Comments