प्राकृतिक प्रकोपका कारण २० वर्षमा २९०८ अर्ब डलर क्षति– राष्ट्रसंघ

काठमाडौं–जलवायु परिवर्तनका कारण हुने महत्वपूर्ण परिवर्तन एवं मौसमी घटनाका कारण विश्वको अर्थतन्त्रमा तीव्र नोक्सानी भइरहेको तथ्यांक सार्वजनिक भएको छ।

संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको ‘आर्थिक क्षति : गरीब र विपद्’ नामक रिपोर्ट अनुसार पछिल्लो २० वर्षको अवधिमा जलवायु परिवर्तनबाट बढोत्तरी भइरहेको प्राकृतिक विपद्का कारण विश्वको अर्थतन्त्र नोक्सान पुगेको छ, भने यस्ता घटनाले १५१ प्रतिशतले आर्थिक क्षति बढिरहेको छ।

सन् १९९८ देखि सन् २०१७ बीचको जलवायु परिवर्तनको तुलना गरी बुधबार सार्वजनिक गरिएको उक्त रिपोर्ट अनुसार प्राकृतिक विपद्का कारण २० वर्षको अवधिमा २ हजार ९ सय ८ अर्ब डलर नोक्सान भएको छ।

मौसमी घटनाका कारण कुल आर्थिक नोक्सानमा ७७ प्रतिशतले क्षति पुगेको रिपोर्टमा उल्लेख छ। जुन करीब २ हजार २ सय ४५ अर्ब डलर हो।जसमध्ये सबैभन्दा बढी क्षति अमेरिकाको अर्थतन्त्रमा पुगेको छ।

अमेरिकाको ९४४.८ अर्ब, चीनको ४९२.२ अर्ब, जापानको ३७६ अर्ब, भारतको ७९.५ अर्ब र प्यूर्तो रिकोको ७१.७ अर्ब डलर नोक्सान भएको छ।

रिपोर्ट अनुसार युरोपियन मुुलुकमा बाढी, आँधी र भूकम्पका कारण अर्थतन्त्रमा बढी हानी पुगेको छ। जसमा जर्मनीको ५७.९ अर्ब डलर, इटलीको ५६.६ अर्ब डलर र फ्रान्सको ४८.३ अर्ब डलरको क्षति भएको छ।

त्यस्ता घटनाका कारण सन् १९७८ देखि सन् १९९७ को अवधिमा विश्वको अर्थतन्त्रमा ८ सय ९५ अर्ब डलरले हानी भएको थियो।

Facebook Comments