नेपालका लागि जोखिम बन्दै तिब्बती हिमताल, सरकारलार्इ छैन चासो

काठमाडौँ – चीनको तिब्बत क्षेत्रका हिमतालबाट नेपालमा विभिन्न प्रकारका क्षति हुनसक्ने संभावना देखिएको छ। नेपालका केही नदी तथा खोलाहरूको श्रोत समेत रहेको उक्त हिमतालबाट हुनसक्ने संभावित क्षतिप्रति विज्ञहरूले चासो देखाएपनि सम्बन्धित निकाय मौन छ।

दुबै देशसँग हिमतालको सम्बन्ध जोडिएको हुँदा यस विषयमा कुटनीतिक स्तरबाट अहिलेसम्म छलफल नभएकोमा विज्ञहरू चिन्तित छन्।

सिन्धुपाल्चोकको तातोपानीमाथि तिब्बतको पैकुमा रहेका ३–४ वटा हिमताल खतरामा छन्। सन् २०१६ मा त्यहीको सेरमाचो ताल नजिकैको एउटा ताल फुटेर आउँदा भोटेकोशी हाइड्रोपावरमा क्षति पुगेको थियो।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले दिएको जानकारी अनुसार तिब्बतका २५ वटा हिमताल फुट्ने खतरामा छन्। जसको प्रत्यक्ष असर नेपाललाई पर्ने इसिमोडका क्षेत्रीय कार्यक्रम व्यवस्थापक एवं वरिष्ठ जलवायु परिवर्तन विज्ञ अरुणभक्त श्रेष्ठ बताउँछन्।

लुमिचिमी, सेरमाचो, ग्याङसीचो लगायत तिब्बतका अन्य धेरै हिमताल खतराको सूचीमा रहेको उनले जानकारी दिए।
वरिष्ठ जलवायु परिवर्तन विज्ञ श्रेष्ठ चीन–तिब्बतको हिमतालको असर नेपालमा पर्ने संभावना धेरै भएपनि यस विषयमा दुईपक्षीय छलफल हुन नसकेकोमा दुःख व्यक्त गर्छन्। ‘हिमताल फुटेर त्यसको असर नेपालमा पर्ने संभावना अधिक छ,’ उनले भने, ‘जोखिम भएकाले यस विषयमा राजनीतिक तवरमै छलफल र बहस हुनुपर्छ।’

संसदमा कुरा उठेन
यस विषयमा संसदमा पनि कुरा उठेको छैन। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले जरुरी महत्त्वका विषयमा छलफल गरिरहेको हुँदा तिब्बती हिमतालका विषयमा छलफल हुन नसकेको जनाएको छ। समिति सदस्य एवं नेकपाका सांसद अग्नी सापकोटा जरुरी विषयमा छलफल केन्द्रित रहेकाले हिमतालका विषयमा चीन सरकार र नेपालबीचको छलफलका विषयमा समितिले छलफल गर्न नसकेको स्वीकार्छन्। ‘तिब्बतका हिमतालले नेपाली भूभागमा असर पार्ने विषयमा छलफल हुन सकेको छैन्,’ उनले भने।

परराष्ट्र मन्त्रालय पनि तिब्बतको हिमताल फुटेर हुने क्षतिका विषयमा केही छलफल हुन नसकेको बताउँछ। मन्त्रालयका सह–प्रवक्ता रामबाबु ढकालका अनुसार चीन र नेपालको साझा एजेण्डाका विषयमा छलफल भएपनि तिब्बतको हिमतालले नेपालमा पार्ने असरका बारेमा छलफल भएको छैन। साझा एजेण्डाका विषयमा चीनसँग छलफल भएपनि द्विपक्षीय छलफल भएको छैन।

तिब्बतका हिमताल बढी फुट्ने खतरामा
नेपालको भन्दा तिब्बतमा कम हिमताल छन् तर तिब्बतमा भएका धेरै हिमताल नेपालका लागि खतराको सूचीमा रहेका छन्। हिमतालकै क्षेत्रमा लामो अध्ययन गरिसकेका हिमनदी विज्ञ सम्ज्योलरत्न बज्राचार्यका अनुसार तिब्बतमा कम हिमताल रहेपनि त्यहाँका २५ वटा हिमताल नेपालका लागि जोखिमयुक्त छन्। बेलाबेलामा ती हिमताल फुटेर नेपालमा भौतिक क्षति पुर्याइरहेको छ।

भोटेकोशी माथि खतरा
नेपाली सीमाबाट ७ किलोमिटर मात्र टाढा रहेको सेरमाचो तालले फुट्दा नेपालमा २ पटक सम्म क्षति पुगेको छ। पूर्वमा कोशी नदीका सहायक नदी अरुण, भोटेकोशी लगायतमा तिब्बतका हिमतालको प्रत्यक्ष असर पार्ने बज्राचार्य बताउँछन्।

Facebook Comments