बर्खामा पानी फालाफाल, हिउँदमा संकट गाउँपालिकाले नीति बनाउने

डडेल्धुरा (आलिताल) : ‘बर्खाको समयमा पानी भएपनि हिउँद र धुप (गर्मी) को समयमा पानीको समस्या हुन्छ,’
डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–७ की भागादेवी पार्कीले दुखेसो पोखिन।

उनका अनुसार यहाँ बर्खायाममा पर्याप्त पानी हुन्छ तर, हिउँदमा मुहान सुक्ने भएकाले समस्या हुने गरेको छ। ‘कुवामा पानी सुक्दा मुहान हेरेर चित्त बुझाउनु पर्छ,’ नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले आयोजना गरेको ‘पानी छलफलमा उनले भनिन्।

पछिल्लो समय वन विनास, खुला चरिचरण, अवव्यवस्थित बस्ती,सडक निर्माणका लागि जथाभावि स्काभेटरको प्रयोग लगायतका कारण पानीका मुहान सक्न थालेका हुन्।

यस क्षेत्रका नागरिकले चैत, वैशाख र जेठ महिनामा पानीका लागि कस्ट भोग्नुपर्छ। सुख्खापन र मुहान सुख्ने समस्या तथा मुहान संरक्षणका विषयमा आलिताल गाउँपालिकाको सभाहलमा भएको ‘पानी छलफल’ स्थानीयले समस्या नै समस्या सुनाए।

आलिताल गाउँपालिका–६ की निर्मलादेवी कोलीले पानीको समस्याका कारण आफूले छिमेकी जिल्ला डोटीबाट किनेर खानुपरेको दुःखेसो पोखिन्। ‘डोटीको मुहानबाट ६ हजार रुपैयाँ तिरेर पाइपबाट पानी ल्याएर खाएकी छु। हामीलाई पानी पनि किनेर खानुपर्ने बाध्यता छ, जनप्रतिनिधिले पहल गरिदिनुपर्यो,’ उनले भनिन्।

तर, गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरूङले व्यक्ति–व्यक्तिलाई योजना दिन नसकीने भएकाले समस्या भएको भए पनि त्यहाँ के गर्न सकिन्छ भन्ने विषयमा आफूले योजना बनाउने बताए।

सामुदायिक बन उपभोक्ता महासंघ डडेल्धुराका अध्यक्ष हर्कबहादुर विष्टले आलितालमा सबैभन्दा बढी पानीको समस्या भएको नाउली, कोइलानी, झारकाँडा र डोलाकोट सधैंभरी पानीको हाहाकार हुने स्थान रहेको जानकारी दिए।

‘कोइलेनीमा ३९ घर परिवारले एउटा नाउलाको पानी खाइरहेका छन्। तर, त्यो मुहानको तल ठूलो भिर खसेर फागुनदेखि जेठसम्म मुहान पनि सुक्ने समस्या छ। पानी लिटरले भाग हाल्नुपर्ने बाध्यता छ,’ उनले भने।

विष्टले मुहान वरीपरिका रूखबिरूवा काट्ने, मुहानको तल वा माथि सडक निर्माण गर्दा पहिरो जाने गरेकाले पानीका मुहान सुक्ने गरेको जानकारी दिए। उनले जनप्रतिनिधिलाई वृक्षरोपण गर्ने, खानेपानीका योजनालाई नियमित रुपमा अनुगमन गर्ने र मुहान संरक्षणमा बजेट छुट्याइ काम गर्न समेत अनुरोध गरे।

पानी छलफलमा वडा नम्बर ५ सिराडीकी कर्मसी विकले आफ्ना क्षेत्रमा भएका पानीका मूहानहरु क्रमश सुक्दै गइरहेकाले त्यसको संरक्षणका लागि वडा र गाउँपालिकाले पहल गर्न माग गरिन्।

आलिताल गाउँपालिका वडा नम्बर ६ अनखडाकी धना कामी ऐरीले आफ्नो गाउँमा पनि पानीकै समस्या रहेको गुनासो गरिन्। ‘अहिले बर्खामा पानीको फालाफाल हुन्छ, हिउँदमा पानीको समस्या हुन्छ, घण्टौं लाइन लाग्दा समेत कसैलाई पानी पुग्छ, कसैलाई पुग्दैन। कहिले खान पुग्छ, कहिले पुग्दैन, कहिले भोकै बस्नुपर्छ,’ उनले भनिन्।

कार्यपालिका सदस्य धनमती थापामगरले वडा नम्बर २ को मेलडाँडामा साहुखर्क हुँदै उनीकोट बाटो निर्माण गर्दा स्काभेटरको प्रयोगबाट पहिरो गएको बताइन्। ‘बाटो खन्दा पानीको मुहान नजिकैबाट बाटो खन्दा पहिरो गयो। जसले खानेपानीका लागि बनाएको इन्टेक भत्किदा अहिले त्यहाँका मानिस खानेपानीबाट वञ्चित हुनुपरेको छ,’ उनले भनिन्।

समस्या अन्य स्थानमा पनि भएकाले त्यस तर्फ आफूहरु सचेत रहेको गाउँपालिकाका अध्यक्ष गुरूङले बताए।  ग्रामीण र कृषि सडक निर्माण गरेका स्थानमा अनिवार्य रुपमा वृक्षरोपण गर्ने अभियान थालेको उनले जानकारी दिए। ‘यो वर्ष हामीले ईलाका वन कार्यालयको परिसरमा झण्डै एक लाख २० हजार बिरुवा उत्पादन गरिरहेका छौं। यस वर्षमै गाउँपालिकाको परिसरमा घाँसको बिरुवा उत्पादन गर्ने योजना राखेका छौं। सकेसम्म वातावरणमैत्री विकास निर्माण गर्ने गाउँपालिकाले लक्ष्य लिइएको छ,’ उनले भने।

गाउँपालिकाले नीति नै निर्माण नगरेको भएपनि आफूहरुले गर्ने निर्णय, बनाउने कार्ययोजना र कार्यहरुमा वातावरणमैत्री कार्य गर्दै आइरहेका र भविष्यमा नीति नै निर्माण गरी अघि बढ्ने गुरूङले प्रतिबद्धता जनाए।

बर्खामा पानी प्रशस्त भएपनि हिउँमा पानीको हाहाकार हुने आलिताल गाउँपालिकाको प्रायः एउटै र उस्तै समस्या हो। वर्खाको पानी संकलन गर्न सकेमा हिउँदको ३ महिना सहज हुने देखिन्छ। पानी आउँछ भनेर प्रत्येक घरबाट २५ सय रुपैयाँ उठाएर पनि पानी नआएको गुनासो वडा नम्बर ६ का स्थानीयको छ।

सोहि छलफलमा वडा नम्बर ५ की निर्मला विष्टले आफ्नो वडामा पनि पानीको समस्या रहेको बताइन्। ‘नोबेराखोलाको खानेपानी योजना म नजन्मिदैको हो जस्तो लाग्छ, अहिले त्यो मर्मत सम्भार नहुँदा १ किलोमिटर टाढाबाट रंगुन खोलाको पानी बोकेर एक सय १० घरपरिवारले खोलाको पानी तताएर खानुपरेको छ,’ उनले भनिन्। खोलाको पानी बोकेर ल्याउँदा खाना पकाएर खुवाउँदा बालबालिकालाई समयै विद्यालय पठाउन नसकिएको उनले बताइन्।

उनको जस्तो समस्या आफूले पनि भोगिरहेको आलिताल गाउँपालिकाका उपाध्यक्ष जलादेवी बोगटीले बताइन्। पानी नहुँदा र पानीका मुहान सुक्दा पुरूषलाईभन्दा बढी महिलाले समस्या भोग्नुपग्नुपर्ने भएकाले त्यसतर्फ आफू अझ बढी संवेदनशील रहेको बताइन्। उनले अब पानीका मुहान संरक्षण गर्नका लागि गाउँपालिका, वडा, सम्बन्धित संघसंस्था र स्थानीय नागरिक सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरिन्।

उनले मुहान संरक्षणका लागि कसैले पहल नगर्ने र मुहानभन्दा तल पानीकै लागि झै–झगडा गर्ने स्थानीयको गतिविधि रोक्नुपर्ने बताइन्। ‘हामीले तल बसेर पानीका लागि झगडा गर्ने होइन,बरुमाथि मुल मुहानमै गएर तारबार गर्ने र संरक्षण गर्ने गर्नुपर्दछ,’ उनले भनिन्।

अब गाउँपालिकाले मुहान संरक्षणका लागि विभिन्न स्थानमा रिर्चाज पोखरी निर्माण गर्ने, मुहान नभत्कने गरी विकास निर्माणका काम गर्ने प्रतिबद्धता बोगटीले जनाइन्।

आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले पानी छलफल गाउँपालिकाका लागि अत्यन्तै महत्वपूर्ण कार्यक्रम भएको प्रति आयोजकलाई धन्यवाद दिए। उनले जनप्रतिनिधिले नहुने मात्रै गरेर नहुने भएकाले त्यकिा लागि नागरिकले अगुवाई दिने घचघचाउनु पर्ने बताए।

उनले आलितालको जलियजैविक विविधता संरक्षण गर्नका लागि नीति निर्माण गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
पानीका स्रोत एवं मुहान संरक्षणमा सरोकारवाला सबैले सहयोग गरिदिन आग्रह समेत गरेका थि । वडाअध्यक्ष, खानेपानी उपभोक्ता समुह,कुलो निर्माण समुह,विभिन्न सामुदायीक वनका प्रतिनिधि, वन उपभोक्ता महासंघ, रेडक्रस र स्थानीयको सहभागिता थियो। कार्यक्रममा पानी परियोजनाका बारेमा रंगुन जलाधार क्षेत्र विशेषज्ञ रोशन भट्टले प्रकाश पारेका थिए।

पानी छलफलमा जनप्रतिनिधिले हस्ताक्षर गरी प्रतिबद्धता जनाएका छन् ।

१–मुहान संरक्षणका लागि नीतिगत निर्णय गरिनेछ।

२–पानीका मुहान नभत्कने गरी विकास निर्माण गरिनेछ।

३–जलीय जैविक विविधतालाई बिग्रन नदिन गाउँपालिका कार्यविधि बनाएर तत्काल काम गरिनेछ।

४–स्थानीय सरकारले विकास निर्माणका कार्य गर्दा वनजंगल विनास हुने गरी कुनै पनि काम गर्नेछैन र नियमित रुपमा अनिवार्य वृक्षरोपण गरिनेछ।

५–पानीको सदुपयोगका विषयमा प्रत्येक वडामा जनचेतना जगाइनेछ।

६–,प्राकृतिक स्रोतसाधनको उपयोगको नीति बनाइनेछ भने नीतिको वितरण तथा उपयोगका लागि स्थानीय प्राकृतिक स्रोतसाधन कार्यविधि बनाइनेछ।

७–बर्षाको पानी संकलन प्रविधिलाई प्राथमिकता दिइनेछ। यसरी संकलन गरेको पानी हिउँदमा प्रयोग गर्न सकिने गरी उपर्युक्त विधिको प्रयोग गरिनेछ।

Facebook Comments