नौबस्तामा औद्योगिक क्षेत्र निर्माण शुरु

नेपालगञ्ज– बाके जिल्लाको नौबस्तामा ५ नम्बर प्रदेश स्तरीय औद्योगिक क्षेत्र निर्माण शुरु भएको छ।

बैजनाथ गाउँपालिका ३ नौबस्ताको खुल्लाचौर तथा झाडी बुटट्यान भएको करीब ३ सय ३८ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्रका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण शुरु गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कार्यालय स्थापना गरेको छ।

नेपाल सरकारबाट औद्यौगिक क्षेत्र निर्माणका लागि ३ सय ३८ बिघा जग्गाको लालपूर्जा प्राप्त गरेपछि लिमिटेडले औद्योगिक क्षेत्रका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पारी निर्माणको प्रक्रिया अगाडि बढाएको हो।

विस्तृत अध्ययनबाट नौबस्ता औद्योगिक क्षेत्रमा १ सय ११ सम्म उद्योग स्थापना गर्न सक्ने सम्भावना देखिएको छ। उद्योगका लागि ९ रोपनीदेखि ३० रोपनी सम्मको प्लटहरु निर्माण गरिने छ।

औद्योगिक क्षेत्र निर्माणका लागि भौतिक पुर्बाधार निर्माण कार्य शुरु गर्न लिमिटेडले बातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) तयार गरी रहेको छ।

औद्यौगिक क्षेत्रबाट निस्कने धुवाँबाट हुने वायु प्रदूषणलाई कम गर्न औद्योगिक क्षेत्रको वरिपरि करीब ३० मिटर क्षेत्रसहित औद्योगिक क्षेत्रभित्र करीब ५५ बिघामा बृक्षरोपण गरी हरियाली बनाइने योजना रहेको छ।

प्रतिवेदन तयार भएपछि २०७५ फागुनसम्म पूर्वाधार निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारीमा लिमिटेड जुटेको छ।
औद्योगिक क्षेत्रको जमिन अतिक्रमण गरी बसेका २ सय ५९ घरधुरीका लागि बैकल्पिक व्यवस्था गरी निर्माणको काम शुरु गरिने नौबस्ता गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले बताए।

औद्यौगिक क्षेत्र निर्माणको काम शुरु गर्नका लागि संघीय सरकारले १० करोड र ५ नम्बर प्रदेश सरकारले ५ करोड रकम छुट्टाएका छन्।

औद्योगिक क्षेत्रमा चार लेनको सडक, ढल तथा नालीको व्यवस्था, फोहोर पानी प्रशोधनका लागि छुट्टै प्लान्ट, २४ घन्टा पानीको व्यवस्था, ४० मेघावाटको छुट्टै विद्युत फिडर, सुरक्षाका लागि सशस्त्र प्रहरी बलको पोष्ट, एकीकृत भन्सार चेक पोष्ट लगायतका पूर्वाधारको निर्माण गरिने छ।

आगामी ५ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको औद्योगिक क्षेत्रको निर्माण कार्य सम्पन्न गर्न करीब ८ अर्ब ७ करोड लाग्ने अनुमान गरिएको छ।

औद्योगिक क्षेत्रको निर्माण सम्पन्न भएपछि करीब १० हजार जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने छन्। औद्योगिक क्षेत्रको निर्माणपछि रोजगारीको अवसर सृर्जना भइ आर्थिक समृिद्धको बाटोमा अगाडि बढ्न सहज हुने नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए।

आर्थिक विकास र समृद्धिका लागि उद्योग, कलकारखाना सहज रुपमा खोल्न अत्यावश्यक भौतिक पूर्वाधारसहितको सात वटै प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले बताए।

औद्योगिक क्षेत्रको निमार्णको प्रक्रिया शुरु भएलगत्तै १ सय २२ जना उद्योगी व्यवसायीले औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि निवेदन दर्ता गराएका छन्।

औद्योगिक क्षेत्रमा पेन्ट, साबुन, खाद्यान्न, प्लास्टिक, स्टिल, रबर, विद्युत तार, टेक्सटाइल, छाला, खानेपानी, इलेक्ट्रोमेकानिकल, डिष्ट्रिलरी र प्लाइउड उद्योगका लागि प्रस्ताब आएको बस्नेतले बताए।

उद्योग स्थापनाका लागि झन्झटिलो कानूनी प्रक्रिया, पूर्वाधारको अभाव तथा जग्गाको मूल्य अत्यधिक भएकाले व्यवसायीले खेप्नु परेको समस्या हल गर्न सरकारले प्रयास गरिरहेको बस्नेतले बताए।

Facebook Comments