सय वर्षमा पनि कुलो निर्माण अधुरै

जुम्ला–सुन्दा अचम्म लाग्न सक्छ तर जुम्लामा निर्माण शुरु गरिएको एक शताब्दीपछि मात्र एउटा कुलो निर्माण भएको पाइएको छ ।

साविकको कुडारी गाविस ४, ५, ६ र ७ वडा जोड्ने, हालको तिला गाउँपालिका–४ जुम्लाको झारखेत सिँचाइ कुलो निर्माण कार्य शुरु भएको एक शताब्दीभन्दा बढी अवधि लगाएर निर्माण भएको पाइएको हो ।

विसं १९६० मा निर्माण शुरु गरिएको उक्त कुलो १०३ वर्षाको अवधिमा सम्पन्न भएको झारखेत सिँचाइ कुलो निर्माण समितिका अध्यक्ष वीरबहादुर सिंहले बताए ।

“विसं १९६० मा साइमल शाही राजाले कुलो निर्माण शुरु गरेका थिए” उनले भने , “केही भाग खने पनि सबैभन्दा जटिल भाग ‘धादुन’ को भीर निर्माण शुरु भएको १०३ वर्षपछि मात्र काटेर अघि बढ्न सकियो ।”

उनले अगाडि भने, “१९७० सालमा यहाँका रणवीर शाहीले दाङका खन्याल जातिलाई ल्याएर कुलो निर्माणको प्रयास गरेका थिए भने १९८० सालमा ठेणेनाथ, पृथ्वीनाथ योगीले कुलो खन्न गरेको प्रयास सफल हुन सकेन ।”

विसं. २०४०÷४५ मा रावतवाडा गाउँका मोतीलालनाथ, दलनाथ, खाम्मनाथ, रामनाथ योगीले प्रयास गरे पनि ‘धादुन’ को अप्ठ्यारो भीर कटाउन नसकेको उनले बताए । “हामीले विसं २०५३ देखि २०६३ सम्म श्रमदान ग¥यौँ” सिंहले भने , “अप्ठ्यारो भीर काटेर बल्ला कुलो निर्माण गर्न सफल भयौँ ।”

उनले आफ्नो नेतृत्वमा साँपुल्ली गाउँका जङ्गु शाही, शेरबहादुर, दलबहादुर, हरिबहादुर, हंशबहादुर, दलवीर, नन्दबहादुर, मानसिंह, प्रदीप, नरवीर, गोर्ख, चक्रबहादुर शाही, मोहन हमाल र रावतवाडा गाउँका गम्भीरनाथ, पृथीमलनाथ, गङ्गानाथ, धनवीरनाथ, लालचन्द्रनाथ, धननाजे, परेनाथ, हंशनाथ, गोरेनाथ योगी, फागुने गिरी, आदिचन्द्र चौलागार्इं, नन्दकृष्ण उपाध्याय र लक्ष्मीप्रसाद चौलागार्इंको सहयोगमा निरन्तर १० वर्ष श्रमदान गरी कुलो निर्माण गरिएको बताए ।

अध्यक्ष सिंह भन्छन् , , “सो कुलोमा ३२ हजार जनाको श्रमदान परेको छ । रु एक करोड १२ हजार बराबरको श्रमदानबाट कुलो निर्माण हुन सक्यो ।” उनका अनुसार ४०० मुरी जमीन सिँचाइ हुने गरी बनेको चार किमी कुलोबाट हाल करीब ३५१ घरधुरीले लाभ लिँदै आएका छन् ।  (रासस)

Facebook Comments