प्रदेश ३ ले वैशाखदेखि विद्युतीय बस गुडाउने

    काठमाडौंं– प्रदेश ३ को सरकारले दिगो सार्वजनिक यातायात सञ्जाल विस्तार गर्न विद्युतीय सवारीसाधनमा यसै वर्ष ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ।

    प्रदेश सरकारले १३ वटै जिल्ला र अन्तर प्रदेश सवारी सञ्जाल विस्तार गरेर नागरिक आवागमन सहज र आर्थिक गतिविधिलाई चलायमान बनाउन आउँदो वैशाखबाटै विद्युतीय यातायात सञ्चालनमा ल्याउने तयारी गरेको छ।

    यसका लागि मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा मुख्य मन्त्री डोरमणि पौडेल, संघीय संसद सदस्य कृष्ण राई, प्रदेश सभा सदस्य दीपक निरौला, महानगरका प्रमुखसहितका पदाधिकारीसँग साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेसँग बैठक बसेको हो।

    सार्वजनिक यातायात सञ्चालनमा साझा यातायातले यस अघि स्थानीय सरकारसँग समन्वय गरेर काम गरेकोले विगत सिकाइ बुझ्न साझाका अधिकारीलाई बैठकमा सहभागी गराइएको हो ।

    बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक निजी– साझेदारितामार्फत सार्वजनिक यातायात सञ्चालन गर्ने लक्ष्य रहेको बताए। ‘इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गरेर वातावरणमा इन्धनजन्य सवारीबाट परेको असर कम गर्ने प्रदेशको नीति अनुरुप लगानी हुनेछ । यसका लागि आउँदो वैशाखबाट प्रदेश सरकारबाट सञ्चालित विद्युतीय बसहरु चल्नेछन्,’ उनले भने।

    मुख्यमन्त्री पौडेलका अनुसार त्यतिबेला सम्ममा प्रदेशको स्थायी राजधानी टुङ्गो लाग्यो भने त्यसैलाई केन्द्रमा राखेर तथा टुङ्गो लागेन भने काठमाडौंलाई केन्द्रमा राखेर यातायात सञ्चालन हुनेछ। नागरिकको जीवन पद्धतिलाई सहज बनाउन प्रदेश सरकार ठोस कार्यक्रमसहित अगाडि बढेको छ।

    प्रदेश सभा सदस्य दीपक निरौलाले, सार्वजनिक सवारी सञ्चालन गर्ने नीति कार्यान्वयनमा काम भइरहेको बताए।

    काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात प्रणालीमा सुधार ल्याउन लगानी गरिसकेको छ। यसबाट प्रतिफलको लाभभन्दा नागरिकलाई सहज सेवाको अपेक्षा गरिएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए।

    काठमाडौंको व्यवस्थापन सहजताका लागि प्रदेश र संघ सरकारसँग मिलेर महानगर लगानी गर्न तत्पर रहेको उनले बताए। ‘सहरभित्र ठूला सवारी साधन चलाएर अहिले काठमाडौंमा चलिरहेका साना सवारीलाई अन्य रुटमा लैजानुपर्ने महानगरले महसुस गरेको विषय हो,’ उनको भनाइ थियो ।

    अहिले स्थानीय तहमा गरेको अभ्यासका आधारमा प्रदेश सरकारसँग साझेदारी गर्न आफूहरु तत्पर रहेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बताए।

    साझा यातायातमा अहिले संघ सरकारको करीब २६ करोड, काठमाडौं महानगरको १५ करोड, ललितपुर महानगरको १ करोड रुपैयाँ तथा ललितपुरकै गोदावरी र महालक्ष्मी तथा काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको शेयर छ। यसबाहेक अन्य विभिन्न व्यक्ति र संस्था पनि साझाका शेयर सदस्य हुन्।

    Facebook Comments