गाई, गोरु र गोवद्र्धन पहाडको पूजा

ललितपुर– यमपञ्चकको चौथो दिन बिहीबार (आज) पर्यावरणीय महत्व बोकेका गाई, गोरु र गोवद्र्धन पहाडको पूजा गरिएको छ ।

कार्तिक शुल्क प्रतिपदाका दिन गाई, गोरु र गोवद्र्धन पहाडको पूजा गरेर मनाउने गरिन्छ । हिन्दु धर्म–संस्कृतिमा गाईको स्थान सधै उच्च रहेको छ ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिएको संस्कृतिविद् डा चिन्तामणी योगी बताउँछन् ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने ऊर्जालाई ग्रहण गरी दूध, दही , ध्यू, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति संचार गर्ने प्राणी भएकाले यसको वैज्ञानिक महत्व पनि छ ।

नेपालका केही समुदायमा मंगलबार कात्तिक कृष्ण औँसीकै दिनमा गाईलाई लक्ष्मी मानेर पूजा गरिसकिएको छ । शास्त्रका अनुसार भने औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

वर्षभरि प्रयोग हुने खेतबारीमा प्रयोग हुने गोरुको सम्मानका लागि पूजा पनि गरिन्छ । गाउँघरमा गोरु तिहारलाई हलि तिहार पनि भन्ने चलन रहेको छ ।

वर्षभरी हलो जोतेर अन्न उव्जनी गर्न सहयोग गर्ने गोरुलाई आजको दिन विशेष पूजा–आजा गरिन्छ ।

पहिले–पहिले खेत–बारी जोतेर गोरुले खाद्यान्न उव्जनीमा महत्वपूर्ण सहयोग गर्दथे । कुनै पनि विउ विजन रोप्नु भन्दा पहिले गोरुलाई जोतेर मात्र लगाउने गरिन्थ्यो ।

रोपाइँ गर्दा र धान काट्दा दाँइ गर्ने काममा पनि गोरुकै प्रयोग हुन्थ्यो । तर पछिल्लो समय खेतीपाती गर्नको लागि विभिन्न प्रविधिहरु आएका छन् ।

जोत्नका लागि ट्रयाक्टर , जोत्ने अरु मेसीन र दाँइको सट्टा धान झार्ने मेसीनले गर्दा गोरुको प्रयोग अहिले घट्दै गएको छ ।
यी सामग्रीहरु आउनु भन्दा धेरै वर्ष अघि देखि गोरुको परोपकार र सहयोगलाई सम्झेर आजको दिन गोरुको पुजा गर्ने चलन छ । गोरु भगवान् शिवको वाहन पनि हो।

गाई र गोरुलाई सिंगारेर पिठो र अबिरको छाप लगाउने गरिन्छ । ती जनावरलाई पिठो र रोटी खानसमेत दिइन्छ । आजै जनैपूर्णिमामा बाँधेको रक्षाबन्धन डोरो हातको नाडीबाट निकालेर गाईको पुच्छरमा बाँधिन्छ । यसो गर्नाले मरेपछि वैतरणी तर्न सजिलो हुने धार्मिक विश्वास छ ।

गोवद्र्धन पूजा
गाईको गोबरको थुप्रो लगाई गोवद्र्धन पर्वत सम्झिएर आजै पूजा गरिएको छ ।

पौराणिक कालमा भगवान् श्रीकृष्णले गोवद्र्धन पहाड उचालेर घनघोर वर्षाबाट गोकुलवासीको उद्धार गरेका थिए ।
त्यसवखत सो पर्वतले गाईवस्तुका लागि मिठामिठा घाँस , स्याउला दिनुका साथै विभिन्न जडिबुटि र वनस्पति पनि दिने गरेको शास्त्रमा उल्लेख छ ।

गोवद्र्धन पर्वतलाई पर्यावरणसँग पनि आधुनिक समाजले जोडेर हेर्ने गरेको छ ।  गाई, गोरु र गोवद्र्धन पहाडको एक–अर्कामा घनिष्ठ सम्बन्ध छ ।

आज देउसी पनि खेल्ने परम्परा छ ।

Facebook Comments