भाइटीकामा मात्र खुल्ने बालगोपालेश्वर मन्दिर लथालिंग

काठमाडाै‌ं-मल्लकालीन सभ्यताको इतिहास बोकेको रानीपोखरीको पुनर्निर्माण अन्यौलमा रहँदा धार्मिक, सांस्कृतिक पर्वमा असर परेको छ।

पुरानो संस्कृति र मल्लकालीन इतिहास बोकेको सम्पदा १२ वैखाख २०७२ को भूकम्पका कारण क्षतिग्रस्त बन्दा पुनर्निर्माण थालिएकोमा कंक्रिट प्रयोग भएपछि ठेक्का रद्ध गरिएकोमा फेरि पुनर्निर्माण कहिले हुने भन्नेमा अन्यौल छ। जसकारण रानीपोखरी परिसरमा रहेको बालगोपालेश्वर मन्दिर पनि लथालिंग अवस्थामा छ।

तिहारको भाइटीकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिर पुनर्निर्माण नहुँदा त्यससँग जोडिएका धार्मिक, सांस्कृतिक र सामाजिकमहत्वमा असर परेको संस्कृतविद्हरु बताउँछन्। दिदीबहिनी नहुनेका लागि वर्षमा एकपटक मात्रै खुल्ने मन्दिरको मूर्ति राष्ट्रिय संग्रहालय, छाउनीमा छ ।

‘भूकम्प गएर क्षति पु्याएको ३ वर्ष नाघिसक्दा पनि पुनर्निर्माण नहुँदा दिदीबहिनी र दाजुभाइ नहुनेहरू जमघट भएर पूजा गर्ने थलो रानीपोखरी र बालगोपालेश्वरमा त्यति उत्साह देखिदैन,’ संस्कृतिविद् एवं इतिहास अश्न्वेषक डा. रमेश ढुङ्गेलले भने, ‘दाजुभाइ या दिदीवहिनी नहुनेको भावनामा अलिकति चिसोपना आउने अनुभूति हुनसक्छ।’

बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण शुरुमा काठमाडौं महानगरपालिकाले थालेपनि प्राचिन स्मारक ऐनविपरीत पुनर्निर्माण भएपछि पुनर्निर्माणको जिम्मा पुरातत्व विभागले लिएको थियो। तर, पुरातत्व विभागले ग्रन्थकुट नभइ गुजम्ब शैलीमा पुनर्निर्माण थालेपछि आलोचनाका कारण स्थगन भएको छ। यद्यपि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विज्ञ सम्मिलित समितिको सिफारिसको आधारमा पुनर्निर्माण थाल्न पुरातत्व विभागलाई निर्देशन दिइसकेको छ।

काठमाडौं महानगरपालिकाका अनुसार यसपाली पनि रानीपोखरीको पुल अगाडि नै मूर्ति राखेर दर्शनको ब्यवस्था मिलाइने छ।

छाउनीमा राखिएको मूर्तिलाई दर्शनार्थीको चाप हेरी शुक्रबार भाइटीकाको दिन अवेरसम्म रानीपोखरीमा राख्ने तयारी भएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पुनर्निर्माण नभएको रानीपोखरीमा जाँदा समस्या हुने भएकाले बाहिरैपट्टि सर्वसाधारणलाई जमघट गर्ने व्यवस्था मिलाइएको बताइन्। ‘भित्र जाँदा समस्या उत्पन्न हुन्छ, त्यहाँको पुल पनि कमजोर छ,’ उनले भनिन्, ‘त्यसैले बाहिरबाटै दर्शनको व्यवस्था मिलाइनेछ।’

Facebook Comments