नदी, पोखरी सफाइ गर्ने उत्सव बन्दै छठ

इटहरी–सुनसरी र मोरङ जोड्ने बुढी खोलाको सफाइमा शनिबार सक्रिय थिए इटहरीका सामाजिक अभियन्ता सुरेन्द्र तामाङ। वातावरण वा पानी दिवसको अवसरमा नभएको सफाइमा थिए तामाङ। दसैं र तिहारमा समेत सफाइ नभएको बुढी खोलाको सफाइमा तामाङ र इटहरी अन्य युवाहरूलाई जुटाएको थियो छठ पर्वले।

सन्दर्भ इटहरीमा जोडिएको दुई जिल्ला भएर बग्ने बुढी खोलाको मात्रै होइन विराटनगरको सिंगिया खोला पनि छठको अवसरमा धमाधम सफाइ हुँदैछ। आइतबार विराटनगर महानगरले डोजर पठाएर सफाइ गरेको सिंगिया खोलामा सोमबार सफाइमा व्यस्त थिए, स्थानीय युवा सुरज साह।

विराटनगरको न्यूरो अस्पताल क्षेत्रमा बस्ने साह आफ्नी काकीले ब्रत बस्ने घाट बनाउनु अगाडि खोला सफाइमा देखिए। पुल मुनि घाट बनाउदै गरेका साह फरूवा बोकेर खोला सफाइमा सक्रिय थिए।  विराटनगरको हाटखोला क्षेत्रको सिंगिया खोला जस्तै सोमबार दिउँसो सफाइ अभियान विराटनगरकै पिच्राहा नहरमा पनि देखियो। विराटनगर जनपथका गणेश सहनी आफ्ना अन्य साथीहरूसँगै नहर धमाधम सफाइ गर्दै थिए।

आफ्ना परिवारका सदस्यहरूले ब्रत बस्न लागेको भन्दै सफाइमा व्यस्त सहनीले नगर नजिकै भएकाले सिंगिया खोला र केसलिया खोला गएर पूजा गर्नु नपरेको बताए।

नेपालको पूर्वी तराईका इटहरी र विराटनगरका खोला र नहर जस्तै पोखरीको सफाइ गरिएको छ। पाँच दिने छठ पर्वको मंगलबार र बुधबार नदी, खोला, नहर वा पोखरीमा गएर सूर्यलाइ अर्घ दिनलाइ यसरी जनस्तरबाट सफाइ भइरहेका छन्। सफाइ गरिएका नदी, खोला, नहर र पोखरी क्षेत्रमा झिलिमिली बनाएर छठका ब्रतालु र आगन्तुकलेसँगै छठ मनाउँछन्।

हरेक बर्ष तिहार सकेपछि आउने कात्तिक शुक्ल पक्षको षष्ठि तिथिमा आउने छठ सम्झेर सबै पानीका स्रोतहरू जोगाउनुपर्ने वातावरण क्षेत्रका अभियन्ताहरू बताउँछन्। हालासालै जर्मनीको संघीय सरकारबाट ग्रिन ट्यालेन्ट अवार्ड पाएका धरानको कृषि इन्जिनियरिङका उपप्राध्यापक सागर काफ्ले छठको सांस्कृतिक र वातावरणीय पक्षको सम्बोधन गर्न खोला, नदी, नहर र पोखरी सफाइ हुनुपर्ने बताउँछन्।

नवीकरणीय ऊर्जामा दक्षिण कोरियाबाट स्नातकोत्तर गरेका उपप्राध्यापक काफ्ले यस्तो सफाइले पृथ्वी र कृषकलाई हित गर्ने बताउँछन्। ‘पोखरीको जमेको पानी, खोला, नदी र नहरको कुदेको पानीमार्फत् हाम्रो ‘ग्राउन्ड वाटर रिचार्ज’ (भूमिगत पानी पुनर्भरण) हुन्छ,’ काफ्ले भन्छन्, ‘यसले पृथ्वीलाई निस्सासिन दिँदैन । भूमिगत पानीको स्रोत बढाउँछ।’

इटहरीका वातावरण अभियानकर्मी सन्दीप पौडेल खोला, नदी, नहर तथा पोखरी सफाइ गर्न छठ कुर्न नहुने बताउँछन्। हामीलाई पानीको स्रोत जोगाउनदेखि सिंचाइ हँुदै सुन्दरताको लागि पनि पानी चाहिने भएकाले पानीका स्रोतहरु जोगाउनु सदैब आवश्यक रहेको पौडेलको तर्क छ।

किप इटहरी क्लिन (केआइसी) नामक सामाजिक अभियानका संस्थापक पौडेल पानीका स्रोत जोगाउन अनिवार्य भएको बताउँछन्। ‘कृषि भूमिको सिँचाइदेखि आगलागी नियन्त्रण गर्न खोला, नदी, नहर र पोखरीको पानी आवश्यक छ। त्यहि भएर छठ पर्व मात्र नभइ अन्य समायमा पनि सफाइ र संरक्षण गर्न सर्वसाधारण र स्थानीय सरकार लाग्नुपर्छ ।’

Facebook Comments