खेतमा अन्न होइन ढुंगा, बालुवा फल्छ

डडेल्धुरा–‘ऊ त्यो पारिसम्म देखिएको बगर मेरो खेत हो, ६३ रोपनी जग्गा थियो। तर, अहिले यो बगरमा ढुंगा र बालुवा फल्छ।’

पुन्तुरा खोला पार गर्न लागेका ६४ वर्षीय नरबहादुर बमले लामो सुस्केरा हाल्दै भने, ‘मेरो मात्र होइन यहाँका प्राय ः को खेतमा ढुंगा र बालुवा फल्छ।’  डडेल्धुराको जोगबुढाका ५९ जना बाढीपीडित संगठित भएका छन्, त्यसका संयोजक हुन्, बम।

बमसँग कुनै बेला ६३ रोपनी खेत थियो, खान लगाउन समस्या थिएन। तर, पुन्तुरा खोला र रंगुनखोलामा २०६२÷०६३ सालमा आएको बाढीले भात खाने खेत एकाएक बगर बनाइदियो। उनी भन्छन्, ‘लालपूर्जा हतकट्टी गर्ने सरकारले १२ आना जग्गा गर्न खोज्यो हामीले मानेनौं । मैले अहिले पनि यो जग्गाको पोत (कर) तिरेको छु।’

खेत बगरमा परीणत भएपछि बमसँगै यहाँका बाढीपीडित अहिले मुआब्जा मागिरहेका छन्। तर, कुनै सुनुवाइ नभएको उनको गुनासो छ।

उता रंगुन खोला यता पुन्तुरा खोला। उर्लेर मिसिने दोभान परशुराम नगरपालिकाको वडा नम्बर ६ मा पर्छ। वातावरण पत्रकार समूहले आयोजना गरेको पानी छलफलमा परशुराम नगरपालिका–६ सिमलखेतका बाढीपीडित हिरानन्द भट्टले बाढी र खहरेले अत्यन्तै दुःख दिएको बताए। उनले २०६३-०६४ सालको ठूलो बाढी र खहरेका कारण धेरैको घर, पसल, खेतबारी तहसनहस बनाएको बताउँदै त्यति बेलाका पीडितले अहिलेसम्म २–४ बोरा चामल राहत बाहेक अन्य कुनै क्षतिपूर्ति वा सहयोग नपाएको गुनासो गरे।

उनी मात्रै होइन यहाँका अधिकाशं बाढीपहिरोपीडितको व्यथा उस्तै छ।  जनताबाट बाढीपहिरो नियन्त्रणका लागि प्रयास भैरहेको भइरहेपनि राज्यले समस्यालाई बुझ्न नचाहेको त्यहाँको एक विद्यालयका अध्यक्ष गोरे थापाले गुनासो गरे। ‘नगरपालिकाले मात्रै गरेर नहुने भएकाले हामीलाई प्रदेश र केन्द्र सरकारले गुरु योजना ल्याई समस्या समाधान गरिदिनुपर्छ,’ उनले भने।

बम भन्छन्, ‘यो बाढी पहिरो आउने कारण भनेको वनजंगल विनास नै हो।’ भित्री मधेशको सरगौडादेखि कराली सम्मको वन विनासका कारण पछिल्लो समय बाढीपहिरोको समस्या बढिरहेको उनको ठम्याइ छ। रंगुन र पुन्तुरा खोला मिसिएर २०४८ सालदेखि बाढीले कटान सुरु गरेर जमिन बग्दै गएकोमा २०६२ सालमा सिमलखेतको विद्यालय बगाएको थियो। २०६४–०६५ मा असोज ५ र ६ को भीषण बाढीले ठूलो क्षति गरेको स्थानीयको भनाइ छ

वृक्षरोपण गर्न सके आगामी दिनमा विपद् न्यूनीकरणमा सहज हुने उनको आँकलन छ।  स्थानीय देवबहादुर साउँद वन संरक्षणसँगै गाउँघरमा वृक्षरोपण गरेमा बाढी पहिरोनियन्त्रणमा सहयोग पुग्ने बताउँछन्।

बाढी पहिरोका कारण महिला र बालबालिका बढी पीडित हुने गरेको फकलासैन महिला समूहकी अध्यक्ष चित्रादेवी सिहंले बताइन्। ‘मेरो घर महाकाली नदी र सानीरेगाडको बीचमा छ। वर्षाको एक महिना त हामी अर्काको घरमा बस्छौं। आकाशमा कालो बादल देख्यो भने मनमा बाढीपहिरो गइहाल्छ,’ उनले भनिन्।

वडा नम्बर ६ पूणाकी गंगादेवी भन्छिन्, ‘पुरुषहरू रोजगारीका लागि भारत जान्छन्। बाढी आउँदा महिला बालबालिकाले सास्ती खेप्नुपर्छ।’

परशुराम नगरपालिका– ६ का निमित्त वडा अध्यक्ष सरस्वती भट्ट स्थानीय तहको बजेटले मात्रै बाढीपहिरो नियन्त्रणका लागि योजना अगाडि बढाउन नसकिने बताउँछिन्। ‘यहाँको समस्या समाधानका लागि प्रदेश र केन्द्र सरकारँग पहल गरिनेछ,’ उनले भनिन्।

बाढीपहिरो नियन्त्रणका लागि नीतिगत व्यवस्था गरी नियमित रूपमा वृक्षरोपण गर्ने, विपत् व्यवस्थापन नियन्त्रणका लागि समिति निर्माण गरी कार्य गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन्।

पानी छलफलमा गरिएका प्रतिवद्धता

–नदी नियन्त्रणका लागि वडास्तरबाट विशेष योजना ल्याएर वडास्तरबाट हुन सक्ने कार्यक्रम सञ्चालन गरिनेछ ।

–बाढीपहिरो नियन्त्रणका लागि वडास्तरबाट गाउँपालिका र प्रदेश सरकारसँग पहल गरिनेछ।

–वृक्षरोपण गर्न बजेट विनियोजन गरिनेछ।

–विपत् व्यवस्थापन गर्न विपत् व्यवस्थापन समिति निर्माण गरी विपत् नियन्त्रण गरिनेछ।

–विपत् व्यवस्थापन गर्नका लागि विपत् व्यवस्थापन कोष निर्माण गरिनेछ।

–पहिरो जाने ठाउँमा अम्रिसो, बाँस जस्ता पहिरो नियन्त्रण गर्ने बोटबिरुवा रोप्ने योजना निर्माण गरिनेछ।

–डढेलो नियन्त्रणका लागि वार्षिक योजना बनाइने छ। र, त्यस विषयमा नीतिगत निर्णय गरिनेछ।

Facebook Comments