कर्णालीमा ‘मेघ’

    कर्णाली नदी।

    नेपालगञ्ज–कर्णालीको गाढा नीलो पानीमा सुनौला मधुर किरणहरु छर्दै विस्तारै अझ सूदूर लागेको थियो, एउटा साँझ। किनाराभरि मान्छेहरू छरिएका थिए। कर्णाली उस्तै गरी बगिरहेथ्यो निरन्तर। कोही बालुवाले उँचो भएको बगरमा टेन्ट गाड्दै थिए, कोही खानाको तयारीमा भने कोही कर्णालीलाई क्यामेरा अनि मोबाइलमा कैद गर्दै थिए।

    केही बेरपछि एउटा लस्कर आइपुग्यो। वरिपरि सुरक्षाकर्मीले घेरिएका एक जना हात जोड्दै त्यो बगरमा आइपुगे। ती थिए, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही। उनका लागि पनि टेन्ट तयार भइसकेको थियो।

    केहीबेरमा उनी कर्णाली अंकित नीलो टिसर्ट अनि हाप पाइन्टमा देखिए। दश वर्षे जनयुद्धका बेला जंगल नै घर बनाएका शाहीका लागि त्यो कुनै कष्टकर रात थिएन सायद।

    अर्काे दिन त्यहीँबाट रामाघाटसम्मको र्‍याफ्टिङ थियो। पाँच घण्टाभन्दा बढी कर्णालीको पानीमा जलयात्रा पनि, मुख्यमन्त्री शाहीको जीवनमा पहिलोपल्ट थियो। र्‍याफ्टिङबाट उत्रिएर आफ्ना मन्त्री अनि सहयोगीहरुलाई कर्णालीको पानी छ्यापिदिँदै थिए, उनी। केहीबेर पानी छ्यापेर उनले रमाइलो पनि गरे।

    ‘नदी भन्दासाथ त्यसलाई थुनेर बिजुली निकाल्ने भन्दा अरु सोंच आउँदैन तर, कर्णालीलाई त्यसरी थुन्नुहुन्न भन्ने लागेको छ,’ कर्णालीको पानीमा रमाइलो गरिरहेका उनी भन्दै थिए, ‘पानी भन्नासाथ हाइड्रोपावर मात्रै होइन रहेछ, कर्णालीको उपयोग, ड्याम बनाउनुबाहेक अरू पनि हुनसक्छन्।’

    र्‍याफ्टिङमात्रै होइन, बालुवामाथि टेन्टको बास थियो। उनलाई कर्णाली प्रदेशकै पर्यटनमन्त्री नन्दसिंह बुढाले पनि साथ दिएका थिए। अनि यो कर्णाली माहोलको साइत जुराएको थियो, नेपाल नदी संरक्षण संस्थाले।

    नदी संरक्षण संस्थाका अध्यक्ष हुन्, मेघ आले। तीन दशकदेखि उनको जिन्दगी नदीसँगै बगिरहेको छ। नदीहरूमै उनको जिन्दगी छ। सम्पूर्ण जीवन नै उनले पानीमै मिसाइदिएका छन्। जसरी चट्टान, खोंच अनि हिमाल, पहाडका कन्दराहरुबाट नदी बगिरहेका छन्, उसैगरी उनको जीवन पनि बगिरहेको छ । नदी संसार हो उनको लागि । बलौटे अनि बगरहरु उनका घरबास । बस् तीन दशकदेखि जीवन यसरी नै बगाइरहेका छन्, उनी।

    यही नदी यात्रको क्रममा कर्णालीसँग परिचय भएको करीब २७ वर्ष भइसकेको छ मेघ आलेको । अनि उनले एउटा मन्त्र नै बनाए कर्णालीको नाममा ‘ऊँ कैलाश, कर्णाली कर्म ।’ र, यही नदीको बारेमा बृहत बैज्ञानिक खोज अनुसन्धान गर्नका लागि उनले एउटा यात्रा तय गरे, कर्णाली नदीको उदगम स्थल तिब्बतबाट नेपाल हुँदै भारतको गंगा संगमस्थलसम्मको। ४४ दिने यात्राको मध्यतिर आउँदा नदी किनारमा बसेका यी जलयात्रीलाई स्वागत गर्न राजधानी सुर्खेतबाट कर्णाली प्रदेशका मुख्यमन्त्रीसहितको एउटा टीम दैलेखको राकमसम्म पुगेको थियो।

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही।

    दिनका गोधुली किरण कर्णालीको पानीमा पहेंलिदैँ गर्दा मुख्यमन्त्री शाहीले सबै यात्रीको निधारमा रातो टिका अनि गलामा खादा ओढाइदिए । त्यो बेला केही भावुक देखिएका आलेको मुहारभाव कर्णालीजस्तै शान्त थियो।

    त्यत्तिधेरै गड्गडाएर बग्दैन् कर्णाली। आफ्नो बेगलाई काबुमा राखेर निकै शान्त अनि गम्भीर लाग्छ कर्णाली । उसको यो स्वभाविक गुण हो । तिब्बतस्थित एउटा अचम्म लाग्दो पहाडको खोंचबाट जन्मिन्छ कर्णाली । ‘माप्चा खबाब’(मयुरको प्वांखजस्तो) आकारको पहाडी खोंचबाट बग्दै आउने कर्णालीले भारतसम्म धेरै नाम पाउँछ । नेपालमा बगुन्जेल यो कर्णाली नै बन्छ, भारत प्रवेश गर्नासाथ यो घाघंडा हुन्छ । अनि गंगा, शारदा हुँदै बंगाल पुग्छ । कर्णालीको परिचय यही नै हो ।

    अहिलेसम्म कर्णालीको मुहानबारे एउटा भ्रम थियो, त्यो के भने, कर्णाली कैलाश पर्वतको मान सरोबर नजिकैको ‘राकोस’)राक्षस तालबाट जन्मिएको हो भनेर । अनि कर्णाली नदीका कतिपय ठाउँहरुमा त्यसको पूजा पनि हुँदैनथ्यो । लाखौंँ खर्चेर कैलाश पर्वत पुग्ने लाखाैं पर्यटक मानसरोवरको पानी शीरमा छर्केर भक्तिभाव देखाउँछन् । तर, नजिकैको त्यो ‘राक्षस’ ताललाई कसैले फर्केरसमेत हेर्दैनन् । यही टोलीले त्यो भ्रमलाई चिर्दै अगाडी बढ्यो र, कर्णालीको वास्तविक मूल पत्ता लगायो । यो टोलीको अनुसन्धानको एउटा मुख्य उपलब्धी त्यही ‘माप्चा खबाब’ हो ।

    अनि समुद्रहरुमा पाइने ढुङ्गाहरु नै कर्णालीको सिरान हिल्साका पहाडहरुमा भेटिएका छन् । त्यसैले पनि यो एउटा प्रमाणित तथ्य हो कि, समुद्र बन्नुभन्दा अगाडि नै कर्णाली जन्मिसकेको थियो र, आफ्नो बाटो बनाइसकेको थियो । यो खोज अभियानको अर्काे महत्वपूर्ण उपलब्धी यो पनि हो । नदी संरक्षण संस्थाले अछामको बिनायकमा गरेको एउटा छलफल कार्यक्रममा आफ्नो खोजमूलक यात्राबारेमा बताउँदै गर्दा टोलीमा सम्मिलित बैज्ञानिक क्यारेन बेन्नेटले भनिन् ‘समुद्रभन्दा अघि जन्मिएर कर्णाली ती चटनहरु फोड्दै बगेको थियो, हामीलाई यो पक्का विश्वास भयो कि, कर्णाली समुद्र बन्नुभन्दा अघि नै बनिसकेको थियो ।’

    कर्णालीबारे यी र, यस्ता अनेकौँ तथ्यहरु पनि यो वैज्ञानिक अभियानले फेला पारेको छ । संस्थाले आगामी मार्च महिनासम्ममा कर्णालीका बारेमा विशेष प्रतिवेदन तयार गरिसक्ने जनाएको छ । ‘कर्णालीका बारेमा अनेकन नकारात्मक भ्रमहरु थिए, जसलाई हामीले नयाँ तथ्यहरुसहित चिर्न सफल भएका छौँ,’ अभियानमा सहभागी नेपाल वातावरण पत्रकार समूहका निवर्तमान महासचिव रमेश भुसाल भन्छन्, ‘यो सँगै कर्णालीसँग समृद्धिका थुप्रै सम्भावना छन् ।’ मूलबाट निस्किएर समुद्रमा मिसिने यो नदीसँग धेरै ऐतिहासिकता अनि पौराणिकताहरु पनि गाँसिएका छन् ।

    ‘कुनै बेला कर्णालीको तीर ‘रेशमी मार्ग’ थियो किनकि, मध्य, सूदूरको जिन्दगी यही तीरमा थियो। मध्य, सूदूरका पहाडी जीवन यही किनारै किनार भएर बोकिएका नून, तेल र चामलबाट धानिएको थियो,’ मुख्यमन्त्री शाही भन्छन्, ‘अनि यसलाई ‘सुवर्ण’ मार्ग पनि भन्न सकिन्छ किनकी कर्णालीमा धेरै सुन छ, भोटदेखि कर्णालीको पुछारसम्म सुन खोजेर जीवन बाँचेकाहरु पनि छन ।’ हुन पनि नदीमा सुन खोजेर पुस्तौँदेखि जीवन धान्दै आएका नेपालका सोनाह जातिको बस्ती अहिले पनि अधिकांश कर्णाली किनारमै छन् ।

    कर्णाली प्रदेशले यो नदीको सम्भावनाको बारेमा विस्तृत अध्ययन गर्दैछ । ‘एक वर्षलाई हामीले कर्णालीको सम्भाव्यता अध्ययनको वर्ष भनेका छौँ त्यसपछि हामी निक्र्याेलमा पुग्नेछौँ,’ शाही भन्छन् ‘पानी देख्यो कि जलविद्युत आयोजना बनाउने भन्ने सोंच मात्रै हुन्छ तर, हामी कर्णालीको पानीमा त्यो आवश्यक हो कि होइन भन्नेबारेमा पनि सोंच्न जरुरी छ।’

    मुख्यमन्त्रीको यो अभियव्यक्तिले चरम विवादमा अल्झिरहेको माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई पनि सीधै इंगित गरेको छ। उनको अर्काे योजना छ कर्णालीमा ड्याममात्रै बनाऔँ, ५,१० हजार मेघावाट बिजुली उत्पादन गरौँ नत्र केही वाट नामको मात्रै बिजुली निकाल्नका लागि नदी थुन्ने काम त गर्नु भएन नि ?’

    चरम गरीबि, अभाव र अशिक्षाका कारण ‘कर्णाली’ अहिले देशमा ‘थेगो’ नै बनिसकेको छ । तर, शाहीको अठोट छ ‘कर्णालीलाई विकासको मोडल बनाएर देखाउँछौँ ।’ यो अठोट पूरा गर्ने एउटा सारथी सदियौँदेखि कर्णाली प्रदेशको छातीबाट बगिरहेको यो ‘कर्णाली’ पनि हो ।

    समृद्ध कर्णालीको महत्वाकांक्षी अभियानमा लागेका शाहीको एउटा निश्कर्ष छ, ‘कर्णालीका मान्छेसँग अन्तर्राष्ट्रिय शक्तिले ब्रेनको वार लडे ।’ अनि अब उनको निचोड हो ‘हामीलाई पराजित गरेर माग्ने बनाएको त्यही ब्रेनको वारबाट अब फेरि हामी कर्णालीमा चेतनाको अभियान सुरु गर्नेछौँ ।’ कर्णाली यात्राको यात्रानुभव सुनाउँदै गर्दा पत्रकार भुसालले एउटा स्मरण भन्दै थिए, ‘एक जनालाई त मैले आफूले टेक्दै आएको लौरोसमेत दिनुप¥यो, किनकि टेकिरहेको लौरोबाहेक त्यो बेला मसँग अरु केही थिएन।’ हुँदाहुँदै पनि माग्नैपर्ने एउटा डरलाग्दो अनि दुःखपूर्ण संस्कारले जरा गाडिसकेको छ कर्णालीमा। त्यसैले पनि सबैभन्दा पहिले चेतनाको अभियान जरुरी देख्छन् मुख्यमन्त्री शाही। अनि त्यसपछि बल्ल समृद्धिको कुरा हुन्छ । हो, त्यही समृद्धिको एउटा मुख्य सारथी कर्णाली पनि हुनसक्छ ।

    कर्णालीसँग अनेक विशेषताहरु गाँसिएका छन्। यो संसारकै उत्कृष्ट पाँचमध्य एक नदी हो। अनि संसारभरिका पारिस्थितिकीय प्रणालीहरु यही नदीमा पाइन्छन् । नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेका अनुसार र्‍याफ्ङिको लागि संसारकै ‘साहसिक गन्तव्य’को सूचीमा पनि कर्णाली आउँछ । कायकिङको लागि विश्वका तीनमध्ये एक हो कर्णाली अनि ¥याफ्टिङको लागि उत्कृष्ट पाँच मध्येमा आउँछ । त्यसैले आले भन्छन् ‘नदी भन्नासाथ ढुङ्गा, बालुवाको खेती, फोहोर थुपार्ने ठाउँ, जलविद्युत आयोजना वा ड्याममात्रै सोंच्ने भन्ने हुँदैन, हामीले नदीलाई बेचेरमात्रै होइन, सदुपयोग गरेर पनि देशमा समृद्धि ल्याउनुपर्छ भन्ने अभियान पनि हो यो ।’

    नदी संरक्षण संस्थाका अध्यक्ष मेघ अाले।

    नेपाल, भारत तथा अमेरिकी वैज्ञानिक विज्ञहरुको टोलीका प्रमुख पनि हुन् नदी संरक्षण संस्थाका मेघ आले । उनी नेपालकै पर्यापर्यटनका विज्ञका रुपमा पनि चिनिन्छन् । आफूलाई पर्यटक गाइडका रुपमा चिनाउने उनले आफ्नो जीवनको लगभग आधाभन्दा बढी नदीमै बिताइसकेका छन् । कर्णालीको पानी शीरमा सिंचिदै उनी भन्दै थिए, ‘मेरो त इच्छा यही हो कि, म मरेपछि मेरो लाश यही कर्णालीमा जलाइयोस्, मेरो खरानी यही पवित्र कर्णालीमा मिसाइयोस् ।’

    तीन दिनसम्म उनको टोलीसँगै हाम्रो कर्णाली यात्रा दैलेखको रामाघाटसम्म थियो । त्यहीँबाट मुख्यमन्त्रीलाई विदाइ पनि गरियो । अनि हामी पनि त्यहीँबाट नेपालगन्ज फर्कियौँ । उनीहरुको यो यात्रा निश्चित अवधिका लागि थियो । तर, आलेको नदी यात्रा अनवरत छ । हामीले हात हल्लायौैँ विदाइका । उनी ¥याफ्टिङमा बगे, कर्णालीकै शान्त बेगमा । मनमनै कामना गरेँ, कर्णालीको यो प्रेमील ‘मेघ’ कहिल्यै नफाटोस् ।

    Facebook Comments