तीन लाख हरियो स्टिकर वितरण, थप चार लाख छापिदै

काठमाडौं–तीन लाख सवारीसाधनले प्रदूषणको मापदण्ड जाँच गराइएर हरियो स्टिकर लिएको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका अनुसार तीन महिनाको अवधिमा तीन लाख गाडीले प्रदूषणको जाँच गराइ हरियो स्टिकर लिएका हुन्।सरकारले भदौ १ गतेदेखि ११ वटै उपमहानगर तथा ६ वटा महानगरपालिकामा गुड्ने चारपांग्रे गाडीलाई हरियो स्टीकर अर्थात् प्रदूषण जाँचपास अनिवार्य गरेको थियो। जस अनुरुप तीन लाख गाडीमा हरियो स्टिकर टाँसेको विभागले जनाएको छ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार विभिन्न ठाउँमा प्रदूषण जाँच गर्ने मेसिन राखिएको छ। ‘जस अनुसार काठमाडौं उपत्यका लगायत देशका महानगर तथा उपमहानरमा हरियो स्टिकर बिनाका गाडी गुडाउँनमा रोक लगाइएको छ,’उनले भने, ‘तर,प्राविधिक कर्मचारी तथा हरियो स्टिकर सकिएका कारणले नियम कार्यान्वयन गर्ने समस्या भएको छ।’

उनले अहिले टेकु तथा ठुलो भर्याङमा प्रदूषण जाँच गर्ने मेसिन राखिएको बताए। अहिले हामीसँग भएको हरियो स्टिकर लगभग सकिएको छ,’उनले भने‘थप ४ लाख हरियो स्टिकर छाप्नका लागि खरिद प्रक्रिया अगाडी बढाएका छौं।’

चारपांग्रे सवारीसाधनमा अनिवार्य रूपमा हरियो स्टिकर लिनुपर्ने नियम लागू गर्ने घोषणा गरे अनुरुप डिजेल गाडीको प्रदूषणको मापदण्ड जाँच गर्न ‘स्मोक मिटर’ २० र पेट्रोल गाडीको प्रदूषणको मापदण्ड जाँचका लागि ‘ग्यास एनालाइजर’ २० वटा गरी ४० नयाँ मेसिन विभागले असारमा खरिद गरेकोे थियो।

विभाग अन्तर्गतका १५ वटा कार्यालय,६ वटा सेवा कार्यालय, यातायात व्यवस्था कार्यालय ललितपुर, यातायात व्यवस्था सेवा कार्यालय काठमाडौं,सवारी परीक्षण कार्यालय काठमाडौंबाट सवारी प्रदूषण टेकु तथा ठुलो भर्याङबाट सवारी जाँच गरिँदै आएको छ।

प्रदूषण जाँचमा फेल भएका सवारीसाधनलाई रातो स्टिकर दिइन्छ। नियमानुसार निजी सवारीधनीले वर्षको एकपटक तथा सार्वजनिक सवारीसाधनले ६–६ महिनामा प्रदूषण जाँचपास गराएर हरियो स्टिकर लिनुपर्छ। सवारीसाधनमा धुँवाको मात्रा हजार पिपिएम र कार्बनमनोअक्साइटको मात्रा तीन प्रतिशत हुनुपर्ने तथा धुँवाको मात्रा २ दशमलब ४४ एचएस्यु हुनुपर्ने मापदण्ड छ।

वन तथा वातावरण मन्त्रालयले गत वैशाखमा सार्वजनिक गरेको वातावरणको वर्तमान अवस्थाबारेको स्थितिपत्रमा वायू प्रदूषणमा सवारी साधनको ३७ प्रतिशत भूमिका रहेको उल्लेख छ। यातायात व्यवस्था विभागका अनुसार नेपालमा कुल ३० लाख ८ हजार १ सय ९ सवारी साधनमध्ये २३ लाख ७२ हजार ३ सय १६ मोटरसाइकल रहेका छन्।

Facebook Comments