कोप–२४ मा राष्ट्रपति भण्डारीले भनिन्–विश्वको तापक्रम वृद्धि रोक्न नेपालको ठूलो योगदान

    काठमाडाैं–राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि निरन्तर रुपमा जलवायु परिवर्तनको दुष्प्रभावको मारमा पर्दै आएको बताएकी छन्।

    पोल्याण्डमा शुरू भएकाे जलवायु परिवर्तन संरचना सम्बन्धि महासन्धिको २४ औँ सम्मेलन (कोप–२४० मा सोमबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘हाम्रा उच्च पर्वतमालाका हिउँ पग्लँदैछन्, सेता हिमालहरु काला र फुस्रा बन्दैछन, हिमताल विष्फोटनको खतरा बढ्दैछ र हाम्रा नदीका जलाधार प्रणाली प्रभावित हुँदैछन्।’

    हिमपहिरो, बाढीपहिरो र खडेरीका घटना पहिलेभन्दा विषम हुन थालेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले प्राकृतिक स्रोतमा परेको नकारात्मक प्रभावले गाउँघरको खानेपानी प्रणाली प्रभावित हुँदै गएको बताइन्। ‘राष्ट्रिय आयको ठूलो हिस्सा प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या समाधानमा खर्चिनु परेको छ। खाद्यान्न उत्पादनको मुख्य भूमि तराई बारम्बार ठूलो बाढीको चपेटामा पर्ने गरेको छ। कृषि उत्पादन प्रभावित भएको छ,’ राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण नेपालमा परेको असरबारे कोप–२४ लाई अवगत गराइन्।

    तस्बिर स्राेत : मन्जित दाहालकाे ट्वीटरबाट।

    जलवायु परिवर्तनका कारण भएका घटनाको प्रत्यक्ष असर महिला र विपन्न वर्गमा झन बढी पर्ने गरेको उनको भनाइ छ। ‘नेपालका गाउँबेसीमा महिलाहरुले घरायसी प्रयोजनका लागि घन्टौ लगाएर पानी बोक्नु परेको दुःख हामीले बुझेका छौं,’ उनले भनिन्।

    राष्ट्रपति भण्डारीले भनिन्, ‘नगरेको नबिगारेको कसुरको सजाय भोग्नु परेको जस्तो अनुभूति हामीलाई हुने गरेको छ। निर्दोषहरूमाथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व हो भन्ने कुरा म यहाँहरु सबैलाई स्मरण गराउन चाहन्छु।’

    हालै सार्वजनिक गरिएको आइपीसीसीको विशेष प्रतिवेदनले तय गरेको १.५ डिग्री सेल्सियस तापक्रम स्थिर राख्ने थ्रेसहोल्डले विश्व समुदायलाई अझ प्रतिबद्ध भई कार्बन उत्सर्जन न्यून गर्ने बाटोमा लाग्न प्रेरित गर्ने उनको विश्वास छ। ‘हामी प्राकृतिक रुपमै विश्वको तापक्रम वृद्धि रोक्न ठूलो योगदान गरी आएको राष्ट्र हौं,’ उनले भनिन्, ‘सर्वोच्च शीखर सगरमाथा लगायत तमाम हिमशृङ्खला तथा पहाडहरुले हावा र पानीलाई चीसो, शितल र स्वच्छ पार्ने काम गरिरहन्छन्।’

    वातावरण र मौसमका सर्जक र संचालक हिमाल र समुद्र नै रहेको उल्लेख गर्दै भण्डारीले भनिन्, ‘हिमालको हिउँ विस्तारै पग्लिएर धर्तीलाई निरन्तर चिस्याउने र रसीलो पार्ने विशिष्ट भूमिका खेलेको हुन्छ।’

    बढी कार्वन उत्सर्जन गर्ने र विकसित देशहरुले यो महत्त्व अनुभूत गर्न र हिमाली देशहरुको वातावरण नबिग्रियोस् भनेर ध्यान दिनु जरुरी रहेको उनको भनाइ छ। ‘जलवायु परिवर्तन सम्वन्धि नमूना आयोजना लागू गर्न र राष्ट्रिय एवं स्थानीय अनुकूलन कार्ययोजना बनाई जलवायु परिवर्तनको जोखिम न्यून गर्न हामी प्रयासरत छौं,’ उनले भनिन्।

    पेरिस सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न, जलवायु परिवर्तन नीति र जलवायु परिवर्तनमा राष्ट्रिय योगदान (ल्म्ऋ) लाई पुनरावलोकन गरी समय सापेक्ष बनाउने र तिनको कार्यान्वयनका लागि दीर्घकालिन रणनीति तयार भई रहेको पनि भण्डारीले जानकारी दिइन्।

    राष्ट्रपति कार्यालयमा विद्युतीय सवारी साधनको प्रयोग शुरु गरिसकेको जानकारी दिँदै उनले यसलाई क्रमशः अन्य क्षेत्रमा विस्तार गरिने बताइन्।

    यसैगरी, नेपालले ‘शिवालिक’का रुपमा परिचित चुरे क्षेत्रमा एकीकृतरुपमा वातावरण संरक्षण तथा जीविकोपार्जनका कार्यक्रमहरु लागू गर्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अगाडि बढाएको र उक्त परियोजनाले यस क्षेत्रको भूभाग मात्र होइन छिमेकी मुलुकहरुको वातावरण संरक्षण तथा सम्बद्र्धनमा समेत ठूलो टेवा पुग्ने उनको विश्वास छ।

    कोप २४ ले पेरिस सम्झौताको प्रभावकारी र जवाफदेहीपूर्ण कार्यान्वयनको सही बाटो पहिल्याउनेछ भन्नेमा नेपाल विश्वस्त रहेको उनको भनाइ छ।

    Facebook Comments