बाँके–बर्दिया: डिप बोरिङ जीर्ण हुँदा आकाशे पानीको भरमा खेती

    नेपालगञ्ज–सिंचाइ सुविधा विस्तार गर्नका लागि करौडौं खर्च गरेर बाँके र बर्दियाका विभिन्न गाउँमा निर्माण गरिएका डिप बोरिङ बिग्रिएपछि किसान समस्यामा परेका छन्।

    जीर्ण अवस्थामा रहेकाे कम्दीकाे डिप बाेरिङ।

    एसियाली विकास बंैक लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा बाँके र बर्दियामा २०५४ देखि २०५८ सालमा निर्माण गरिएका १ सय ५० वटा डिप बोरिङमध्ये ४२ वटा बिग्रिएर जीर्ण अवस्थामा पुगेका हुन्। निर्माणताका एउटा डिप बोरिङको लागत ४० देखि ४५ लाख रहेको थियो।

    विद्युतको ट्रान्सफर्म, तार लगायतका उपकरण तत्कालीन माओबादी द्वन्द्वका बेला (२०५८ देखि २०६० साल) मा चोरी भएपछि बन्द भएका डिप बोरिङ हालसम्म मर्मतसम्भार नहँुदा किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य छन्।

    बाँकेमा ५७ हजार २ सय ५२ हजार हेक्टर खेतीयोग्य जमिन भए पनि ५२ हजार ८ सय ३८ हेक्टरमा मात्रै खेती हुँदै आएको छ। खेतीयोग्य जमिनमध्ये करीब १५ हजार हेक्टर अर्थात् २८ प्रतिशत क्षेत्रमा मात्रै सिंचाइ सुविधा पुगेको छ।

    त्यसैगरी, बर्दियामा कुल खेतीयोग्य जमिन ७५ हजार हेक्टर भएपनि हाल करीब ६० हजार एक सय हेक्टरमा खेती हुँदै आएको छ। खेतीयोग्य जमिनमध्ये करीब ४७ हजार ४ सय ६० हेक्टरमा सिंचाइ सुविधा पुगेको छ। डिप बोरिङबाट बर्दियामा १ हजार ९ सय ४५ हेक्टरमा सिंचाइ सुविधा पुगेको छ। १२ वटा डिप बोरिङ बिग्रिएर बन्द भएका कारण डिप बोरिङबाट सिंचाइ सुविधा पुगेको करीब ५ सय हेक्टरमा क्षेत्र घटेको छ।

    बिग्रिएका डिप बोरिङ लामो समयसम्म मर्मत नभएका कारण अधिकांश किसान आफ्नै लगानीमा स-साना बोरिङ गाडेर सिंचाइ गर्दै आएका छन्। बाँकेमा करीब ५ हजार ५ सय किसान निजी बोरिङ गाडेर सिंचाइ गर्दै आएका छन्। निजी बोरिङबाट थप करीब ३ हजार हेक्टरमा सिंचाइ सुबिधा पुगेको अनुमान नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलारे यादवको छ। बर्दियामा पनि निजी बोरिङबाट करीब २ हजार हेक्टरमा सिंचाइ हुँदै आएको अनुमान छ।

    आकाशे पानीको भरमा खेती हुँदा उत्पादनमा कम भइ लागत खर्च समेत उठाउन मुस्किल हुने गरेको बाँके हिरमुनियाका किसान कधै बर्माले बताए। ‘सिंचाइ सुविधा हुँदा वर्ष भरी नै खेती हुन्थ्यो, सिंचाइ सुविधा बन्द भएपछि वर्षमा मुस्किलले धान र गहुँ गरी दुई बाली मात्रै खेती हुने गरेको छ,’ उनले भने। सिंचाइ सुविधा पुगेको ठाउँमा धान र गहुँ बालीका अतिरिक्त आलु, तोरी, मसुरो, समेत गरेर तीनदेखि चार बालीसम्म खेती हुँदै आएको छ।

    डिप बोरिङ सञ्चालन हुँदा प्रति सेकेन्ड ४० लिटर पानी दिन्थ्यो। डिप बोरिङ सञ्चालनका जिल्ला कृषि ज्ञान केन्द्र (तत्कालीन जिल्ला कृषि विकास कार्यालय) को सिफारिसमा विद्युत प्राधिकरणले विद्युत महसुलमा ५० प्रतिशत छुट सुविधा दिँदै आएको छ।

    जीर्ण अवस्थामा रहेकाे पुरैनीकाे डिप बाेरिङ।

    कृषि मिटर जडान गरेका कृषकले प्रतियुनिट ४ रुपैयाँ ५५ पैसा मात्रै विद्युत महसुल बुझाउनु पर्छ।  एउटा डिप बोरिङबाट ४० हेक्टरमा जग्गामा सिंचाइ सुविधा हुँदा ४० देखि ६० किसान परिवार लाभान्वित हुँदै आएका थिए। डिप बोरिङ सञ्चालनका लागि सिंचाइ सुविधा लिने उपभोक्ताबाट डिप बोरिङ सञ्चालक समिति गठन गरिन्छ। त्यही समितिले कृषकबाट उनीहरूले खेतबारीमा सिंचाइ गर्दा खपत भएको विद्युतको युनिटका आधारमा रकम उठाएर प्राधिकरणलाई बुझाउने गर्छ।

    बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका तथा डडुवा गाउँपालिकाका उदयपुर, भवानियापुर, हिरमुनिया, कम्दी, पुरैना, पुरैनी प्रिपहवामा निर्मित करीब ३० वटा र बर्दिया जिल्लाको बार बर्दिया गाउँपालिकाको जमुनी लगायतका गाउँमा निर्मित करीब १२ वटा डिप बोरिङ बन्द अवस्थामा रहेको भूमिगत सिँचाइ कार्यालय नेपालगञ्जका इन्जिनियर राजकुमार भगतले बताए।
    ट्रान्सफर्म, तार लगायतका उपकरण चोरी भएका कारण बन्द अवस्थामा रहेका अधिकांश डिप बोरिङ मर्मतपछि सञ्चालन हुन सक्ने अवस्था भएपनि बजेट अभावका कारण मर्मत हुन नसकेका छैनन्। भूमिगत सिंचाइ कार्यालय नेपालगञ्जका इन्जिनियर भगतले भने, ‘मर्मतसम्भारका लागि वार्षिक २ देखि ५ लाखसम्म बजेट आउँछ। १ सय ५० वटा डिप बोरिङ छन्। मर्मतसम्भारमा बजेट कम हुने भएकालेस सञ्चालनमा रहेका डिप बोरिङ सामान्य मर्मत गरेर चलाइने गरिएको छ।’

    भूमिगत सिंचाइ कार्यालयका प्राविधिकको टोलीले ४–५ वर्ष पहिले गरेको प्रारम्भिक अध्ययनबाट विभिन्न कारणले बन्द अवस्था रहेका ४२ डिप बोरिङलाई मर्मत गरेर पुनःसञ्चालन गर्न करीब १० देखि १२ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको इञ्जिनियर भगतले बताए।

    अहिले नयाँ डिप बोरिङ बनाउन ७० देखि ७२ लाखसम्म लाग्छ। भूमिगत सिंचाइ विभागले छुट्टै शाखा नै स्थापना गरेर डिप बोरिङकोे मर्मत थाल्ने तयारी गरेको भगतले बताए।

    Facebook Comments