बिग्रिए पाँच वटा वायु प्रदूषण मापन केन्द्र

काठमाडौं– वातावरण विभाग मातहत रहेका ५ वटा वायु गुणस्तर मापन केन्द्रका मेसिनहरू अझै बन्न सकेका छैनन्। जसका कारण ती केन्द्रबाट वायु प्रदूषणको मात्रा आउन नसकेको हो।

विभाग मातहतका बाराको सीमरा, सुनसरीको झुम्का, ललितपुरको पुल्चोक, पोखराको गण्डकी बोर्डिङ स्कूल र लुम्बिनीको रुपन्देहीमा रहेका स्टेसनका मेसिन बिग्रिएकाले वायु प्रदूषणबाट जानकारी आउन नसकेको वातावरण विभागले जनाएको छ।

विभागका प्रवक्ता सफला श्रेष्ठका अनुसार सीमरा, झुम्का, पुल्चोक र गण्डकी बोर्डिङ स्कुलका स्टेसन पूर्ण रुपमा विभागकै स्वामित्वमा रहेपनि रुपन्देहीको भने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र विभाग दुबैको स्वामित्व छ।

काठमाडौंको शंखपार्कमा रहेको मेसिनको मर्मतपछि फेरि तथ्यांक दिन थालेको छ। ब्याट्री चोरी भएपछि सुरक्षाको ग्यारेन्टीसहित कीर्तिपुरको मेसिन सञ्चालनमा आउन नसक्दा त्यहाँ आसपासको वायुको गुणस्तरको मापदण्ड नै जाँच गर्न समस्या भइरहेको छ। त्यहाँ अघिल्लो वर्षको दशैँमा ब्याट्री चोरी भएको विभागले बताएको छ।

विभागका महानिर्देशक झलकराम अधिकारका अनुसार मेसिनलाई अपडेट गर्न पोखराबाट केही समय अघि विभागमा ल्याइएको हो। ‘हरेक मेसिन जडान गरेको एक–डेढ वर्षमा त्यसको मापदण्ड तुलना गर्नका लागि जाँच गर्ने गरिन्छ,’ उनले भने, ‘मेसिनबाट आधिकारिक नतिजा त आउनुपर्यो नि। त्यही भएर जाँचका लागि विभागमा ल्याएका हौं।’

विभागकी प्रवक्ता सफला श्रेष्ठ मेसिन ‘बिग्रिएर नभइ यन्त्रको मापदण्ड जाँच्न’ का लागि ल्याइएको दाबी गर्छिन्। प्राविधिक भाषामा यसलाई क्यालिब्रेट भनिन्छ।

क्यालिब्रेट गर्न २ दिन मात्र लाग्ने भएपनि केहि सामान जर्मनीबाट मगाएर काम शुरू गर्नुपरेकाले ढिलाइ भएको मेसिनको क्यालिब्रेट कार्यमा खटिएका एक कर्मचारीले बताए।

प्यासाफिक कम्पनीबाट आपूर्ति भएका ती मेसिन केही समय चलेपनि त्यसलाई अपग्रेड र अपडेट गर्न क्यालिब्रेट गर्नुपर्ने विभागका ती कर्मचारीले बताए। उनका अनुसार जुन ठाउँमा प्रदूषणको मात्रा धेरै हुन्छ, त्यहाँका मेसिन छिटो छिटो क्यालिब्रेट गर्नुपर्छ।

‘मेसिन बिग्रिएको होइन, ब्याट्री चोरी भएको हो,’ उनले भने, ‘गत दसैंमा कीर्तिपुरको भौतिकशास्त्र विभाग नजिकै रहेको केन्द्रबाट ४ वटा ब्याट्री चोरी भएका थिए।’ ब्याट्री खोज्नलाई प्रहरीलाई आग्रह गरेपनि प्रहरीले. पनि प्रयास जारी राखेको बताउँदै आएको छ।

पोखरा र कीर्तिपुर बाहेक चितवन सौराहा, लुम्बीनी, पाटनको पुल्चोक इन्जिनियरिङ कलेज, काठमाडौं विश्वविद्यालय धुलिखेल, वीरेन्द्र सैनिक आवासिय विद्यालय भक्तपुर, रत्नपार्क, शंखपार्क, भैंसीपाटी आवास क्षेत्रमा वायु गुणस्तर मापन केन्द्र छन्।

यसैगरी दाङ, नेपालगञ्ज, अमेरीकी दुतावास र फोरा दरवारमा पनि वायु गुणस्तर मापन केन्द्रका मेसिनहरू छन्।  सबै मापन केन्द्रको वायु प्रदूषणका पीएम १० र पीएम २ दशमलव ५ स्टान्टर्ड मापन गर्ने गरेका छन्। जुन वायुको गुणस्तर हो। इसिमोडको सहयोमा स्थापित चितवन र रत्नपार्कका मेसिनले वायु गुणस्तरका सक्स, नक्स र ग्यासबारेमा डाटामा देखाउछ ।

Facebook Comments