भान्सालाई धुवाँमुक्त बनाउने अभियानमा नीरू

काठमाडौं–सिन्धुली कमलामाई नगरपालिका–४ की ४८ वर्षीया नीरू श्रेष्ठ भान्साको धुवाँबाट मुक्त बनाउने अभियानमा लागेकी छिन्।

सरकारले ‘हरेक घरधुरीमा स्वच्छ ऊर्जाको प्रयोग’ अभियान अन्तर्गत सन् २०१७ भित्रमा देशैभर धुवाँमुक्त चुल्होको निर्माण गर्ने लक्ष्य राखेको थियो। तर,सरकारी लक्ष्य पुरा हुन सकेन।

यो अभियानले धेरै गृहणीहरूले आफ्नो घर धुवाँमुक्त हुने आशा गरेका थिए। सरकारी तवरबाट अभियान सेलाए पनि श्रेष्ठको अभियान भने सेलाएको छैन। उनी अहिले प्रत्येक वडा, गाउँपालिका तथा नगरपालिकाका गृहणीको स्वास्थ्य र घरलाई धुवाँबाट छुट्कारा दिलाउने अभियानमा लागेकी छन्।

‘धुवाँको मुस्लोमा खाना पकाउनु त्यसमाथि घरभित्रका लुगाफाटा पनि धुवाँले कालो हुने समस्याबाट अहिले छुट्कारा मिलेको छ,’ उनले भनिन्, ‘अहिले धेरै दाउरा लाग्ने, आँखा चिलाउने जस्ता स्वास्थ्य समस्या पनि झेल्नु परेको छैन।’

परम्परागत चुलो प्रयोग गर्दा धुवाँले आँखा पोल्ने र टाउको दुख्ने समस्या झेल्दै आएकी उनलाई भान्साकोठा धुवाँले गर्दा कालो हुनुका साथै चुलो चाँडै फोहोर हुनाले चुलो पोत्नका लागि पनि उत्तिकै समय दिनुपर्दथ्यो। अहिले सुधारिएको चुलो प्रयोग गर्ने थालेपछि सयम र दाउरा दुवैको वचत भएको उनी बताउँछिन्।

२०६० सालको एक तालिमले उनको जीवन परिवर्तन गरिदियो। उनले १० दिने सुधारिएको चुल्हो निर्माण सम्बन्धी तालिममा सहभागी भइन्। तालिमपछि उनले धुवाँ कम निस्कने, दाउरा कम लाग्ने र विषाक्त धुवाँ ननिस्कने सुधारिएको चुल्होको निर्माण गरिन्।

परम्परागत चुलोलाई विस्थापन गरी सुधारिएको चुलोलाई व्यवस्थित गर्नुपथ्यौ, श्रेष्ठलाई। यसका लागि उनले शुरुमा  माटोको सुधारिएको चुल्हो बनाइन्। यो कार्यका लागि उनलाई ग्रामीण प्रविधि केन्द्र अन्तर्गत ‘ऊर्जामा पहुँच तथा स्थानीय उत्पादनका लागि महिला उद्यम प्रबद्र्धन’ परियोजनाले सहयोग गरेको थियो।

‘पहिले आफैं घरमा सुधारिएको चुल्हो बनाए,’ उनले भनिन्, ‘त्यसपछि १९ वटा गाबिस र १९ वटा बजार केन्द्रमा  सुधारिएको चुल्हो प्रदर्शनी गरे। प्रदर्शनपछि धेरैले चुल्होको माग गर्ने थाले।’ बिजुली–बत्ती नहुँदा थप समस्यामा परेका स्थानीयलाई उनले काठमाडौंबाट सोलार किनेर गाउँलेलाई समेत बेच्न थालिन्।

अहिले श्रेष्ठले व्यवसायिक रुपमा सुधारिएको चुल्होको व्यापार गर्दै आएकी छिन्। यस पेशाबाट मासिक ५० हजार फाइदा हुने गरेको उनीले बताइन्।

उनले २०६२ सालदेखि अनु इलेक्ट्रानिक तथा सोलार पसलमार्फत गाउँ–गाउँमा सुधारिएको चुल्हो पुर्याउने काम गर्छिन्। वार्षिक ३ देखि ३ हजार पाँच सयसम्म सुधारिएको चुलोका लागि डिमाण्ड आउने गरेको उनले बताईन्। यो वर्षका लागि १४ सय सुधारिएको चुल्होको माग आएसकेको उनले बताइन्।

श्रेष्ठले काठमाडौंबाट चुल्होेका सामान ल्याउँछिन्। परम्परागत चुल्होभन्दा फरक गाउँमै पाइने वस्तु प्रयोग गरी धुवाँ रहित, दाउरा कम खपत हुने माटोको सुधारिएको चुल्हो समेत निर्माण गरी बिक्री गर्छन्।

‘१८ जनाले रोजगार समेत पाएका छन्। उनीहरूले गाउँ–गाउँ गएर सुधारिएको चुल्होबारे बताउँछन्,’ उनले भनिन्, ‘अहिले गाउँबाट रकेट चुल्होको बढी माग आउँछ। माटोको चुल्होे लिप्नुपर्ने तथा भत्कने भएकाले पनि रकेट चुल्होको माग बढी आउँछ।’

रकेट चुल्होलाई दुई हजार पाँच सयदेखि ५ हजारसम्म पर्छ भने माटोको सुधारिएको चुल्होलाई एक हजार सात सय पर्छ। माटोको सुधारिएको चुल्हो तयार हुन १५ दिन लाग्छ। रकेट चुल्हो भने फलाम र आल्मनियमबाट बनेको हुनाले तयार अवस्था हुन्छ।

श्रेष्ठ अहिले वडा कार्यालय,गाउँपालिका तथा नगरपालिकाका हरेक भेलामा प्रायः पुग्छिन्। सुधारिएको चुल्होले महिलाको समय तथा स्वास्थ्यमा समेत फाइदा पुगेकाले यसको प्रयोग बढाउन स्थानीय सरकारले विभिन्न कार्यक्रम गर्नुपर्ने उनी बताउँछिन्।

‘स्थानीय सरकारका ठूला–ठूला योजना मात्र छन्। गाउँलाई धुवाँमुक्त बनाउने कुनै पनि योजना स्थानीय सरकारसँग छैन,’ उनले भनिन्, ‘देश संघीय संरचनामा आएपछि गाउँघरमा चलेको सरकारको धुवाँमुक्त अभियानले निरन्तरता पाउन सकेन तर,हामी महिलाहरुले स्थानीय सरकारसँग यो अभियान गाउँ–गाउँमा सञ्चालन गर्नुपर्छ भनी लागिरहेका छौं।’

उनी वडा–वडामा हुने भेलामा पुगेर धुवाँबाट लाग्ने रोगका बारेमा जानकारी समेत दिँदै हिँड्छिन् । यसै अनुरुप नगरपालिका अन्तर्गतका ७ वटा वडाले सुत्केरी,गर्भवती दलितका घरधुरी सर्वक्षण गरेर एक वडामा ३ देखि ५ लाख रुपैयाँ सुधारिएको चुल्होमा अनुदान दिने निर्णय गरेको उनले बताइन्।

 

अन्तर्राष्ट्रिय स्तरको ‘इनर्जिया वुमेन इन्टरप्रेनरसिप अवार्ड– २०१७’ समेत जितेकी छिन्। यो अवार्ड श्रेष्ठले अमेरिकामा प्राप्त गरेकी थिइन्।  सिन्धलीका १२ हजार घरधुरीले मात्र सुधारिएको चुल्होको प्रयोग गर्छन्। सिन्धुलीमा ५७ हजार ५ सय ८१ घरधुरी छ।

जैविक ऊर्जा रणनीति २०७३ अनुसार सन् २०२२ सम्ममा नेपाललाई घरभित्रको धुवाँमुक्त बनाउने लक्ष्य रहेको छ। राष्ट्रिय जनणना २०६८ को तथ्यांक अनुसार नेपालमा रहेका ५४ लाख घरधुरीमध्ये ४० लाख घरधुरी परिवारले खाना पकाउन दाउराको लगायत परम्परागत जैविक ऊर्जाको प्रयोग गर्छन्।

Facebook Comments