नेपालको कृषि क्षेत्रमा लगानी गर्न अमेरिका इच्छुक

काठमाडौं–अमेरिका नेपालको कृषि क्षेत्रमा लगानी गर्न इच्छुक भएको अमेरिकी राजदूत डब्लु बेरीले बताएका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवसँग नेपालका लागि अमेरिकी राजदूत राण्डी डब्लु बेरीले शिष्टाचार भेटवार्तामा सो कुरा बताएका हुन्।

बिहीबार मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुन सक्ने सहयोग आदान प्रदानका विषयमा छलफल भएको थियो।

भेटमा मन्त्री खनालले कृषि क्षेत्रमा असिमित आवश्यकता भएपनि आफूहरू सबै आवश्यकताको कुरा नगरी दुई पक्षबीच हुन सक्ने महत्वपूर्ण समझ्दारीका विषयमा छलफल गर्न सकिने बताए । अहिलेलाई नेपालका लागि कृषि पूर्वाधार र यान्त्रीकीकरणका केही विषयमा समझदारी हुन सक्ने मन्त्री खनालको भनाई छ ।

नेपालको ठूलो जनसंख्या कृषिमा निर्भर हुँदाहुँदै पनि आधुनिक प्रविधि र यान्त्रीकिकरणसँग जोड्न नसक्दा युवा जनशक्ति विदेशिनु परेकाले त्यो जनशक्तिलाई व्यावसायिक कृषिमा जोड्नु अहिलेको नेपालको आवश्यकता रहेको खनालले बताए ।

राजदूत बेरीले नेपाल र अमेरिकाबीच लामो सम्बन्ध रहेको भन्दै कृषि क्षेत्रमा आफ्नो देश सहयोग गर्न तयार रहेको बताए । त्यसका लागि नेपालले प्राथमिकता निर्धारण गर्नु पर्ने उनको भनाई थियो । नेपालसँग सहकार्य हुन सक्ने विषयमा थप छलफल गरी अघि बढ्नु पर्ने बेरीले बताए । नेपालमा चालीरहेका अमेरिकी सहयोगका परियोजनाहरूको संयुक्त टोली बनाएर अनुगमन गर्न पनि सकिने राजदूत बेरीले बताए ।

Facebook Comments