नेपालमा सडक दुर्घटनाका कारण र सुरक्षा उपाय

बाक्लिएको सहरीकरण, निरन्तर बढ्दै गएको जनसंख्यासँगै थपिँदै गएका सवारीसाधन र यसको व्यवस्थापनमा देखिएको चुनौती हरेक देशको अहिले टाउको दुखाईको विषय बनेको छ। त्यस माथि पनि आकासिँदै गएको सवारी दुर्घटना र सडक असुरक्षा थप चुनौती बनेको छ। विकसित साथसाथै विकासोन्मुख मुलुकमा ट्राफिक दुर्घटनाले लाखौँ मानिसको मृत्यु निम्त्याइरहेको छ। नेपाल पनि यो समस्याबाट अछुतो छैन, झन् बढी ग्रस्त छ। अन्तर्राष्ट्रिय रेडक्रसको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष सरदर १३ लाख मानिसले सडक दुर्घटनामा ज्यान गुमाईरहेका छन्। नेपालमा वर्षेनी अ‍ौसत २ हजार मानिस सडक दुर्घटनाका कारण मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ।

ट्राफिक इञ्जिनियर आशिष गजुरेल।

नेपालमा मात्र नभई संसारमै सडक सुरक्षा चुनौतीपूर्ण र पेचिलो बन्दै गएको छ। नेपालजस्तो विकासोन्मुख मुलुकमा साँघुरा र खराब सडकहरूको साथै सडक प्रयोगकर्तामा सडक अनुशासनको पालना नभएको कारण यस्ता दुर्घटना हुने गरेको पाइन्छ। त्यसो त सडकको कमजोर अवस्था मात्र दुर्घटनाको कारण होइन। नेपालको सबैभन्दा आधुनिक र नमुना सडक मानिएको कोटेश्वरदेखि सूर्यविनायक खण्डमा पनि दुर्घटना कमै छैनन्।

नेपालमा प्रति १० हजार सवारीसाधन र ८ जनाको हाराहारीमा मृत्यु सडक दुर्घटनाबाट भइरहेको छ। विकसित देशहरूमा भने यो प्रति दशहजार सवारीसाधनमा १ देखि २ जनाले मात्र ज्यान गुमाउँछन्। उदाहरणको लागि जर्मनीमा १, अमेरिकामा १ दशमलब ९, जापानमा ० दशमलब ७ र क्यानडामा १ दशमलब ४ छ। यसरी हेर्दा नै प्रस्ट हुन्छ कि नेपालको दुर्घटना दर अन्य देशको तुलनामा निकै अधिक छ।

दुर्घटनाका कारणहरू के के हुनु?
नेपालमा भएका दुर्घटनाहरूलाई नियाल्दा यसका ४ प्रमुख कारण देखिन्छन्
१. सडक संरचनामा कमजोरी
२. सवारीसाधनको अवस्था कमजोर हुनु
३.सडक प्रयोगकर्ताको लापहरबाही
४.ट्राफिक सम्बन्धी नियमकानुनको अवहेलना

सडक संरचनाः नेपालमा करिब ८८ हजार किलोमिटरको सडक सञ्जाल छ। जसमध्ये रणनैतिक सडक २९ हजार ६३९ किमी छ। रणनैतिक सडक मध्य १३ हजार १४९ किमी कालोपत्रे छ भने ६ हजार ९५६ किमी ग्रावेल सडक छ र बाँकी ९ हजार ५३४ किमी धुले सडक छ।

नेपालमा भएका सडकमध्ये १८ प्रतिशत मात्र कालोपत्रे छन्। यसबाट नेपालको सडक संरचना कति धरापमा छ भन्ने प्रस्ट हुन्छ। नेपालको भौगोलिक अवस्थाका कारण अधिकांश सडक उकालो ओरालो भएका, साँघुरो घुम्ती भएका, खाल्टाखुल्टी भएका, लेन मार्किङ नभएका, साइडबार नभएका, दुईतर्फी आवतजावतका लागि सडक नछुटाइएका, साँघुरो लेन भएका छन्। पूर्ण रूपमा इन्जिनियरिङको मापदण्ड पालना नभएकाले पनि सडक दुर्घटनाको जोखिम ज्यादा भएको हो। यसरी सडक संरचनामा कमजोरीहरू भएका कारणले दुर्घटना दिनानुदिन बढिरहेका छन्। यस्तो सडकमा चालकको साना असावधानीले पनि दुर्घटना हुन्छ।

उदारहण को लागि पृथ्वी राजमार्ग हेरौँ। दुई लेनको यस राजमार्गमा दिन को कम्तीमा पनि १० हजार सवारीसाधन गुड्छन्। यो सडक मा धेरै घुम्ती छ। त्यसैले विपरीत दिसाबाट आउने सवारीसाधन देखिँदैन। ओभरटेक गर्दा सवारीसाधन जुदने सम्भावना धरै छ। रातको समयमा उकालो र उरालो सडक भएकाले विपरीत दिशाबाट आएको सवारीसाधनको बत्तीले सवारी कता पुग्यो भन्ने अनुमान हुन्न। सडकमा सुरक्षाबार नहुनाले सवारी भिरबाट खस्ने सम्भावना छ। मुख्य राजधानी आउने सडक त खराब छ।

सडक प्रयोगकर्ताः सडक प्रयोगकर्ताहरू भनेको चालक, पैदलयात्री र यात्रु प्रमुख हुन्। यात्रु अनुशासित नहुँदा चालकले गल्ती गर्ने अवस्था आउँछ। जसले गर्दा दुर्घटना हुन्छ। प्रमुखतः सवारीसाधन चालकको हातमा हुन्छ। चालकको दक्षता, सीप र उसको अवधारण राम्रो हुँदा सडक दुर्घटना कम हुन्छ। चालकसँग सवारीसाधन चलाउने सीप र दक्षता राम्रो हुनुपर्छ। त्यसको साथसाथै यात्रुलाई गन्तव्यसम्म सुरक्षितसाथ पु¥याउने मेरो कर्तव्य हो भन्ने बोध पनि हुनु जरुरी छ।

नेपालमा हेर्ने हो भने पैदलयात्री पनि नियम कानुन मिचेर जथाभाबी हिँड्ने, जहाँ पायो त्यहीबाट सडक काट्ने, छतमा बसेर यात्रा गर्ने, सवारी चालकलाई धम्क्याउने कार्य गरिरहेका हुन्छन्। यस्ता क्रियाकलापले दुर्घटना निम्त्याइरहेका छन्। अर्को तथ्य हेर्ने हो भने चालकले अनुमति पत्रको लागि दिइने परीक्षा वैज्ञानिक छैन यहाँ अझसम्म सडक टेस्ट गरिँदैन। उनीहरूमा ट्राफिक ज्ञान पनि पर्याप्त हुँदैन। उनीहरूमा आफ्नो कर्तव्यको अनुभूति पनि कमी छ। चालकहरू पैसाको लागि नसुती नसुती २–३ दिनसम्म पनि सवारीसाधन चलाएको पाइएको छ। जबकि नेपालको कानुनमा ८ घन्टाभन्दा बढी काम गर्ने अनुमति छैन भने यातायातसम्बन्धी कानुन हेर्ने हो भने एउटा चालकले लगातार २५० किमि अथवा ६ घण्टा गाडी चलाउन पर्ने व्यवस्था गरेको छ। तर, यो कानुन कार्यान्वयन हुन सकेको छैन। यात्रुको कर र धम्कीबाट कन्डीसनमा नभएका सवारीसाधन चलाएर दुर्घटना भएको घटनाहरू पनि छन्। यसरी यात्रु, पैदलयात्री र चालकको कमजोरीका कारण पनि धेरै दुर्घटना भइरहेको छ।

सवारी साधनको अवस्थाः कन्डीसनमा नरहेको सवारीसाधन चलाउनु भनेको बिरामीलाई काममा लगाउनुजस्तै हो। जुन जति बेला पनि ढल्न सक्छ। नेपालमा अधिकांश सवारीसाधनको राम्रो चेकजाँच गरिँदैन। अर्को पक्ष भनेको सवारी साधले आफ्नो क्षमताभन्दा धेरै यात्रु राखेर गाडी चलाउँदा पनि दुर्घटना भएका छन्। सार्वजनिक सवारीसाधनको हकमा कुरा गर्दा बिग्रिएको खण्डमा सह–चालकले बनाएर गुडाउने चलन छ। समयसमयमा सर्भिसिङ गर्ने चलन नेपालमा छैन। खराब सडकमा कमजोर सवारीसाधन चलाउनु दुर्घटनालाई सिधैँ निम्त्याउनु हो।

नियमकानुनः नेपालमा नियम कानुन लागु गर्न र कार्यान्वयन गर्न ठुलो चुनौती देखिएको छ। सडक प्रयोगकर्ता मध्ये अधिकांशलाई ट्राफिक नियम कानुनको ज्ञान हुँदैन भने जान्नेहरू पनि यसको कार्यान्वयन गर्दैनन्। लेन अनुशासन पालना, गति सीमितताको पालना, छतमा बसेर यात्रा, साइड बत्तीको प्रयोग, ट्राफिक लाइटको पालना, ओभरटेक गर्दा अपनाउनुपर्ने विधि जस्ता क्रियाकलापमा चालकहरू नियम पालना गर्दैनन्। पैसा दिएर नियम मिचेको खबर पनि बारबार सुनिन्छ। यस्ता क्रियाकलापले नेपालमा दुर्घटना भइरहेका छन्। कतिपय कानुन परिमार्जन गर्न पर्ने देखिन्छ जस्तै सबै सडकको लागि निश्चित गति तोकिदिनु पर्छ।

यसरी माथि उल्लिखित सबै कडीहरूमा कमजोरी हुनु नै नेपालमा दुर्घटना बढ्दै जानुको मुख्य कारणहरू हुन्।

दुर्घटना कसरी न्युनीकरण गर्ने?

दुर्घटना शून्यमा ल्याउन त सकिन्न तर यसलाई धेरै हदसम्म कम गर्न सकिन्छ। जस्तै जर्मनी, स्वीडेनजस्ता देशमा सुरक्षाका सबै मापदण्ड लागु गरिएको छ। तर, पनि जर्मनीमा वर्षेनि ५ हजार, स्वीडेनमा ४७१ र बेलायतमा ३ हजारको हाराहारीमा सडक दुर्घटनाकै कारण ज्यान गुमाइरहेका छन्। नेपालमा दुर्घटना कम गर्दा एउटा ठोस कार्यक्रम ल्याउनु आवश्यक छ।

नेपालमा वर्षायाममा धेरै दुर्घटना हुन्छ। त्यो बेला सबै निकायहरू केही गर्नुपर्छ भनेर छलफल गर्छन्। अनि बिस्तारै वर्षा याम सकिन्छ र दुर्घटना पनि कम हुन्छ। त्यसपछि यी कुराहरू सेलाउँदै जान्छ र ओझेलमा पर्छ यो मुद्दा।

नेपालमा अहिले सडक सुरक्षाको काम मुख्यत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्थापन विभाग, सडक विभाग र ट्राफिक प्रहरीले हेरिरहेका छन्। तर, यी मध्ये कुनै पनि निकायको मुख्य कार्य सडक सुरक्षा हैन। मन्त्रालयको सयौँ परियोजनाहरू छन्। सडक विभाग पनि सडक निर्माण, व्यवस्थापन र मर्मतमै व्यस्त छ। यातायात व्यवस्था विभाग लाइसेन्सको काम, नवीकरण र अरू व्यवस्थापनको काममै व्यस्त छ। ट्राफिक प्रहरी ट्राफिक सञ्चालन र चेकजाँचमै व्यस्त छ। एउटा ट्राफिक प्रहरीको भागमा एक हजार सवारी पर्छन्। यस्तो अवस्थामा कसरी ट्राफिकले प्रभावकारी ड्यूटी गर्न सक्लानरु उता सवारी नियमनका लागि तोकिएका यी चारै निकायबिच पर्याप्त समन्वप र सहकार्य छैन । यी सबै निकायले गदै आएका कामलाई एकीकृतरुपमा अगाडि बढाउनको लागि विज्ञहरू सम्मिलित अधिकार सम्पन्न सडक सुरक्षाबोर्ड गठन गरिनुपर्छ।

यस्ता विज्ञहरूको नियुक्ति करारमा हुनुपर्छ र उनीहरूको कार्यक्षमताका आधारमा करारको अवधि बढाउँदै लानुपर्छ। यो संरचनाको काम भनेको मात्र सडक सुरक्षा हुन्छ ।

नेपालमा वर्षेनि सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ः

उल्लिखित तथ्यांकबाट प्रस्ट हुन्छ कि नेपालमा दुर्घटनाबाट मृत्यु हुने सङ्ख्या बढी रहेको छ। वर्षेनी सवारीसाधन थपिन्छन् र सडक पनि विस्तार हुन्छन्। यस्तो अवस्थामा सडक सुरक्षा सम्बन्धी ठोस कार्यक्रम ल्याएर अविलम्ब कार्यान्वयन गरिएन भने सयौँ नेपालीहरूले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने अवस्था रहँदैन। त्यसैले सडक दुर्घटनाका कारणलाई विश्लेषण गदै सडक सुरक्षालाई नागरिकको सुरक्षासँग जोडेर सरकारले विशेष योजना र रणनीति बनाउन अब ढिला गर्नुहुँदैन।

गजुरेल ट्राफिक इन्जिनियर हुन् ।

Facebook Comments