जोखिम मोल्दै वन्यजन्तु संरक्षणमा युवा

काठमाडौँ–२१ वर्षीय सीमा मोक्तान, ठोरी गाउँपालिका सुवर्णपुरको समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण टोली समूहकी कोषाध्यक्ष हुन्। उनले वन र वन्यजन्तु संरक्षणमा लागेर समूहमा गस्ती गर्ने, वन्यजन्तुको उद्धार गर्ने, समाजमा संरक्षण सम्बन्धी चेतना जगाउने काममा लागेको २ वर्ष भयो।

उनको अनुभवमा वन र वन्यजन्तु संरक्षणको पाटो भने त्यति सजिलो छैन। उनले भनिन्, ‘गस्ती गर्ने क्रममा हामीलाई धेरै कुराको भय रहन्छ, वन्यजन्तुकै संरक्षणको लागि गस्ती गर्न गएपनि कुन बेला वन्यजन्तुबाट आक्रमण हुन्छ भन्ने त्रासमा सधैँ हुन्छौँ।’

धेरै पटक गस्ती गर्दा अहिलेसम्म वन्यजन्तुसँग आमनेसामने गर्ने अवस्था नआएपनि दिन सधैँ एउटै नहुने उनी बताउँछिन्। उनका अनुसार मुख्यतयः गस्तीमा जाँदा उनीहरूलाई वन्यजन्तुसँग कसरी सामना गर्ने भन्ने सैद्धान्तिक ज्ञान र तालिमको कमी छ ।

वन क्षेत्रमा गस्ती गर्न उनीहरूलाई सुरक्षाको कुनै साधन नहुँदा यो काम चुनौतीपूर्ण हुँदै गएको उनले बताइन्। मोक्तान त्यो समूहमा सबैभन्दा कम उमेरकी सदस्य हुन्। आफूलाई बाघ र वन्यजन्तु संरक्षणमा सक्रिय बनाउन उनले कुनै कसर राखेकी छैनन्।

त्यही समूहकी सचिव मुना मगरले पनि गस्ती हिँड्दा, चोरी सिकारी नियन्त्रण अभियानमा आफूहरू टोली बनाएर हिँडेपनि वन्यजन्तुका त्रास भने उत्तिकै हुने बताइन्। उनले भनिन्, ‘जङ्गल भनेको जङ्गल नै हो। जहिले जुन बेला जे पनि हुन सक्छ। यसमा आत्मविश्वास बढाएर हिँड्नुको अर्को विकल्प छैन।’

मुनाले आफूहरूले बाघको पाइला देखियो भने कुन बाटो जाने, कसरी त्यो अवस्थामा आफूहरूलाई परिचालन गर्ने भन्ने हल्का जानकारी भए पनि आमने सामने हुँदा के गर्ने भन्ने कुनै तालिम नभएको बताइन्।

समूहका अर्का सदस्य फुर्वा मोक्तान पनि जङ्गलमा बिहान देखि बेलुकी सम्म गस्ती गर्दा वन्यजन्तु आक्रमणको त्रास सधैँ हुने बताउँछन्। उनी भन्छन्, ‘यदि बाघ अचानक आयो भने हामीले के गर्ने, कसरी आफ्नो सुरक्षा गर्ने भन्ने कुरामा अझै अन्योलमा छौँ। बाघले त खासै आक्रमण गर्दैन। तर, बच्चा हुँदा निकै आक्रमक हुन्छ। त्यो बेलामा हामीले के गर्नेरु’
तर, त्यस्तो अवस्थाबाट आफूहरू सुरक्षित हुन आफ्नो समूहसँग कुनै तालिम नभएको उनको गुनासो छ।

उनी भन्छन्, ‘हामीलाई यस्तो कुराहरूबाट सुरक्षित हुन र अरूको पनि सुरक्षा गर्न पूर्व तयारी र तामिलको आवश्यकता छ।’

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सुवर्णपुरमा समुदायमा आधारित युवा जागरण परिचालन अभियान सुनाखरी मध्यवर्ती उपभोक्ता समितिको उपसमितिको रूपमा गठन भई यसमा सहभागी समुदायका सदस्यले चोरी सिकार तथा चोरी निकासी नियन्त्रण, मानव वन्यजन्तुबिचको द्धन्द न्यूनीकरण, समस्याग्रस्त तथा टुहुरा वन्यजन्तुको उद्धार, व्यवस्थापन तथा रेखदेख र एक आपसको सूचना र समन्वयको आदानप्रदान लगायतका कार्यहरू गर्दै आएका छन्।

यो समूह महिनामा २ पटक निकुञ्जमा गस्ती गर्न हिँड्छन्। अनि निकुञ्जकै कर्मचारीहरूसँग भने महिनामा १ पटक गस्ती गर्छन्। यो समूहमा ९ जना महिला छन् अरू पुरुष सामेल छन्। १४ देखि २६ वर्ष उमेरका मिलेर समूह गठन हुन्छ। तर, उनीहरूलाई व्यवस्थित र सुरक्षित रूपमा परिचालन गर्न नसक्दा आफ्नो ज्यान जोखिममा पर्ने गरेको उनीहरू बताउँछन्।

अझ उनीहरूलाई घरपरिवारबाटै पनि यो कामको लागि साथ छैन। आफ्नै परिवारसँग जुध्दै उनीहरू वन्यजन्तु संरक्षणमा आफूलाई सक्रिय बनाइरहेका छन्।

फुर्वाले भने, ‘घर परिवारमा के पाइस्, के दिन्छन्, किन जङ्गलमा जाने भनेर गाली गर्छन्। तर, सेवा गर्छु, मेवा पछि पाए पनि केही छैन भनेर कुरा मिलाउने गरेको छु।’

कोषाध्यक्ष सीमाको पनि उस्तै समस्या छ। उनले भनिन्, ‘पहिला पहिला जङ्गलमा गस्ती गर्न जाँदा समुदायकाले धेरै नकारात्मक सोच्थे। केटाहरूसँग जङ्गल जङ्गल हिँड्नु राम्रो सङ्केत होइन भन्दै कति कुरा काटे काटे।’

त्यसै समूहकी सचिव मुना मगरले कहाँ हिँडेको भन्दै समाजका केही व्यक्तिले निकै कुरा काट्ने गरेको बताइन्। समाज जस्तो भए पनि बाघ र अन्य वन्यजन्तुको संरक्षण महिलाको लागि भने निकै चुनौतीपूर्ण छ। यो काम जङ्गलमा ज्यान बचाउने भन्दा पनि निकै चुनौतीपूर्ण भएको टोली सदस्यहरूको अनुभव छ। ‘तर, बिस्तारै गाउँलेले संरक्षणको कुरा बुझ्न थाले। अन्नबाली नष्ट गर्दा मानिसहरू रिसाउँथे अहिले त्यस्तो छैन,’ सीमाले भनिन्।

मानिस र वन्यजन्तुबिचको द्धन्द व्यवस्थापन गर्न किशोर किशोरीले जिम्मा लिएपनि उनीहरूलाई धेरै कुराको असहयोग छ। वन्यजन्तुसँग सामना गर्न पूर्व तयारी, तालिमको अभाव र औपचारिक परिचयपत्र नहुँदा गस्तीमा समस्या आउने गरेको समूहका सदस्यहरूको गुनासो छ।

फुर्वाले भने, ‘हामीलाई परिचयपत्र नहुँदा गस्ती गर्दा जंगलमाा भेटिने मानिसहरूले हामीलाई नै शङ्काको दृष्टिले हेर्ने, सेना, प्रहरीले पनि सोधपुछ र केरकार गर्ने गरेका छन्। यो समस्या धेरै पटक भोगेका छौँ।’

डव्लु डव्लु एफ, प्रकृति संरक्षण कोषले यो समूहको लागि कहिलेकाहीँ सामान्य तामिल, सुविधाको कुरामा ध्यान दिएपनि राज्यको तर्फबाट भने उनीहरूलाई केही सहयोग हुन सकेको छैन।

तामिल, पूर्वाधारको अभाव, कानुनी मान्यताको कमी आदि हुँदा पनि ज्यानै जोखिम मोलेर यो समूहका किशोर किशोरी बाघ र वन्यजन्तु संरक्षणमा किन आकर्षित भए तरुयसको जवाफमा उनीहरू झनै उत्सुक थिए।

सीमाले चुनौतीपूर्ण काम गरे पनि यसले समाजमा संरक्षणको विषयमा चेतना फैलिएकोमा खुसी व्यक्त गरिन्।

उनले भनिन्, ‘पहिला गाउँमा वन्यजन्तु पस्यो भने त्यसलाई मार्ने, काटेर खाने वा सिकार गर्ने गर्थे भने अहिले समूहको प्रयासले यो धारणा नै परिवर्तन भएको छ।’ समूहमा प्रवेश गरेको दुई वर्षको अवधिमा नै सीमाले धेरै गाउँलेको मन जितिसकेकी छन्। अहिले पहिलाको जस्तो कसैले कुरा पनि नकाट्ने बताउँछिन्।

वन्यजन्तुको संरक्षण गरेर मात्र समुदायको हित हुने र यो राष्ट्रकै लागि गर्वको कुरा भएको स्थानीयहरूमा सोच मौलाएको उनले बताइन्।

सचिव मुनाले भनिन्, ‘अहिले वन्यजन्तु संरक्षणमा हाम्रो उमेरका धेरै सचेत भएका छन्। वन डढेलो, काठ तस्करी, वन्यजन्तु तस्करी, घाँस दाउरा जरैबाट काट्ने कुरामा परिवर्तन आएको छ।’ उनले समाजमा आफूहरूको कामबाट विनाश होइन संरक्षण भन्ने सन्देश गएको बताउँदै खुसी व्यक्त गरिन्।

यो समूहलाई अभिभावकको नेतृत्व गर्ने सुनाखरी उपभोक्ता समितिका अध्यक्ष देवी प्रसाद पौडेलले करिब १० वर्ष अगाडि बनेको यो समूहले वन्यजन्तु संरक्षणको पाटोमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

उनले भने, ‘जे होस् हामीले राम्रै काम गरेछौ भनेर बुझ्ने गरेका छौँ। यति मिहेनत गरेर अलि सहज वातावरण बनेको छ। यो कामको लागि डव्लु डव्लु एफ नेपालले सहयोग गरेकाले झन् सजिलो भएको छ।’

सीमाले जङ्गल जाँदा डढेलो लाग्ने समस्या घटाउन चुरोट खान नदिने, जङ्गलमा जाँदा प्लाष्टिक भएको खानेकुरा लैजाँदा वन्यजन्तुले प्लाष्टिक खाने हुँदा त्यसबाट उनीहरूलाई हुने समस्याको बारेमा जानकारी दिने गरेको बताइन्। उनले भनिन्, ‘यही प्रयासले वन र वन्यजन्तुमा पर्ने अनेक समस्या कम हुँदै गएको छ।’

जंगलबाट दाउरा ल्याउन नपरोस् भनेर डव्लु डव्लु एफको ताल कार्यक्रमले बायो ग्याँसको पनि सहयोग गरेकाले वनमा नजान र घास दाउरा नओसार्न सल्लाह दिने गरेको सीमा बताइन्।

निकुञ्जमा बाघ र त्यसको आहारा प्रजातिमा वृद्धि हुनाले गाउँमा पनि वन्यजन्तुको आवतजावत बढेको छ। यसकारण वन्यजन्तुको तस्करी पनि हुने गरेको छ। वन्यजन्तुहरू यही कारणले समस्यामा पर्ने गरेका छन्।

यी सबै समस्यामा केही नियन्त्रण गर्न सोही गाउँमा तत्काल उद्धार समूह आरआरटी पनि गठन भएको छ।

७ जना सदस्य रहेको उक्त समूहमा सदस्यहरूले व्यवहार परिवर्तन गर्न बनाइएका किताबको बारेमा जानकारी दिने, शिक्षा दिने र किशोर किशोरीलाई वन र वन्यजन्तु संरक्षणमा लाग्न प्रेरित पनि गर्ने गरेका छन्।

सहजकर्ता रोजिना लामिछानेले गाउँमा रहेका मानिसहरूको जिज्ञासा सुनेर त्यसलाइ सहज बनाइदिने आफूहरूको काम रहेको बताइन्। त्यो कक्षा प्रत्येक शनिवार हुन्छ। उनीहरूको त्यो समाजप्रतिको उत्तरदायित्व हो।

उनले भनिन्, ‘पहिला वन्यजन्तु भेटे भने लखेटेर समात्ने र काटेर गाउँ नै मिलेर भाग खाने गरेका थिए भने अहिले त्यो भावना नै फेरिएको छ। अहिले जे भेटिन्छ, जसले थाहा पाए पनि खबर गर्ने र त्यसको उद्धार गरेर जंगलमै फिर्ता गर्ने गरेको छ।’

डव्लु डव्लु एफ नेपाल बाराका संयोजक वेदहरी दाहालले कहिलेकाहीँ मानव र वन्यजन्तुबिच द्धन्दहुने, र त्यसले मानवलाई हानी हुन सक्ने वा कहिलेकाहीँ वन्यजन्तु नै समस्यामा परेको हुन सक्ने बताउँदै यसको लागि आरआरटीले समन्वयकारी भूमिका निभाउने, निकुञ्जमा यसबारे जानकारी दिने काम गरेको बताए।

यस्तै अन्य समूह पनि गाउँमा गठन भएका छन्, जहाँ धेरै किशोरकिशोरी सहभागी हुन्छन्। यी सबै मिलेर नै गाउँमा मानव र वन्यजन्तुबिचको द्धन्द नियन्त्रण गर्न, चोरीसिकारी नियन्त्रण गर्न र घाइते र समस्यामा रहेका वन्यजन्तुको उद्धार गर्न खटिएका छन्। यही समुदायको प्रयासले पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको छ भने संरक्षणकर्ताले यसलाई ठुलो उपलब्धिको रूपमा लिएका छन्।

तर, संरक्षणकर्तालाई कानुनी आधार, भौतिक सुविधा र तामिलको अभावले यो संरक्षणको पाटो दिगो हुनेमा विश्वस्त भने हुन नसकिने सरोकारवालाको तर्क छ।

Facebook Comments