सेतीमा बालुवा तस्करी, गरिवको जीविकोपार्जन नै नदीको बालुवाबाट  

आइतवार, पुस ८, २०७५
पोखरा।  पोखराको सेती नदीबाट अवैध रूपमा बालुवा निकाल्ने र बिक्री वितरण खुलेआम हुँदै आएको छ । स्थानीय सरकारले त्यसलाई नियन्त्रण गर्न विभिन्न समयमा गतिविधि सञ्चालन गर्ने गर्छ । तर, सेतीको बालुवा तस्करी अझै रोकिएको छैन ।

तीन वर्षदेखि सेती नदीमा बालुवा तस्करीको विषयमा नियमित अनुगमन गरिएको छ । त्यो अनुगमनबाट सेतीमा बालुवा ओसार्ने र निकाल्नेको जीविकाको विषयमा समेत नजिकबाट बुझ्ने कोसिस गरेको छ । सेती नदीको रामघाटनजिकको दैनिक गुजारा टार्नेहरुले बालुवा निकाल्ने गरेको पाइएको छ ।

यसरी बालुवा निकाल्ने र ओसारपसार गर्ने सवारीसाधनलाई पटकपटक पक्राउ गर्ने र जरिमाना तिराउने काम पोखरा महानगरले गर्दै आएको छ । तर पनि बालुवा तस्करी अझै रोकिएको छैन । सेती नदीमा बालुवा तस्करी हुँदा हरेक वर्ष नदीले धार फेर्ने गरेको पाइएको छ । अघिल्लो वर्ष एकतर्फ बालुवा निकाल्ने काम भएको देखिन्छ भने अर्को वर्ष अर्कोतर्फ बालुवा निकाल्ने गरेको पाइएको छ । महानगरपालिकाका राजस्व शाखा प्रमुख छवि शर्माका अनुसार हरेक वर्ष बालुवा तस्करीमा संलग्न भएका सवारीसाधन पक्राउ गरे पनि उनीहरु नै पुनः अर्कोपटक त्यही काममा लाग्ने गरेका छन् ।

हरेक आर्थिक वर्षमा टेन्डर आह्वान गरेर बालुवा निकासीका लागि बाटो खुला गर्ने गर्छ । तर, नदीमा त्यसरी उत्खनन गर्दा नदीले आफ्नो धार हरेक वर्ष फेर्ने गरेको महानगरले जनाएको छ । मनसुनको समय सकिनेबित्तिकै बालुवा तस्करी बढी हुने गरेको पाइएको छ । अवैध रूपमा बालुवा निकासी हुने गरेकाले प्रहरीले आफ्नो सक्रिया बढाएको छ । नदी किनारमा झुपडी बनाएर बसेकाहरुले बालुवा चोरी निकासी गरेर नै आफ्नो जीविका चलाइरहेका छन् । कहिलेकाहीँ मानव जीवनको विनाश गराउने नदीले जीविकोपार्जनका लागि रोजीरोटीको व्यवस्था गर्छ भन्ने उदाहरण बनेको छ, सेती नदी ।

सेती नदीमा ६ वर्षअघि आएको बाढीले ठूलो जनधनको क्षति पुग्यो । त्यही नदीको तल्लो तटीय क्षेत्रका मानिसहरु त्यो विपद् बिर्सेर फेरि नदीमा बालुवा निकासीमा संलग्न छन् । माछापुच्छ्रे र अन्नपूर्णजस्ता हिमालको जलाधारबाट आएको पानी नै सेती नदीको सौन्दर्य हो । यही सेती नदीलाई जुनसुकै समयमा हिमाली क्षेत्रमा हुने जलवायु परिवर्तनले प्रभाव पार्ने गर्छ । हिमालमा हिमपहिरो आउने, ड्याम बन्ने र त्यही ड्याम विस्फोट हुँदा सेती नदीमा बाढीको त्रास हुने गर्छ ।

महानगरपालिका–९ रामघाटस्थित सेती नदीको किनारमा रहेको बालुवा, गिट्टी र ढुंगा उत्खनन एउटा उदाहरणका रूपमा लिन सकिन्छ । यहाँ दैनिकजसो बिहान उज्यालो भएपछि सबै मजदुर नदीको किनारमा पुग्छन् । प्रायजसो घरका सबै परिवार आफूले बिहान खाने खानासमेत बोकेर त्यहाँ पुगेका हुन्छन् अनि सुरु हुन्छ, बालुवा चाल्ने र चालेको बालुवा थुन्सेमा बोकेर समथर ठाउँसम्म पु¥याउने । नदीको किनारमा बालुवा चाल्ने र बोक्नेको धुइरोजस्तै हुन्छ । परिवारको एक सदस्यले बालुवा चाल्छ भने अरूले बोकेर मिनी ट्रक आउने ठाउँसम्म पु¥याउने गर्छन् ।

बूढापाका, तन्नेरी, युवायुवती र साना बालबालिका पनि सो काममा व्यस्त हुन्छन् । काम गर्न नसक्ने बालबच्चा त्यहीं खेलिरहेका हुन्छन् । पोखराको नगर क्षेत्र भएर बग्ने सेती नदी केही ठाउँमा गहिरिएर र केही ठाउँमा फिजारिएर बगेको छ । रामघाटमा नदी फिजारिएर बगेकाले वर्षायाममा त्यो ठाउँमा नदीले बालुवा, गिट्टी र ढुंगा ल्याएर थुपारिदिन्छ । हिउँदमा नदी सुकेर सानो भएपछि मजदुरले बाँसका अस्थायी पुल पुलेसा बनाउँछन् र किनारमा थुपारिएको बालुवा वारिपारि बोकेर थुपार्छन् र बिक्री गर्छन् ।

सयौं मजदुरको जमघट र कार्यथलो त्यही भएकाले चिया खाजाको व्यापार पनि हुन्छ । भारतीय मूलका मानिसले तयारी खाजा र चिया लिएर त्यही पुग्छन् र उनीहरुको व्यापार पनि राम्रो छ । चालेको र गुणस्तरीय पनि भएकाले रामघाटको बालुवा घर निर्माण गर्ने ग्राहकको पहिलो रोजाइमा पर्छ । समथर जमिनमा थुपारेको बालुवा, गिट्टी र ढुंगा ओसार्न दुई दर्जनभन्दा बढी मिनी ट्रक र ट्याक्टर तयारीमा हुन्छन् । विभिन्न स्थानका धेरै मजदुर बालुवा ओसार्ने काममा व्यस्त देखिन्छन् । लमजुङका ६० वर्षीय साइला गुरुङ रामघाटको बालुवा बोक्न थालेको १० वर्षभन्दा बढी भएको बताउँछन् ।

त्यस्तै, उदयपुरका भीम मगर, तनहुँ घाँसीकुवाका गोविन्द रिजाल, काठमाडौं साँखुका प्रेम श्रेष्ठले पनि धेरै वर्षदेखि बालुवा चाल्ने र बोक्ने काम गर्दै आएको जानकारी दिन्छन् । जिल्ला समन्वय समितिले पनि रामघाटको बालुवा खानी टेन्डरबाट यस वर्ष ५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको लेखा अधिकृत रोमनाथ उपाध्याय बताउँछन् । पोखराको शान्ति वन वाटिकामा प्रकाश ढुवानी सेवा सञ्चालन गर्दै आएका प्रकाश पहारीले रामघाटको बालुवा बिक्रीबाट वार्षिक ७ करोडभन्दा बढीको कारोबार हुने गरेको बताउँछन् ।
सौजन्य : rajdhanidaily.com

Facebook Comments