कलंकी–कोटेश्वर सडकखण्ड :थप ६ स्थानमा आकाशेपुल बन्दै (हेर्नुहोस तस्वीरमा)

काठमाडौँ–चक्रपथ अन्तर्गत कलङ्की–कोटेश्वर सडकखण्डमा सरकारले थप ६ स्थानमा आकाशेपुल बनाउँदै छ।

झन्डै साढे २२ करोडको लगानीमा थप ६ स्थानमा आकाशेपुल निर्माण गर्न लागिएको हो।

कोटेश्वर–कलंकीसम्मको १० दशमलव ३९ किलोमिटर दुरी रहेको आठ लेनको सडकमा बागडोल, ग्वार्को र कोटेश्वर गरी जम्मा तीन स्थानमा मात्र आकाशे पुल छन्।

आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी निरञ्जन शर्मा अर्यालले आवश्यकता हेरी विभिन्न ६ स्थानमा आकाशे पुल थप्न लागिएको जानकारी दिए। उनका अनुसार बालकुमारी,सातदोबाटो, एकान्तकुना, सानेपा, बल्खु र महालक्ष्मीस्थानमा थप नयाँ आकाशेपुल बन्न लागेको हो।

चीन सरकारको सहयोगमा निर्माण भएको सडकको ठेक्का सङ्घाई निर्माण सेवा समूहले लिएको थियो।

महालक्ष्मीस्थानको पुल बाहेक अरू ५ स्थानको पुलको काम धमाधम भइरहेको आयोजनाका सूचना अधिकारी अर्यालले बताए।

‘बालकुमारी, सातदोबाटो, एकान्तकुना, सानेपा र बल्खुको आकाशेपुलको निर्माण कार्य धमाधम भइरहेको छ,’ उनले भने, ‘सडक निर्माणका क्रममा महालक्ष्मीस्थानमा एकैपटक सडक र पुलको काम भएपछि चिनियाँ कम्पनीले सरकारलाई तत्काल काम गर्न दिएको थिएन। अहिले ठेकेदारसँग सम्झौता गरेर सरकारले त्यहाँ पुल बनाउने काम अगाडि बढाउँदैछ।’

त्यसैगरी कलङ्की–कोटेश्वर सडकखण्डका मुख्य–मुख्य ७ स्थानमा जेब्राक्रसिङको रेखा निर्माण भैसकेको उनले बताए।
बाटो काट्ने पैदलयात्रीको सुरक्षाका निम्ति जेब्राक्रसिङ बनाइएको छ। आयोजनाले कलंकी, बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को र कोटेश्वरमा जेब्राक्रसिङ बनाइसकेको जनाएको छ।

यो पनि पढ्नुहोस्ः कलंकी– कोटेश्वर सडकमा पैदल यात्रुका लागि ‘नो सेफ्टी’

त्यस्तै ती स्थानमा मात्र जेब्राक्रसिङ राख्दा पर्याप्त नहुने धेरैको बुझाई छ । आयोजनाले अन्य स्थानमा जेब्राक्रसिङ र आकाशेपुल राख्ने विषयमा विस्तृत अध्ययन गर्दैछ।

‘हामीले चक्रपथका विभिन्न क्षेत्रलाई सडक सुरक्षाका हिसाबले सुरक्षीत र संवेदनशील ढङ्गले हेर्नुपर्छ,’ उनले भने, ‘सुरक्षित क्षेत्र बनाउने योजनामा नेपालको पहिलो आठ लेन सडक र पहिलो पटक ‘अण्डर पास’ सडक भएकाले कलङ्की–कोटेश्वर सडकखण्डलाई सबैले चासोका साथ लिएका छन् ।’

सडक निर्माणका लागि आएको चिनियाँ टोली भने चीन फर्किसकेको छ। सडक हस्तान्तरणको टुङ्गो नलागेपछि टोली चीन फर्किसकेको उनले बताए।

चार वर्ष पहिले ४० महिनामा काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो।विसं २०७२ को भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा एक वर्ष काम ठप्प भएको थियो।

नेपालको पहिलो आठ लेन सडक र पहिलो पटक ‘अण्डर पास’ सडक भएकाले यसलाई चासोका साथ हेरिएको छ।

Facebook Comments