सामागाउँ आगलागी : वन्यजन्तुलाई गम्भीर असर, ४ कस्तुरी मृग मरे

काठमाडौँ– मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) अन्तर्गत पर्ने सामागाउँ नजिकको जंगलमा आगलागी हुँदा त्यहाँका जंगली जनावरमा असर परेको छ।

अगोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँको सो संरक्षित जंगलमा आइतबारदेखि लागेको डढेलोमा परी मंगलबार अपराह्नसम्म ४ वटा कस्तुरी मृग मृत फेला परेको स्थानीयलाई उद्यृत गर्दै संरक्षण क्षेत्रका अधिकृत अजित तुम्बाहाम्फेले हाकाहाकीलाई जानकारी दिए।

उनका अनुसार अन्य कस्तुरी मृग, झारल, ब्वाँसो, फ्याकु बिरालो, हिमाली खैरो भालु, चरी बाघ लगायतका वन्यजन्तु र डाँफे, मुनाल लगायतका पंक्षीमा आगलागीको असर परेको छ। ‘वन्यजन्तु कति मरे भन्ने यकीन जानकारी अहिलेसम्म आएको छैन,’ उनले भने, ‘संरक्षित क्षेत्रबाट ४ जनाको टोली सोमबार त्यसतर्फ हिँडिसकेको छ, टोली बुधबार दिउँसो त्यहाँ पुगेपछि थप जानकारी आउँछ।’ आगलागीका कारण वरपरका कतिपय वन्यजन्तु भागेर अन्यत्र गएको र उनीहरूको बासस्थानमा पनि गम्भीर असर परेको उनले बताए। वन्यजन्तुसँगै धूपी सल्ला लगायतका रुखहरू पनि जलेका छन्। संरक्षण क्षेत्रमा करिब १ सय १० प्रजातिका पंक्षी, ३ प्रजातिका सर्प र २ सय भन्दा बढी प्रजातिका हिमाली वनस्पतिहरू पाइने संरक्षण क्षेत्रका प्रमुख नरेन्द्र लामाले जानकारी दिए।

 डढेलो मंगलबार अपराह्नसम्म पनि नियन्त्रणमा नआएको वडा अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए।

मनास्लु संरक्षण क्षेत्र भ्रमणमा गएका गाइडले सामागाउँबाट मनास्लु बेस क्याम्पसम्म जाने बाटोमा पर्ने सो जंगलमा चुरोट खाएर ठुटो फाल्दा आगो लागेको थियो। आइतबार सल्किएको आगो त्यही दिन नजिकै सामागाउँका स्थानीयले निभाए पनि त्यही राती चलेको हावाहुरीका कारण फेरि सल्किएको थियो । सुकेको घाँसबाट जंगलको तल्लो भेगमा आगो सल्किएको संरक्षण अधिकृत तुम्बाहाम्फेले जानकारी दिए।

‘३ हजार ५ सय मिटरको उचाइमा रहेको सो जंगल सुख्खा रहेको हुँदा छिटो आगो सल्किएको हो,’ संरक्षण अधिकृत तुम्बाहाम्फेले भने , ‘एमक्यापको कार्यालय रहेको फिलिमबाट त्यहाँ पुग्न ३ दिनको पैदल यात्रा गर्नुपर्छ।’ पछिल्लो साम्दोङगाउँसम्मको जंगलमा भने आगो सल्किने संभावना नभएको उनले बताए । ‘त्यहाँ अग्नीरेखा कोरिएको छ, डढेलोको संभावना अब अत्यन्त कम छ,’ उनले भने।

नेपाल सरकारले २० वर्षका लागि मनास्लु संरक्षण क्षेत्र व्यवस्थापन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको छ। तर, आगलागीको बारेमा हाकाहाकीले समाचार तयार गर्नका लागि सोधपुछ गर्न खोज्दा कोषको केन्द्रीय कार्यालयलाई यसबारे जानकारी थिएन।

मनास्लु संरक्षण क्षेत्र सन् १९९१ पछि मात्र विदेशीहरूका लागि खुला गरिएको हो । गोरखा सदरमुकामबाट बुढिगण्डकी नदीको तीरैतीर लार्के भञ्ज्याङ नाघेर करिब १० दिनको पैदलयात्रापछि यहाँ पु्ग्न सकिन्छ । सो संरक्षण क्षेत्र विश्वकै आठौँ अग्लो चुचुरो मनास्लुसम्म फैलिएको छ । मनास्लुको उचाइ ८ हजार १ सय ६३ मिटरसम्म फैलिएको छ।

Facebook Comments