गाउँभरी बायोग्यास, वनमाथिको निर्भरता घट्यो

भजनी–कैलालीको भजनी नगरपालिका–७ चर्रा दक्षिणपुरवाकी बिसनदेवी चौधरीले खाना पकाउन दाउराको प्रयोग नगरेको चार वर्ष बित्यो। आगो ताप्न बाहेक घरमा दाउरा बल्दैन।

चर्रा दक्षिणपुरवाकी बिसनदेवीकाे घरमा रहेकाे बायाेग्यासबाट खाना पकाउने तयारी गरिँदै। तस्बिर : हाकाहाकी

पहिले घर नजिकैको जंगलबाट दाउरा ल्याएर खाना पकाउने बिसनदेवी २०७१ सालयता बायोग्यासबाट खाना पकाउँदै आएकी छिन्। ‘अचेल दाउरा खोज्दै जंगल चाहार्नु परेको छैन,’ पाँच गाईगोरू पालेकी बिसनदेवीले भनिन्, ‘बायोग्यास बनेपछि खाना पकाउन मात्र होइन शौच गर्न पनि सजिलो भएको छ। पहिले शौच गर्न पनि जंगल, बाटो किनार र नदी छेउछाउ जानुपर्ने बाध्यता थियो।

तर, शौचालयको शौच र गाइगोरूको गोबरबाट बायोग्यास चल्ने भएकाले सहज भएको बिसनदेवीको अनुभव छ। उनी भन्छिन्, ‘आँखा मिच्दै आगो फुक्नु पर्ने समस्या हटेको छ। लाइटरले बायोग्यासको चुल्हो सल्कायो। खाना पकायो।’

चर्रा दक्षिणपुरवाकी रामपतिदेवी चौधरीको घरमा पनि बायोग्यास बनेपछि २०६३ सालयता खाना पकाउन दाउराको प्रयोग गरेकी छैनन्। रामपति भन्छिन्, ‘गाउँभरी बायोग्यास बनेपछि गृहणीलाई धुँवाबाट मुक्ति मिलेको छ नै। दाउरा खोज्न एकाबिहानै जंगल पुग्नुपर्ने बाध्यता पनि हटेको छ। समयको बचत भएको छ।’ बायोग्यासबाट निस्कने प्रांगारिक मल खेतबारीका लागि झनै उपर्युक्त हुने बताइन्छ।

बायोग्यासँगै शौचालय पनि बनेपछि अझ सहज भएको चर्रा दक्षिणपुरवाकी मीरा चौधरी बताउँछन्। दाउरा खोजेर खाना पकाउनुभन्दा बायोग्यासबाट पकाउन सजिलो भएको छ नै। त्यसैमा शौचालय बनेपछि गाउँघर अझ सफा बनेको छ। शौचका लागि जंगल, बाटो किनार र नदी छेउछाउ जानुपर्ने बाध्यता हटेको छ,’ उनी भन्छिन्।

चर्रा दक्षिणपुरवा गाउँका प्रायः घरमा बायोग्यास छ। उनीहरू एक दशकदेखि यसैमा अभ्यस्त छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अनुदान दिएर मुलुकभर बायोग्यास निर्माणको अभियान थालेको पनि लामो समय भइसक्यो। तर, हाल ३९ घरधुरी रहेको चर्रा दक्षिणपुरवा २०६४ सालमै नमूना बायोग्यास गाउँ घोषणा भएको हो।

गाउँका अगुवा खुसीराम चौधरीका अनुसार गाउँघरमा शौचालय समेत बिरलै रहेका बेला २०६१ सालमा मनिराम चौधरीको घरबाट शुरु भएको बायोग्यास बनाउने अभियानले तीन वर्षमै पूर्णता पायो। २०६२ मा १० घरमा बायोग्यास बनेकोमा २०६४ सम्म आइपुग्दा गाउँका २१ वटै घरमा बायोग्यास बनेपछि नमूना बायोग्यास गाउँ घोषणा भएको खुसीरामको स्मृतिमा ताजै छ।

चर्रा दक्षिणपुरवाकी बिसनदेवीकाे घरमा रहेकाे बायाेग्यासकाे प्लान्ट। सँगै शाैचालय पनि । तस्बिर : हाकाहाकी

अहिले गाउँमा घर बढेर ३९ पुगेका छन् तर, बायोग्यास बनाउने अभियान जारी नै रहेको छ। खुसीरामका अनुसार त्यतिखेर सामुदायिक वन समन्वय समिति भजनीको नेतृत्व तथा तराई भुपरिधि कार्यक्रम (ताल) को आर्थिक सहयोगमा गाउँमा बायोग्यास बनाइएको थियो। तर, अचेल व्यक्तिगत लागतमै भएपनि बायोग्यास बनाउने क्रम जारी नै रहेको उनी बताउँछन्।

खुसीरामले पनि २०६४ मा बायोग्यास बनाएका थिए। त्यतिखेर बायोग्यासको लागत ३५ देखि ४० हजार रहेकोमा सम्पूर्ण उपकरण तालले सहयोग गरेको थियो, भने ढुंगा, गिट्टी, बालुवा लगायत सामग्रीका लागि १२ हजार रुपैयाँ ऋण समेत प्राप्त भएको थियो।

अन्जनी सामुदायिक वनका अध्यक्ष गंगाराम चौधरी भन्छन्, ‘भान्सादेखि गाउँको वातावरण सफा भएको छ। जंगल संरक्षणमा समेत टेवा पुगेको छ।’ चर्रा दक्षिणपुरवा गाउँ कुनै बेला ९५ दशमलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको अन्जनी सामुदायिक वनमा निर्भर थियो। घाँस, दाउरा, काठ लगायत आवश्यक पर्ने वन पैदावार सोही वनबाट पूर्ति हुन्थ्यो।

तर, अचेल, दाउराको माग नगन्य मात्रामा रहेको अध्यक्ष चौधरी बताउँछन्। ‘पहिले मेरै घरबाट पनि दाउराका लागि जंगल जान्थे तर, बायोग्यास बनेपनि समस्या हटेको छ,’ उनी भन्छन्।

सामुदायिक वन समन्वय समिति भजनीका सदस्य अन्तराम चौधरी गाउँघरमा अभियानका रुपमा रहेको सुधारिएको चुल्हो, बायोग्यास निर्माण लगायत अभियानले वन संरक्षणमा सहयोग पुगेको बताउँछन्। ‘सुधारिएको चुल्हो बनाउँदा दाउराको खपत घट्छ भने बायोग्यासका लागि दाउरा नै चाहिँदैन,’ उनी भन्छन्, ‘दाउराको माग घटेमा वनजंगल संरक्षणमा सहयोग पुग्छ नै।’

चर्रा दक्षिणपुरवा गाउँसँग जाेडिएकाे दक्षिणपुरवा सामुदायिक वन। जुन वन वृक्षराेपण गरी हुर्काइएकाे हाे। तस्बिर : हाकाहाकी
Facebook Comments