वैकल्पिक ऊर्जाको स्रोत गोबर (फोटो फिचर)

काठमाडौं– गाइबस्तुको गोबर र जैविक फोहोरलाई बायोग्यासमा प्रयोग गर्न सकिन्छ। जैविक ग्यास अर्थात् गोबर ग्याँस, बायो ग्यास भन्नु नै सड्ने खालका चिजहरुलाई सडायर तथा गलाएर त्यसलाई कुहाएर निस्कने एक किसिमको ज्वलनशिल मिथेन नामको ग्यास हो।
कुल जनसंख्याको ६९ प्रतिशत नागरिक दाउरा, गोबर गुइठा लगायत परम्परागत जैविक ऊर्जाको स्रोतबाट खाना पकाउने गरेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको तथ्यांक छ। बायोग्यास बनाउन खाडल तयार पारेर इँटा, ढुंगा, बालुवा, सिमेन्टबाट ढलान गरिन्छ। एकतिर गोबर हाल्ने र अर्कोतिर गोबर निस्किने ठाउँ बनाइएको हुन्छ। कतिपय स्थानमा शौचालय पनि बायोग्यासको प्लान्टमा जडान गरिएको हुन्छ। गोबर र पानीको घोलबाट तापक्रम उत्पन्न भइ ग्यास बन्छ, यसलाई पाइपद्वारा चुल्होमा पुर्‍याइन्छ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अनुदान दिएर मुलुकभर बायोग्यास निर्माणको अभियान थालेको पनि लामो समय भइसक्यो।  केन्द्रले घरायसी प्रयोजनका लागि दुईदेखि १२ घनमिटर क्षमताको बायोग्यास प्लान्ट जडानका लागि अनुदान समेत उपलब्ध गराउँदै आएको छ । जसका लागि सरकारले वर्षेनि बजेट समेत विनियोजन गर्दै आएको छ ।
बायोग्यास बनेपछि गृहणीलाई धुँवाबाट मुक्ति मिलेको छ नै, बायोग्यासबाट निस्कने प्रांगारिक मल खेतबारीका लागि झनै उपर्युक्त हुने बताइन्छ। परम्परागत उर्जा भन्दा मानव निर्मित विकासका वैकल्पिक ऊर्जाले वातावरण स्वच्छ सफा र हरियाली रहन मद्दत गर्दछ। त्यसैले यसको प्रयोगले वातावरण सन्तुलन राख्न मद्दत पुर्‍याउछ।

Facebook Comments