प्राकृतिक स्रोतमा दलित समुदायको पहुँच पुर्‍याउन नीति बनाइने

कालिकोट– कालीकोटको तिलागुफा नगरपालिकाले प्राकृतिक स्रोतसाधनमा दलित समुदायको पहुँच पुर्‍याउन नीति तथा कार्ययोजना बनाउने भएको छ।

तिला जलाधार क्षेत्र वरपर रहेकाे दलित समुदायलाई प्राकृतिक स्रोतमा पहुँच र जीविकोपार्जनलाई ध्यान दिँदै नगरपालिकाले नीति तथा कार्ययोजना बनाउने भएको हो।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) द्वारा आयोजित ‘प्राकृतिक स्रोतसाधनमा दलित समुदायको पहुँच’ विषयक ‘पानी’ छलफलमा मेयर रतनबहादुर शाहीले उक्त प्रतिवद्धता जनाएका हुन्। दलित समुदायको आधारभूत आवश्यकता परिपूर्तिका लागि उनीहरुको जीविकोपार्जन र प्राकृतिक स्रोतमाथिको पहुँच पुर्‍याएर  कार्ययोजना बनाएर अघि बढ्ने उनले प्रतिवद्धता दोहोर्‍याए।

तिलागुफा नगरपालिका वडा नम्बर ३ का दिलबहादुर नेपालीले दलित समुदायमाथि जातीय भेदभाव कायमै रहेकोले पानीका स्रोतमा आफूहरुको सहजै पहुँच नपुगेको बताए। ‘प्राकृतिक स्रोतसाधनको मात्रै के कुरा गर्नु, दलित समुदायलाई काममा लगाउने तर, पारिश्रमिक समेत दिँइदैन,’ उनले भने।

दलित महिला संघका जिल्ला अध्यक्ष हजा सुनारले जिल्लाका अधिकांश दलित बस्तीमा खानेपानी पुग्न नसकेको जानकारी दिइन्। नाग्मा बजारका ट्वाइलेटको सेफ्टी ट्यांकी सीधैं तिला नदीमा बग्ने गरेर बनाइएको जानकारी दिँदै उनले भनिन्, ‘पानीको पहुँच नभएका दलित तथा अन्य समुदायले त्यहीँ तिला नदीको पानी खाइरहेका छन्।’

वडा नम्बर ६ नैसराबस्तीका जगद दमाईले विकट र पिछडिएको क्षेत्रमा दलित बस्ती रहेको र ती क्षेत्रमा जनचेतना न्यून रहेको बताए। जुविथामा रहेको नैसरा दलित बस्तीमा हाल साढे सात किलोमिटर टाढाबाट खानेपानी ल्याइए पनि सिंचाइ सुविधा नपुगेको उनले बताए।

तिलागुफा ६ गाल्जेका अनुजकुमार शाहीले कालिकोट राज्यको विकट क्षेत्र भएकाले जनचेतनाकै स्तरमाथि उकास्नुपर्ने बताए। दलित समुदायलाई हरेक क्षेत्रमा समावेश गराउनुपर्दछ भन्ने नीति रहेपनि कार्यान्वयन नहुँदा समस्या भएको उनले बताए।

वडा नम्बर २ की दलित महिला सदस्य काली विकले आफैं जनप्रतिनिधि भएपनि नगरपालिकाले गर्ने कार्यक्रम र बैठकमा सहभागिताका लागि मात्रै आफ्नो उपस्थिति रहने गरेको गुनासो गरिन्।

नेफेजले उत्पादन गरेको वृत्तचित्र प्रस्तुत गरे पश्चात शुरु भएको पानी छलफलमा स्थानीयले विषयसँग सम्बन्धित अनुभव, प्रतिक्रिया, जिज्ञासा, गुनासा र सुझाव राखेका थिए।

तिलागुफा नगरपालिका वडा नम्बर ८ का वडा रदस्य रति सार्कीले पानी छलफल महत्वपूर्ण र उपलब्धीमूलक भएको बताउँदै यस्ता कार्यक्रम वडा वडामा गर्न सके स्थानीयलाइ सचेत पार्न सकिने बताए। तिला जलाधारलाई स्वच्छ बनाउने जिम्मेवारी जनप्रतिनिधि र यहाँको स्थानीयको रहेकाले यसको नियमित सरसफाइ र फोहोर व्यवस्थापनका लागि आफूहरु लाग्ने समेत उनले प्रतिवद्धता जनाए।

उपमेयर दर्शना विकले दलित समुदाय अझै पनि धेरै सेवासुविधाबाट वञ्चित रहेको बताइन्। ‘संविधान र कानुनले दिएको अधिकारका बारेमा स्थानीय स्तरमा चेतना छैन, दलित समुदायका लागि आएका अवसर त्यसै खेर गइरहेका छन्,’उनले भनिन्।

दिलबहादुर नेपालीको प्रश्नको जवाफ दिँदै मेयर रतनबहादुर शाहीले श्रम गरेबापत पारिश्रमिक नदिने अवस्थाको समाधान गर्न नगरपालिका लागिपरेको बताए। उनले दलित समुदाय आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछि परेकाले त्यसतर्फ आफूहरुको ध्यानाकर्षण भएको बताए।

तिला जलाधार क्षेत्रलाई केन्द्रित गरी आयोजना गरी पानी छलफलमा नगरपालिकाको वडा नम्बर २, ३, ४, ७, ८, ९ र १० का दलित समुदाय र जनप्रतिनिधिको सहभागिता थियो।

पानी छलफलमा निम्न बुँदामा प्रतिवद्धता व्यक्त गरिएको छ

–प्राकृतिक स्रोतसाधनमा दलित समुदायको पहुँच पुर्‍याउन नीति तथा कार्ययोजना बनाइनेछ।

–लैङ्गिक तथा समावेशी सहभागिताका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

–दलित समुदायको जीविकोपार्जन कार्यक्रमका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गरिनेछ।

– दलितमाथि हुने गरेको जातीय विभेद हटाउन सहभोज, जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

–दलित समुदायको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिताका लागि वडा तथा नगरपालिकाले प्राथमिकताका साथ पहल गर्नेछन्।

–तिला जलाधार क्षेत्रमा जलीय जैविक विविधता संरक्षण गर्न नियमित रुपमा सरसफाइ गरिनेछ ।

Facebook Comments