पिक एण्ड ड्रप : यात्रुलाई सास्ती

काठमाडौँ–टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारीसाधानले यात्रु पखेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान पुसदेखि सञ्चालनमा छ। तर, पिक एण्ड ड्रप अभियानबारे प्रचारप्रसार नगरी लागू गर्दा सर्वसाधरणले सास्ती खेप्नुपरेको छ।

काठमाडौँ महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभाग र सडक विभागको संयुक्त पहलमा  पुस १  गतेदेखि यात्रुहरू ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान सुरू भएकाे थियाे।

यो अभियानले गर्दा सास्ती खेप्नुपरेको यात्रुहरु बताउँछन्। ललितपुरतर्फ जाँदै गरेको मिसिबसमा बसेकी यात्रु सुनिता ताम्राकार भन्छिन्–यो सब यात्रुहरुलाई दुःख दिने काम हो। गाडि चढ्नकै लागि कति टाढा हिँड्नु पर्छ।’

अझ बिरामी वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूलाई भने बस बिसौनीसम्म पुग्न असहज भएको छ। वनस्थली जानका लागि जमलमा बस पर्खिरहेका ६५ वर्षीय वीरबहादुर थापाले भने, ‘बस बिसौनी टाढाटाढा हुँदा समस्या भएको छ।’

पहिला जमलबाटै बस चढ्न पाइने व्यवस्था थियो। तर, अभियान सञ्चालनपछि नेपाल वायु सेवा निगम र लैनचौर दूग्ध विकास संस्थान अगाडिको बस स्टपमा मात्रै ओराल्ने र चढ्न व्यवस्था छ। यो नियमले आफूहरूको समय खेर भएको र  सरकारले यसको विकल्प खोज्नुपर्ने सन्तोष कार्की बताउँछन्। ‘यो नियमले हामी यात्रुहरूले धेरै दुःख पाएका छौँ। गाडी चढ्नको लागि पाँच-दश मिनेट हिँड्नुपर्छ यसले समयको बर्बाद भएको छ,’ उनले भने।

पिक एण्ड ड्रप अभियान लागू हुँदा बस चढ्न निश्चित स्थानमा जानुपर्ने बाध्यता आइलाग्दा आफूहरु मारमा परेको भन्दै सर्वसाधारणले विरोध जनाउँदै आएका छन्।

उनीहरुले पुस १० गते सो अभियानको विरोधमा टुँडिखेल आसपासको क्षेत्रमा प्रदर्शन गरेका थिए। प्रदर्शनपछि ट्राफिक प्रहरीले ‘पिक एण्ड ड्रप’ अभियानमा सहज हुने खालको नियम लागू गरिने प्रतिवद्धता जनाएको थियो।

सरकारी अधिकारीहरुका अनुसार पहिलो चरणमा विभिन्न ११ वटा रूटमा ‘पिक एण्ड ड्रप’ अभियान लागू गरिएको छ। एक सवारीसाधनले एक स्थानबाट मात्र यात्रु ओराल्न र चढाउन पाउने व्यवस्था लागु गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता जयराज सापकोटा यात्रु ओराल्ने र चढाउने निश्चित स्थान कायम गर्दा सडकमा भिडभाड कम हुनुका साथै ट्राफिक जामको समस्यामा कमी आएको बताउँछन्। ‘अभियान सञ्चालनपछि जमल र सभागृहमा जाम हुन छाडेको छ,’ उनले भने। प्रवक्ता सापकोटाका अनुसार ‘पिक एण्ड ड्रप’ उल्लंघन गर्ने सवारीसाधनका चालकलाई पाँच सय रुपैयाँ जरिवाना तोकिएको छ।

ट्राफिक इन्जिनियर आशिष गजुरेल यो अभियानले वातावरण प्रदूषण कम गर्न मात्र नभइ सडक दुर्घटना कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछन्। ‘विकसित मुलुकमा पनि यो नियम लागू छ। अहिले तत्काल यो अभियानको असर नदेखिएला तर,यसले विस्तारै यात्रुहरूको समयको बचत, जाम कम हुने र सडक दुर्घटना कमी आउने जस्ता सकारात्मक प्रभावहरू देखिन्छन्,’ गजुरेले भने।

Facebook Comments