कृषिजन्य वस्तुको निर्यातमा २६ प्रतिशतले वृद्धि

काठमाडौं–चालु आर्थिक वर्षको पाँच महिनामा कृषिजन्य वस्तुहरुको निर्यातमा २६ प्रतिशतले वृद्धि भएको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपीसी) ले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको तथ्यांकमा नेपालमा यो अवधिमा कृषिजन्य वस्तुहरुको निर्यातमा २६ प्रतिशतको वृद्धि भइ  ११ अर्व ४४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।

पाँच महिनाको अवधिमा नेपालबाट १ अर्ब ९३ करोडको चिया निर्यात भएको छ। यस्तै १ अर्ब ८६ करोड ९८ लाखको जुस, १ अर्ब २३ करोड ६७ लाखको अलैंची, ६५ करोडको दाल, ६४ करोडको जडिबुटी, २७ करोडको अदुवा र १२ करोड ५० लाखको मासु तथा मासुजन्य पदार्थ निर्यात भएको छ।

ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, यार्न जस्ता वस्तुहरुमा उल्लेख्य वृद्धि भएकोले मुलुकको समग्र निर्यातमा सुधार देखिएको केन्द्रले जनाएको छ।

भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके र टर्कीमा चिया, जुस, फलाम तथा फलामका उत्पादन, कपडा, जुटका उत्पादनहरु, अलैंची, तयारी पोशाक, फेल्ट, छुर्पी, टोपी र ग्लासवेयर, पश्मिनालगायतका वस्तु निर्यात भएको छ।

नेपाल कृषि प्रधान देश हुँदा हुँदै पनि कृषिजन्य वस्तुहरुको आयातमा भने वृद्धि भएको छ। यो अवधिमा १५ प्रतिशतले कृषिवस्तुको आयातमा वृद्धि भएको छ। पाँच महिनामा ८९ अर्ब ४० करोड ९६ लाख रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ।

चामल १३ अर्ब, तरकारी ६ अर्ब ९८ करोड ८० लाख, मकै पाँच अर्ब १९ करोड, दाल चार अर्ब ९९ करोड, फलफूल पाँच अर्ब ७१ करोड, गहुँ दुई अर्ब ३९ करोड ७१ लाख, पाँच अर्ब ३८ करोडको सोयाविन तेल र चार अर्ब ३९ करोड ३८ लाख रुपैयाँको पिना आयात भएको तथ्यांक छ।

Facebook Comments