चितवनबाट नियन्त्रणमा लिइएको बाघ सदर चिडियाखानामा

काठमाडौं–चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत भरतपुर महानगरपालिका–२५ बयरघारीबाट नियन्त्रणमा लिइएको एउटा बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ।

उक्त पोथी बाघले घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि दुई दिनको प्रयासमा नियन्त्रणमा लिइएकोमा बुधबार सदर चिडियाखानामा ल्याइएको हो।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार उक्त बाघ केही दिनदेखि निजी वनको बकाइनाको जंगलमा बस्दै आएको थियो।

अन्दाजी दुई वर्ष ६ महीनाको उक्त बाघ माउबाट छुटेपछि क्षेत्र विस्तार गर्ने क्रममा त्यहाँ पुगेको अनुमान गरिएको छ।

अन्यत्र लगेर छाड्दा समेत समस्या हुनसक्ने देखिएपछि चिडियाखाना लगिएको घिमिरेले बताए। डार्ट गरेर बेहोस बनाई बाघलाई नियन्त्रणमा लिइएको थियो। चिडियाखानाका आयोजना व्यवस्थापक डा. चिरञ्जीवि पोखरेलका अनुसार याेसँगै सदर चिडियाखानामा बाघकाे संख्या चार पुगेकाे छ।

Facebook Comments