जगदीशपुर तालमा आगन्तुक चरा मारिए, नगरपालिकाले निगरानी बढायो

    काठमाडौं–विश्व सिमसार सूचीमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा पछिल्लो समय २७ वटा आगन्तुक चरा मारिएकाे अवस्थामा फेला परेका छन्।

    गत आइतबार २४ वटा र बुधबार ३ वटा आगुन्तक चरा मरेको अवस्थामा भेटिएपछि कपिलवस्तु नगरपालिकाले चासो देखाएको छ।

    नगरपालिकाको वडा नम्बर ९ र १० मा पर्ने सो तालमा केही दिनयता ती चरा मरेर तैरिरहेको अवस्थामा भेटिएपछि निगरानी बढाइएको मेयर किरण सिंहले जानकारी दिए।  चराहरु भटाभट मरेको भेटिन थालेपछि चोरी शिकार बढेको अनुमान गरिएको बताउँदै मेयर सिंहले भने, ‘चोरीशिकार कसरी नियन्त्रण गर्न सकिन्छ भनेर नगरपालिकाको बोर्डमा छलफल भइरहेको छ।

    जगदीशपुर ताल क्षेत्र पर्ने वडा नम्बर ९ का अध्यक्ष शिवबहादुर बाग्ले पछिल्लो समय अणगन्तुक चरा मारेर बेच्नजे गिरोह नै रहेको बताउँछन्। ‘ अहिले तालको पानी सुकेको छ। कुनै गिरोहले विष हालेर चरा मारेको हुनसक्छ,’ उनले भने, ‘मारेर लैजान नसकेका चराहरु तालमै तैरिएको अवस्थामा फेला परेको हुनसक्छन्।’

    ‘पानी सुकेको तालमा बालबालिकालाई लोभलालच देखाएर त्यहाँ विष हाल्न लगाएको पाइएको’ बताउँदै उनले भने। वडा अध्यक्ष वाग्लेले चराको चोरी निकासी बढ्न थालेको विषयमा त्यहाँका स्थानीयसँगै जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, डिभिजन वन कार्यालयको ध्यानाकर्षण गराउँदै रोक्ने पहल गरेको बताए।

    आगन्तुक चराको चोरी निकासी बढ्न थालेको विषयमा वडा नम्बर ९ र १० को शुक्रबार संयुक्त बैठक बस्न लागेको वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्माले बताए।  गिरोह नियन्त्रण गर्न र चराको संरक्षण गर्न त्यहाँ अस्थायी प्रहरी चौकीको माग वडा अध्यक्ष वाग्लेले गरेका छन्।

    १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको सो तालमा १ सय १८ प्रजातिका चरा, ८ प्रजातिका उभयचर र तीन प्रजातिका सरीसृप पाइन्छन्।

    कृत्रिम रुपमा बनाइएको जगदिशपुर तालमा जाडोको मौसममा विभिन्न देशबाट चराहरु आउने गरेका छन्। जाडोका ४–५ महिना चराहरु जगदिशपुर तालमा आएर फुल पारी बच्चा कोरल्दै हुर्काएर स्वदेश फर्कने गरेका छन्।

    जैबिक विविधताले निकै महत्वपूर्ण भएकै कारण यस जगदीशपुर ताल रामसार सन्धिअन्तर्गत सन् २००३ मा अन्तर्राष्ट्रिय सिमसार क्षेत्रमा सूचीकृत भएको हो।

    Facebook Comments